२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

वर्षाको वितण्डा: दाङमा दुई बेपत्ता, एकको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

शुक्रबार राती देखि परेको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ। भारी वर्षाका कारण जिल्लाको देउखुरी क्षेत्रका धेरै बस्ती डुबानमा परेका छन्।

बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बगेर बेपत्ता छन्। यसै गरी ठाउँ ठाउँमा सडक बिग्रँदा यातायात सेवा समेत प्रभावित बनेको छ।

जिल्लाको राप्ती नदीमा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। लमही-७ मा एक जना र सतवरियामा एक जनालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

राजपुर गाउँपालिका वडा नम्बर-२ का १९ वर्षीय राजकुमार यादवलाई शनिबार बिहान राप्ती नदीले बगाएको छ। उनी अहिले सम्म फेला परेका छैनन्।

उनी सहित तीनजना राप्ती पारीको राजपुरबाट दुध विक्रीका लागि लमही बजार आएका थिए। दुध विक्री गरेर घर फर्कने क्रममा नदी तर्न खोज्दा यादवलाई बाढीले बगाएको थियो।

यसै गरी उनीसँगै रहेका सोही ठाउँकै ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार गरिएको थियो। तुलाराम र दयाराम भने रुख चढेर जोगिएका थिए। उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो।

यसै गरी लमही नगरपालिकाकै सतवरियामा बाढीले बगाउँदा ६२ वर्षीय मनियम चौधरी बेपत्ता छन्। सतवरियाको बगरापुर टोलमा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण बस्तीमै आएको बाढीमा चौधरी फसेका हुन्। यसै गरी राजपुरमा ट्याक्टर बाढीमा फस्दा एक जनाको मृत्यु भएको छ। ट्याक्टरमा सवार राजपुर गाउँपालिका-५ सालभौँरीका छेदुराम चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय चंगुवा खोलापार गर्ने क्रममा ट्याक्टर बाढीमा फसेको थियो। बाढी पार गर्ने क्रममा ट्याक्टर खाल्डोमा फसेको थियो। ट्याक्टर खाल्डोमा परेर डुबेपछि चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक सहित ट्याक्टरमा सवार अर्का एक जनाको भने उद्धार गरिएको थियो।

बाटो जताततै बन्द

शुक्रबार राती देखिको भारी वर्षाले जिल्लाको सवारी आवागमन समेत प्रभावित बनेको छ।

तुलसीपुरबाट सल्यान तथा नेपालगन्जको सवारी आवागमन अवरुद्ध बन्यो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर देखि नेपालगन्ज जाने तुलसीपुर अमिलिया सडकमा बबईको बहाव बढ्दा सवारी आवागमन ठप्प बन्यो।

यो सडक खण्डको सितलपुर भन्ने स्थानमा रहेको बबई पुल समेत बाढीले नाघेपछि सवारी आवागमन ठप्प बन्न पुग्यो। यसै गरी तुलसीपुर देखि सल्यान जोड्ने सडकका विभिन्न भागमा पहिरो जाँदा यो सडकमा समेत यातायात सेवा अवरुद्ध छ।

यसै गरी घोराही तुलसीपुर सडकमा समेत यातायात सेवा प्रभावित बनेको छ। यो सडक खण्डको सेवार खोलामा बाढीले डाइभर्सन बगाउँदा घोराही तुलसीपुर यातायात सेवा ठप्प बन्न पुग्यो। अहिले डाइभर्सनको मर्मत कार्य सम्भव नभएको भन्दै वैकल्पिक मार्ग अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

यसै गरी घोराही देखि रोल्पा जोड्ने घोराही होलेरी सडक समेत अवरुद्ध बनेको छ। यो सडकको ठाउँ ठाउँमा पहिरो गएका कारण यातायात सेवा ठप्प बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षाका कारण देउखुरीका दर्जनौँ बस्तीहरु डुबानमा परेका छन्। घरमा पानी बस्दा स्थानीयहरुको बिचल्ली भएको छ। लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिकाका थुप्रै बस्ती जलमग्न भएको प्रहरीले जनाएको छ।

बाढीमा फसेका बस्तीका नागरिकहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।

प्रकाशित: २२ असार २०८१ २०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App