१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

काठमाडौँ महानगरपालिले श्रम बैंकमार्फत् निजी तथा सरकारी क्षेत्र तर्फ ९१२ जनालाई रोजगारी प्रदान गरेको छ।

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

महानगरको रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाउँदै महानगरले ९१२ जनालाई रोजगारी दिएको हो।

महानगरका मेयर बालेन शाहले यसको सुरूवात आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत भएको बताए।

उनले सीप मेलामा २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेको जानकारी दिए। यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको उनले बताए।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू रोजगार÷स्वरोजगार भएको उनले बताए।

मेयर शाहले महानगरको सानो प्रयासले १ आर्थिक वर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार÷स्वरोजगार भएको भन्दै यो लक्ष्यभन्दा धेरै सानो सङ्ख्या रहेको बताए।

उनले आर्थिक वर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धी हासिल हुनेगरी बजेट तथा कार्यक्रमहरू तयार गरेको बताए।

सिप मेलामा फर्म भरेका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने भन्दै उनले समय र स्थान एसएमएस मार्फत जानकारी गराउने पनि बताए।

उनले भने, ‘तपाईहरूको व्यवसाय, सङ्घ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिङ्क मार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ। एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा तपाईंहरूकै सिलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ।’

प्रकाशित: १ श्रावण २०८१ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App