२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा १ सय ५६ जनाले त्यागे नागरिकता

चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । परिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्न थालेपछि यहाँका नागरिकले नागरिकता परित्याग गर्न थालेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, एक वर्षको अवधिमा एक सय ५६ जनाले नागरिकता परित्याग गरेका छन् । आर्थिक वर्ष २०८०/०८१मा यहाँबाट १२ हजार ९ जनाले नेपाली नागरिकता लिँदा १ सय ५६ जनाले त्यागको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

‘चितवनमा बढी स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरूको संख्या बढिरहेको छ,’ उनले भने ‘बाहिरी मुलुक बस्ने भएपछि यहाँको नागरिकता त्याग्ने क्रम छ ।’ 

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको हो । गैर आवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको प्रशासनको भनाई छ । अहिलेसम्म चितवन जिल्लामा एक सय ३१ जनाले गैर आवासीय नागरिकता लिएका छन् । नेपाली नागरिकता त्याग गरेपछि विदेशको नागरिकता लिन पाउने व्यवस्थाका कारण पनि नेपाली नागरिकता त्यागको प्रजिअ यादवले जानकारी दिए । 

लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ । नागरिकता त्याग्नेमा महिला पुरुष बराबर जस्तै छन् । 

चितवनमा नागरिकता लिनेको सङ्ख्याभन्दा राहदानी बनाउनेको संख्या बढी छ । जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष १२ हजार ९ जनाले नागरिकता बनाउँदा ३३ हजार २९३ जनाले राहदानी लिएका छन् । नागरिकता लिने र राहदानी लिनेको अन्तर २१ हजार २८४ छ । जिल्लाबाट बशजको आधारमा ११ हजार ९६८, वैवाहिक अङ्गीकृत ४१ जनाले लिएका छन् । यस्तै प्रतिलिपि नागरिकता लिनेको संख्या १३ हजार ७९० रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । 

प्रकाशित: ९ श्रावण २०८१ १९:०३ बुधबार

#Foreign employment #Non-Resident Nepali Citizenship #Renunciation of Nepalese citizenship #District Administration Office Chitwan #Nepalese citizenship #DV-PR