३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

एक बाजुरेली बिरामीको व्यथा:सुर्खेत आइपुग्नै ६ दिन, यातायात खर्च ६५ हजार

कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि कति सास्ती भोग्नुपर्छ भन्ने उदाहरण हुन्–बाजुराको स्वामीकार्तिक गाउँपालिका–४ का ८५ वर्षीय हरिकृष्ण कैला।

भदौ ७ गते घरमै कैलालाई पखाला लाग्यो। सुरुमा उनको परिवारले घरेलु उपचार गर्‍यो। पखाला रोकिएन। दुई दिनको घरेलु उपचारले सन्चो नभएपछि छोरा अजवीरले ९ गते बिहान बुवालाई दुई घण्टासम्म बोकेर मोटर गुड्ने सडकमा पुर्‍याए र त्यहाँबाट गाडी रिजर्भ गरी कोल्टी लगे।

‘बुवालाई घरेलु उपचारले सन्चो नभएपछि नेपालगन्ज लैजान कोल्टी विमानस्थल पुर्‍याएँ,’ अजवीरले भने, ‘दुई दिन कुर्दा पनि जहाज आइपुगेन।’

हवाईमार्गबाट ठुला सहरका अस्पतालमा पुर्‍याउन सम्भव नभएपछि उनले एम्बुलेन्स रिजर्भ गरेर बुवालाई सुर्खेत लग्ने निर्णय गरे। कर्णाली करिडोर बाजुरा हुँदै हुम्ला पुगेको छ। त्यही करिडोरमार्फत उनले बुवालाई सुर्खेत ल्याउँदै थिए। वर्षायाममा स्थलमार्गबाट सुर्खेतसम्म आउन सहज छैन। ११ गते २० हजार रूपैयाँमा एम्बुलेन्स रिजर्भ गरेर बाजुराबाट उनले बुवालाई सुर्खेततर्फ हिँडाए। कालिकोटको फुगाड खोला तर्न नसकेर एम्बुलेन्स रातभर रोकियो। ‘पखाला निरन्तर चलिरहेको थियो, बुवाले खाना खानुभएको थिएन्,’ उनले भने, ‘राति–राति यात्रा गरेर भए पनि बुवालाई अस्पताल पुर्‍याउँछु भनेर एम्बुलेन्समा ल्याएको थिएँ, फुगाड खोलामा पानीको बहाव बढेकाले रोकिनुपर्‍यो ।’

भोलिपल्ट बिहान पानी कम भएपछि फुगाड तरेका उनीहरू फेरि कर्णाली राजमार्गमा रोकिए । पहिरोले कालीकोटको तिजेगडादेखि दैलेखको खिड्कीज्युलासम्म विभिन्न ठाउँमा सडक अवरुद्ध गरेको थियो। कालीकोटलाई जोड्ने दहीखोलाको पक्की पुलसमेत बाढीले बगाएको थियो।

कैलालाई जहाजले मात्रै नभएर सडकले पनि धोका दिइरहेको थियो। ‘सास हुँदासम्म आस हुँदोरहेछ,’ उनले भने, ‘पहिरोले अवरुद्ध सडकमा मानिसबाट बोकाएरै पार लगाउने निर्णय गरें।’ जितेगडादेखि खिड्कीज्युलासम्म कुनै ठाउँमा आफैँ र कुनै ठाउँमा भरियालाई बोकाएर ल्याएँ। ‘जितेगडाबाट खिड्कीज्युला आउन ६ घण्टा लाग्यो,’ उनले भने, ‘त्यहाँबाट फेरि गाडी रिजर्भ गरेर बुवालाई सुर्खेत ल्याइपुर्‍याएँ।’

बिरामी बुवालाई बाजुरा घरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याउन अजवीरलाई ६ दिन लाग्यो।

‘हामी हिमाल र पहाडमा बस्ने मानिसलाई स्वास्थ्य उपचार पाउनै मुस्किल रहेछ,’ शनिबार प्रदेश अस्पताल सुर्खेतमा भेटिएका अजवीरले भने, ‘अझ उपचारभन्दा महँगो यातायात हुँदोरहेछ।’ अजवीरले बुवालाई घरदेखि सुर्खेतसम्म ल्याउन झन्डै ६५ हजार रूपैयाँ खर्च भएको बताए। ‘घरदेखि कोल्टी, कोल्टीदेखि सुर्खेतसम्म आइपुग्नै ६ दिन लाग्यो,’ उनले भने, ‘यो अवधिमा एक पटक एम्बुलेन्स र एक पटक बोलेरो रिजर्भ गरेर गरें, मानिसले बोकेको ज्याला दिएँ,’ उनले भने, ‘सबै गरेर बाटोमै ६५ हजार रूपैयाँ खर्च भयो।’ अहिले कैलाको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। अस्पतालले शनिबार नै उनलाई डिस्चार्ज गर्‍यो। बुवालाई अस्पताल ल्याउँदासम्म ६५ हजार रूपैयाँ खर्च भएको तर उपचारमा जम्मा तीन हजार रूपैयाँ लागेको उनले बताए।

डाक्टरले कैलालाई एक सातापछि फेरि आउन भनेका छन्। उनीहरूलाई गास र बास दिने सुर्खेतमा आफन्त छैनन्। डिस्चार्जलगत्तै अजवीरले बुवालाई लिएर कैलाली जाने बताए। ‘ऋण गरेर ल्याएको पैसा बाटोमै सकियो,’ उनले भने, ‘होटलमा बस्दा धेरै खर्च हुन्छ, त्यही भएर कैलालीमा आफन्तको घर छ, त्यहीं बस्न जान्छौं।’

प्रकाशित: १६ भाद्र २०८१ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App