२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा बाढीबाट व्यापक क्षति

सिन्धुपाल्चोकका विभिन्न नरेखोल्सीमा आएको बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ।

एक मोटरेबेल (बेलिब्रिज) र एक झोलुंगे पुल बगाएको छ भने एउटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। पुल बगाउनुका साथै बाढीले कटान गर्दा दुई मुख्य सडक अवरुद्ध भएका छन्। बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगाउनुका साथै बस्ती जोखिममा परेका छन्।

मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकका देशभरमै सबैभन्दा बढी वर्षा भएको थियो। यहाँको जन्दर्कु मापन केन्द्रमा देशभरमै सबैभन्दा बढी १२०.२ मिलिमिटर वर्षा मामन गरिएको महाशाखाले जनाएको छ।

सोमबार बिहानीपख बाह्रबिसे नगरपालिका– ३ स्थित खागदल खोलामा आएको बाढीले मोटरेबल पुल (बेलिब्रिज) बगाएको छ। यो पुल बग्दा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताए। उनका अनुसार बाढी बस्तीमा छिरेपछि जोखिममा रहेका चार परिवारका नौ सदस्यलाई सुरक्षित स्थलमा सारिएको छ। 

पश्चिमी सिन्धुपाल्चोकको यांग्री र आसपास क्षेत्रमा आइतबार राति भारी वर्षा हुँदा इन्द्रावती नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रको मेलम्चीसम्म धेरै भौतिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ। आयोजनाको ड्याममा बालुवा भरिएको छ भने पावरहाउस र सबस्टेसनमा क्षति पुर्‍याएको डिएसपी भट्टराईले जनाए। आयोजनामा क्षति पुग्दा साढे सात मेगावाट विद्युत् उत्पादन रोकिएको छ।

पाँचपोखरीकै चिण्डे र जतन जोड्ने झोलुंगे पुल बाढीले बगाएको छ। तल्लो तटीय क्षेत्रमा रोपाइँ गरिएका सयौं रोपनी धान खेत बाढीले बगाएको छ। यही करिडोरका केही पुल, बस्ती र स्वास्थ्य संस्था बाढीको जोखिममा परेका छन्।

तीन वर्षअघि मेलम्ची बाढीले बगाएपछि गत वर्ष मात्रै बनाइएको मेलम्ची बेलिब्रिज, मेलम्ची बसपार्क, खेल मैदान र निर्माणाधीन कभर्डहल पनि नदी कटानको जोखिममा परेको प्रहरीले जनाएको छ। बाढी र नदी कटानले सडक बगाउँदा पाँचपोखरी गाउँपालिका पुग्ने खाल्डे–तिपेनी खण्ड अवरुद्ध भएको छ। सवारी आवागमन रोकिएको छ। पैदल हिँडडुल गर्नै समस्या रहेको स्थानीय बताउँछन्।

प्रकाशित: १ श्रावण २०८१ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App