आठ रात नौ दिन चल्ने गाईजात्राले भक्तपुरलाई छपक्कै छोपेको छ। दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो। सांस्कृतिक गाईजात्राको यही माहोेलमा रमाइरहेका केही जात्रालुले भने देशको ‘गाईजात्रा’बारे दुखेसो पोखे।
‘हाम्रो समाजमा चल्दै आएको संस्कारको गाईजात्रा त एक सातासम्म रमाइलो गर्दै सकिन्छ,’ भक्तपुरका नवीन प्रजापति भन्छन्, ‘मुलुकमा चलेको यो कुसंस्कार गाईजात्रा कहिले सकिने होला ? मुलुकका हरेक क्षेत्रमा बेथिति बढ्दै गएको र अनियमितता र भ्रष्टाचारले प्रश्रय पाएको बताउँदै नागरिक जीवनमा भने दुःख र अभावको पीडा थपिएको उनको बुझाइ छ । ‘यहाँ वर्षौंदेखि दुःख, पीडा, अभाव र अव्यवस्थापन गाईजात्रा चलिरहेको छ,’ उनले भने, ‘असुरक्षा, दण्डहीनता र अराजकताका कारण नागरिकले भयभीत भएर बाँच्नुपर्ने अवस्था आएको छ ।’
उनको कुरामा सहमत छन्, नरेन्द्र अवाल पनि । लौरो जुधाएर खेलिने घिन्ताघिसी नाच हेरिरहेका उनले सत्तामा बसेकाहरूले सिङ जुधाएर राजनीति गरिरहेको सुनाए । ‘संस्कृतिका कारण लौरोबाट निस्केको ट्वाक–ट्वाकको आवाज पनि मधुर लाग्छ,’ उनले भने, ‘तर सत्ताको खेलमा भएको टकराव निकै कर्कश लाग्छ।’ मुलुकमा चलिरहेको यही कर्कश जात्राका कारण दैनिक हजारौं युवा बाहिरिनुपरेको उनले बताए।
गाईजात्रा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइन्छ । जात्राको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। तर मुलुकका विकृतिहरूले कहिल्यै पार हुने हो भन्ने सर्वसाधारणको चिन्ता छ।
‘मुलुकको यो अराजक जात्राले कहिले वैतरणी पार गर्ने होला,’ विनेश ग्वाछा भन्छन्, ‘गाईजात्राको झाँकीमा हामी राजनीति गर्नेको अनुहार पनि देखिरहेका छौं । हामी मुलुकको विकृति अन्त्य भएको जात्रा हेर्न चाहन्छौं।’
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।
पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कु’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो। उतिबेला गाईजात्राको अवसरमा शासकलाई व्यंग्यसमेत गरिने गरेको सांस्कृतिक तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘शासक जतिसुकै कडा भए पनि मनमा लागेका कुरा भन्ने चलन थियो,’ ग्वगं भन्छन्, ‘शासकले पनि त्यसबाट आफूलाई सुधार्ने अवसर पाउँथे।’
उनले यसो भने पनि पछिल्लो समय शासक आलोचनाबाट रमाउने गरेको कतिपयको बुझाइ छ। ‘अहिले जोसुकैलाई सिधै आलोचना गर्न पाइन्छ,’ अनिश थापा भन्छन्, ‘तर उनीहरू सुध्रने लक्षण देखिन्न ।’ गालीदेखि लाज नमान्ने शासक झनै खतरनाक हुने उनको बुझाइ छ।
मंगलबार बिहानैबाट सुरु भएको यो जात्रा निकै आकर्षक देखिएको छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा र पोखरालगायतका नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । तर भक्तपुरको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालुप्रेमी आउने गर्छन्। जात्रामा रमाउँछन् र फर्कन्छन्।
‘जात्रा हेर्न थानकोटबाट आएको हुँ,’ भक्तपुरमा भेटिएका प्रदीप काफ्ले भन्छन्, ‘जात्रा निकै रमाइलो लाग्यो ।’ सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन्। गाईजात्राको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताए। उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमंग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
‘समाजका विकृति र विसंगतिको उजागर भएको धेरै भयो तर यसको निराकरण हुन सकेको छैन,’ काफ्ले थप्छन्, ‘हामी विकृति र विसंगति दण्डित भएको हेर्न चाहन्छौं ।’ भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ। प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्छ। जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तागिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ। नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइराख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्दै आएको हो। यो क्रमलाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ।
तर मुलुकको चलिरहेको जात्रालाई दण्डित गर्न जरुरी रहेको कतिपय बताउँछन्। गाईजात्राका लागि गथामुँग (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। ‘यो विंसगतिको गाईजात्रा गर्नेलाई जनताले निर्णायक बनेर दण्डित गर्नु जरुरी छ।’ नवीन प्रजापति थप्छन्, ‘अराजकताको घण्टाकर्णको अन्त्यसँगै समग्रमा गाईजात्राले सार्थकता पाउनेछ।’
प्रकाशित: ५ भाद्र २०८१ ०७:०१ बुधबार