३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पेट्रोलमा २ र डिजेल-मट्टितेलमा १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८१ २२:४९ शनिबार