१२ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

लमजुङमा २.५ करोड लागतमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण

लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ।

कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदेवको मूर्ति निर्माण गरेको हो।

समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान् गणेश, विष्णु, शिवको वाहन साँडे (बसाह) को मूर्तिसमेत निर्माण गरिएको जानकारी दिए।

काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनले सुनाए। त्यसका लागि दुई करोड ५० लाख खर्च भएको उनले जानकारी दिए। मूर्तिमा रङरोगन सम्पन्न भएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ।

धाराका लागि पर्खाल निर्माण सम्पन्न भइसकेको छ। राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ। हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ।

समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको हो। धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ। बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ।

त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख बढी चन्दा सङ्कलन भएको छ। यहाँ मर्स्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन्।

डुम्रे–बेसीशहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ।

यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ। महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिङ्ग निर्माणले धार्मिक रुपमा मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

प्रकाशित: १ श्रावण २०८१ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App