४ जेष्ठ २०८२ आइतबार
image/svg+xml
समाज

खोलाले बगाउँदा लुम्बिनीमा एकको मृत्यु, दुई बेपत्ता

बाँकेको नरैनापुर–६ दोन्द्रा खोला तर्ने क्रममा जंघारमा फसेकालाई उद्दार गर्दै प्रहरी।

बुधबार परेको वर्षाका कारण लुम्बिनीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। आफन्तको घरबाट फर्किँदै गर्दा दाङ तुलसीपुर–२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको खोलाले बगाएर मृत्यु भएको हो।

उनलाई सोही ठाउँको तिलाघाट खोलाले बगाएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

त्यस्तै खोलामा दाउरा संकलनका लागि गएका बाँके र बर्दियामा एक/एकजना बेपत्ता भएका छन्। बाँकेको कोहलपुरस्थित क्रिकेट मैदान नजिकै डुडुवा खोलाले बगाउँदा ६५ वर्षीया हरिबहादुर रोका बेपत्ता भएका छन्।

मानखोलाले बगाउँदा बर्दियाको बासँगढी नगरपालिका–३ की ३५ वर्षीया पार्वती थारु बेपत्ता भएका छिन्। पार्वती उनका श्रीमान् जागु थारुसँग खोलामा दाउरा संकलनका लागि गएकी थिइन्।

‘दाउरा संकलन गर्दै गर्दा पार्वती र जागुलाई खोलाले बगाएको थियो,’ प्रवक्ता श्रेष्ठले भने, ‘जागुलाई प्रहरीले जीवितै उद्धार गरेको छ।’

उनका अनुसार जागुको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। दाउरा संकलन गर्दा बेपत्ता भएका दुवै जनाको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

बुधबार लुम्बिनीमा भारी वर्षा भएको छ। वर्षाले तराईका जिल्ला सामान्य ढुवानमा परेका थिए। पहाडी जिल्लामा केही स्थानमा पहिरो झरे पनि ठूलो धनजनको क्षति नभएको जिल्ला प्रहरी कार्यालयहरुले जनाएका छन्।

यसैगरी बाँकेको नरैनापुर–६ दोन्द्रा खोलाको जंघारमा फसेकालाई प्रहरीले उद्धार गरेको छ। उक्त खोला तर्ने क्रममा राप्तीसोनारी–७ का ५० वर्षीय कुलबहादुर थारु जंघारमा फसेका थिए।

नरैनापुर–६ दोन्द्राका ४८ वर्षीय सहजराम मौर्य र सोही ठाउँका २८ वर्षीय परशुराम यादवलाई  पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए। उनका अनुसार मौर्य र यादव खोला हेर्ने क्रममा उक्त खोलामा खसेका थिए।

प्रकाशित: १६ श्रावण २०८१ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App