४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हेर्दाहेर्दै महाकालीमा हेलिइन् बालिका

दार्चुला सदरमुकाम खलंगा छेउमै उर्लिरहेको महाकाली नदीमा शनिबार साँझ एक बालिका हेलिएकी छन्। दिदी, स्थानीय र प्रहरीकै अगाडि १५ वर्षीया धनिशा कुँवर महाकाली नदीमा हेलिएकी हुन्। तीनै पक्षले हेर्दाहेर्दै उनी महाकालीमा हेलिइन्। महाकाली नदीको कटान रोक्न बनाइएको पक्की पर्खालमाथिको खम्बा समातेर ती बालिका नदीतिर हेरेर उभिएकी थिइन्।

 ती बालिका नदीमा हाम फाल्न लागेको खबर पाएपछि स्थानीयको भिड लागेको थियो। खबर पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि त्यहाँ पुगेका थिए। ती बालिकाकी दिदी र स्थानीयले उनलाई नदीमा हाम नफाल्न भनिरहेका थिए।

यसैबीचमा प्रहरी पनि त्यहाँ पुगे। समाउन नजिकै पुगेका सशस्त्र प्रहरीलाई देख्नेबित्तिकै ती बालिका नदीमा हेलिएको स्थानीयले बताए। सशस्त्र प्रहरी कर्मचारीले पाखुरा समात्न खोज्दाखोज्दै बालिका नदीमा हाम फालेकी हुन्। उनी महाकाली नगरपालिका–४ रिङ्नेतालबाट नदीमा हेलिएकी हुन्।

प्रहरीले बालिकालाई बचाउन उपयुक्त उपाय अपनाउन चुकेको भन्दै आलोचना भइरहेको छ। स्थानीयका अनुसार करिब एक घण्टाजति ती बालिका नदीतिर हेरेर उभिएकी थिइन्। ‘प्रहरी र स्थानीय रमिते मात्र भए, बालिकालाई बचाउन गर्नुपर्ने तयारीबाट चुके,’ स्थानीय एक युवकले भने, ‘प्रहरी तयारी बिना बालिकालाई समात्न गए जस्तो देखियो, प्रहरी देखेर बालिका झन् हत्तारिएर हाम फालिन्।’ सशस्त्र प्रहरी जवानले बालिकालाई हेलिन नदिन राम्रो प्रयास गरे पनि तरिका र तयारी नमिलेको ती युवकले बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले दिउँसो पनि नदीछेउमा गएकी बालिकालाई दिदीले फकाएर घर लगेको र पछि फेरि त्यहीं पुगेको बताए । बालिका दोस्रोपटक त्यहाँ गएर नदी कटान रोक्न बनाइएको पक्की पर्खालमाथि चढेर उभिएपछि स्थानीयको भिड जम्मा भएको र प्रहरी पनि पुगेको प्रजिअ जोशीले बताए । प्रत्यक्षदर्शीका अनुसार बालिकाले स्थानीयसँग कुरा पनि गरिरहेकी थिइन्।

‘स्थानीयसँग कुरा गरिरहेका बेला एक छेउबाट प्रहरी गएर बचाउने प्रयास गरेका थिए,’ प्रजिअ जोशीले भने, ‘प्रहरीले समात्न खोज्दाखोज्दै बालिकाले नदीमा हाम फालेपछि दुवैतिर पक्की पर्खाल भएकाले तुरुन्तै नदीमा पसेर उद्धार गर्न सक्ने अवस्था थिएन।’

प्रहरीले हात समातिहाले पनि बालिकाले जसरी हाम फालिन्, त्यो हेर्दा प्रहरी समेत नदीमा खस्ने खतरा देखिएको जोशीले बताए। दिदी निर्मला कुँवरले गत मंगलबार घरमा ज्योतिषी बोलाएर बहिनीलाई झारफुक गरेर जन्त्रमन्त्र लगाइदिएको बताइन्।

बहिनीलाई त्रास लागेको भनेर ज्योतिषले भनेको उनले बताइन्। ‘बहिनी बुधबारदेखि घर आएकी थिइनन्। मामा–माइजू वा साथीको घरमा गइन् होला भन्ने लाग्यो। शनिबार दिउँसो ४ बजे बहिनी नदीको डिलमा उभिएको छ भनेर खबर पाएँ,’ निर्मलाले भनिन्।

ती बालिका बुधबारदेखि शनिबारसम्म कहाँ थिइन् भन्ने नखुलेको प्रहरीले बताएको छ। उनी महाकाली नगरपालिका–४ खलंगामा दिदी निर्मलाको घरमा बस्दै आएकी थिइन्।

दुहु गाउँपालिका–४ थारा घर भएकी धनिशा खलंगामा दिदी निर्मलाको घरमा बसेर महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। गत भदौ १८ गते विद्यालय बिदा भएपछि उनी घरतर्फ हिँडिन् । सदरमुकामबाट उनको घर जान चार–पाँच घण्टा लाग्थ्यो।

महाकाली नगरपालिका–१ घर भएका २२ वर्षीय उमेश कुँवरले घर जानेबेला बाटोमा उनलाई ललाइफकाई र जबर्जस्ती गरी विवाह गर्ने आश्वासनमा आफ्नो घर लगे। घर लगेपछि उमेशले धनिशालाई यातना दिएको दिदी निर्मलाले बताइन्।

‘घर जान हिँडेकी बहिनीलाई बाटोमा अनेक प्रलोभन, डरधम्की देखाएर उमेशले आफ्नो घर लगेछ। दोस्रो दिन खोज्दै हामी उसको घर पुग्यौं, बिहे गर्न घरमा ल्याएको हुँ भनेकाले हामी फर्केर आयौं,’ निर्मलाले भनिन्। उमेशले पटकपटक यातना र दुव्र्यवहार गर्न थालेपछि बहिनी धनिशाले गत माघमा उद्धार गर्न मोबाइलमा भ्वाइस मेसेज पठाएको निर्मलाले बताइन्। त्यसपछि प्रहरीमा उजुरी गरी प्रहरीसहित गएर बहिनी धनिशालाई उद्धार गरी ल्याएको निर्मलाले बताइन्। उनका अनुसार उद्धार गर्न गएका दुई प्रहरीलाई चक्कु हानेर उमेश फरार भएका थिए।

उद्धार गर्दा धनिशाको शरीरमा चोट थिए। ‘पछि उपचार गर्दा घाउँमा टाँकासम्म लगाउनुपरेको थियो,’ निर्मलाले भनिन्। उद्धारपछि माघ १३ गते धनिशाले उमेशले आफूलाई बाटोबाट घर लगेर बन्धक बनाई पटकपटक बलात्कार गरेको दाबीसहित उजुरी दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

प्रहरीलाई चक्कु हानेर फरार उमेश फागुन २१ गते पक्राउ परेका थिए । उनी फेरि फागुन २८ गते हिरासतबाटै फरार भएका थिए। उमेशलाई समात्न जानेक्रममा चिप्लेर महाकाली नदीमा खसेका प्रहरी जवान सोहन चौधरीको ज्यान गएको थियो। उमेशलाई प्रहरीले फेरि भारतबाट पक्राउ गरेर ल्यायो।

चैत १३ गते जिल्ला अदालतले उमेशलाई पुर्पक्ष थुनामा पठाउन आदेश दियो। उनी अहिले थुनामा छन्। कलिलो उमेरमै बलात्कृत धनिशा मानसिक रूपमा तनावमा थिइन्। धनिशा महाकाली नदीमा हेलिनुको कारण यही हो वा अन्य भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।

प्रकाशित: १४ श्रावण २०८१ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App