२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

जब राउटे बालबालिकाले विद्यालय टेके

दैलेखको गुराँस गाउँपालिका–१ स्थित खड्काबाडाको शारदा आधारभूत विद्यालयमा शुक्रबार छुट्टै चहलपहल थियो। एकसरो कछाड लगाएका ३० जना राउटे बालबालिका विद्यालयमा पुगेका थिए। लेखपढ र खेतीपानी नगर्ने तथा एकै ठाउँमा नबस्ने राउटे समुदायका बालबालिका विद्यालयमा जानु नै ठुलो कुरा भयो।

विद्यालय प्रवेश गर्नेबित्तिकै उनीहरूलाई शिक्षकहरू र विद्यार्थीले स्वागत गरे। विद्यार्थीले आफूहरू पढ्ने कक्षा कोठामा लगेर राउटे बालबालिकालाई राखे। शिक्षकले पढाउन थाले। शिक्षकले पढाएको नबुझे पनि राउटे समुदायका बालबालिकाले शान्त भएर सुनिरहे।

फिरन्ते राउटे समुदाय अहिले गुराँस–१ को मैनीखोलामा बसिरहेको छ। मैनीखोला उक्त विद्यालयदेखि आधा घण्टाको दुरीमा पर्छ। राउटे समुदायसँग काम गरिरहेको सोसेक नेपालले ३० जना राउटे बालबालिकालाई पहिलो पटक विद्यालय पुर्‍याएको हो।

 ‘हाम्रो उद्देश्य राउटे समुदायका बालबालिका पनि अन्य समुदायका बालबालिकाजस्तै स्कुल जाउन र पढुन भन्ने हो,’ सोसेकका कार्यकारी निर्देशक हीरासिंह थापाले भने, ‘त्यहीं उद्देश्यअनुसार राउटे समुदायका अभिभावकसँग सल्लाह गरेरै उनीहरूका बालबालिकालाई विद्यालय भ्रमण गराएका हौं।’

राउटे बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सहज थिएन । राउटे समुदायका तीनजना मुखियासँग पटक–पटक छलफल गरेपछि मात्र उनीहरू बालबालिकालाई विद्यालय भ्रमणमा पठाउन राजी भएको जानकारी थापाले दिए।

मुखियाले दीपक शाहीको नेतृत्वमा ३० बालबालिकालाई स्कुल पठाउन स्वीकृति दिएका हुन्। स्कुलमा उनीहरूले बालविकास केन्द्रदेखि कक्षा ८ सम्म पढाइ हुने कोठा हेरे, अन्य समुदायका बालबालिकाले खेल्दै पढ्दै गरेको देखे। राउटे केही बालबालिकाले त बोर्डमा नेपालीमा आफ्नो नाम पनि लेखे।

विद्यालयमा राउटे र अन्य समुदायका बालबालिकाबीच पढाइबाट हुने फाइदाका विषयमा पनि कुराकानी भयो। विद्यालयमा गठन गरिएको बाल क्लबका अध्यक्ष रत्नबहादुर सुनारले राउटे समुदायका बालबालिकालाई स्कुल आउन आग्रह गरेको बताए।

‘छलफलका क्रममा राउटे बालबालिकाले आफूहरूका पुर्खाले पढेनन्, स्कुल आउँदा देउता रिसाउँछन भन्ने कुरा गरे,’ सुनारले भने, ‘हामीले देउता हामी पनि मान्छौं, हामी स्कुल आउँदा देउता रिसाउँँदैनन्, तपाईंहरू पनि आएर हामीसँगै पढ्नुहोस् भन्यौं।’

जवाफमा राउटे बालबालिकाले पढ्ने चाहना भए पनि मुखियाले नमान्ने सुनाए। ‘राम्रा लुगा लगाएर यहाँ (स्कुल) आएर पढ्न रहर छ,’ राउटे बालक खम्बागाडे शाहीले भने, ‘तर हाम्रो समुदायले पढ्न दिँदैन, मुखियाले मान्दैनन्।’

उनीहरूले माथिल्लो पुस्ता रहँदासम्म आफूहरूले पढ्न नपाउने पनि बताएका थिए।

राउटे समुदायका तीन मुखियामध्ये सूर्यनारायण शाही मात्रै बालबालिकालाई अक्षर चिन्न सिकाउनुपर्ने मत राख्छन्। अन्य दुई मुखिया र महिला उनको कुरामा सहमत छैनन्। ‘हाम्रा बच्चालाई गाडीको नम्बर चिन्न, रूपैयाँमा लेखिएको नम्बर चिन्न सक्ने बनाउनुपर्छ,’ सूर्यनारायणले भने, ‘मैले मात्रै भनेर हुँदैन, अरू मुखिया र आइमाई (महिला) यो कुरा रुचाउँदैनन्।’

विद्यालयका प्रधानाध्याक रुद्रबहादुर शाही राउटे बालबालिकामा पढ्ने चाहना रहेको आफूले पाएको बताए। ‘विद्यालय भ्रमण गर्दा उनीहरूले शिक्षकले पढाएको ध्यानपूर्वक सुने, केहीले ह्वाइट बोर्डमा आफ्नो नाम पनि लेखे’, उनले भने, ‘बालबालिकामा पढ्ने चाहना भए पनि समुदायले रोकेको देखियो।’

उनले राउटे मुखिया र समुदायलाई सम्झाउनेतर्फ सरोकारवाला लाग्नुपर्ने बताए। 

‘पढ्दाका फाइदाबारे उहाँहरूलाई जानकारी गराउनुपर्छ, पढ्दा देउता रिसाउँदैनन् भनेर पनि हामीले सम्झाउनुपर्छ’, उनले भने, ‘राउटे बालबालिकाको पढ्ने चाहना पूरा गर्न सरोकारवाला निकायले ध्यान दिन जरुरी देखिन्छ।’

सोसेकका कार्यकारी निर्देशक थापाले आफूहरूले खेलका माध्यमबाट राउटे बालबालिकालाई अक्षर चिनाउने प्रयास गरिरहेको बताए। ‘यो समुदायका माथिल्लो पुस्ताले बालबालिकालाई पढ्न दिँदैन। राउटे बालबालिका पढाउन उनीहरूसँगै जोडी शिक्षक खटाएका छौ’, उनले भने, ‘जोडी शिक्षकले उनीहरूलाई बस्तीदेखि केही समय टाढा लगेर अक्षर चिनाउने गरेका छन्।’

जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार राउटे बस्तीमा रहेका २२ बालबालिका आफ्नो नाम लेख्न सक्ने भएका छन्। ‘उनीहरूको बस्तीमा गएर पढाउन सम्भव छैन्, खेल खेलाउने निहुँमा बस्तीदेखि टाढा लगेर केही समय पढाउँछौं, आफू बस्ने कोठामा बोलाएर पनि अक्षर लेख्न र पढ्न सिकाउँछौं’, उनले भने।

प्रकाशित: ९ भाद्र २०८१ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App