७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’

यहीँ साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो। यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुपर्‍यो। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो।

यस वर्षपनि गत असारयता डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। ७३ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका जिल्ला पनि यसबाट अछुतो छैनन्। तनहुँ, कास्कीलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गत आइतबारसम्म गण्डकीका दस जिल्लामा गरि १३ सय जनाभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ।

मुस्ताङ बाहेक प्रदेशका सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले जानकारी दिए। उक्त अवधिसम्ममा सबैभन्दा बढी तनहुँमा पाँच सय ५२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो। तनहुँपछि कास्की डेङ्गीबाट बढी प्रभावित देखिन्छ। गत बुधबार मात्र कास्कीमा ४० जना डेङ्गी सङ्क्रमित भेटिएका थिए।

गत आइतबारसम्मको तथ्याङ्कअनुसार गोरखामा एक सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लमजुङमा ५५, म्याग्दीमा ४१, स्याङ्जामा ३६, नवलपुरमा ११ र मनाङमा मात्र एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ। गत जुलाई महिनामा छ सय ४३ जना सङ्क्रमित भेटिएकामा अगष्टको दोस्रो साता नबित्दै पाँच सयभन्दा बढीमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

गत जनवरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएकामा त्यसयता घट्दै आएर जुन महिनामा ८७ बाट पुनः सङ्क्रमितको संख्या थपिँदै आएको हो। पछिल्लो दुई महिनामा डेङ्गी सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए।

उनका अनुसार असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ। समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रुप लिन सक्ने प्रमुख नेपालीले बताए। ‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेङ्गी भइसकेपछि अचाक्ली पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।’

उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गी तीव्र रुपमा फैलिएको बताए। डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ। यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीको भनाइ छ। चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनले बताए।  

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताए। डेङ्गी सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ। डेङ्गी भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले सुनाए।

गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ। ‘अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’, उनले भने। डेङ्गीबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ। डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले सुनाए।

उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए। ‘डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ’, उनले भने। डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए।

डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको उनको भनाइ छ। स्वास्थ्य शाखाले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ। महानगरसहित यहाँका स्थानीय तहले डेङ्गीको सङ्क्रमण रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु गरेका छन्। -रासस

प्रकाशित: ३० श्रावण २०८१ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App