३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

गोकर्णेश्वर मन्दिर क्षेत्रमा फोहोर उठाउन ढिलाइ

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको पितृ सम्मान दिवसको मेलाका कारण जम्मा भएको फोहोर उठाउन ढिलाइ गरिएको छ।

बाबुको मुख हेर्ने औँसीका रुपमा चिनिने भाद्र कृष्ण औँसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आई पिताप्रति सम्मान प्रकट गर्ने गर्छन्। सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो। उक्त भीडसँगै थुप्रिएको फोहोर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ।

आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए। पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहोरले दर्शन गर्नै कठिन भएको गुनासो गरे।

मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहोर गर्नेलाई  सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए। बागमती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहोर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ। 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरेपनि पूरै फोहोर भने उठाएन। अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताए। बागमती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उनले दिए।

लाखौँ भक्तजनका कारण थुप्रिएको मेलाको फोहाेर व्यवस्थापनमा समय लागेको समितिले जनाएको छ। आगामी वर्षदेखि भक्तजनले आफूले गरेको फोहाेर आफैँले व्यवस्थापन गर्ने तयारी गरेका समितिले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०८१ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App