१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

महादेवसँग पानी माग्दै थारू महिला

जेठ सकेर असार लाग्दा समेत वर्षा नभएपछि कपिलवस्तुका किसानहरू चिन्तित बनेका छन्। नेपालका पूर्वी भेगमा मनसुन सुरु भए पनि पश्चिमतिर अझै वर्षा हुने छाँटकाँट देखिन्न। वर्षा नहुँदा किसानले धानको बिउसमेत राख्न पाएका छैनन्। यस्तो अवस्थामा यहाँका किसानहरूले वर्षाको कामना गर्दै तौलिहवास्थित ताम्रेश्वर महादेवको मन्दिरमा पूजापाठ गर्न थालेका छन्। धान रोप्ने समयमा बिउसमेत राख्न नपाएर आत्तिएका उनीहरू ‘हरहर महादेव पानी देऊ’ भन्दै शिवको शरणमा पुगेका हुन्। शिवलाई खुसी पारे वर्ष हुन्छ भन्ने विश्वास यहाँका किसानमा रहेको पाइन्छ।

मन्दिरमा दिनहुँजसो जिल्लाका विभिन्न स्थानबाट हजारभन्दा बढी भक्तजन पानीको पुकारका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार कसौधनले जानकारी दिए। ‘प्रायः सोमबारको दिन भिड लाग्ने मन्दिरमा अहिले भने वर्षाको कामना  गर्दै दैनिक हजारभन्दा बढी भक्तजन मन्दिर आइरहेका छन्,’ उनले भने।

जेठ बितिसक्दा पनि पानी नपरेपछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारू महिला मन्दिरमा आउने गरेका छन्। ट्याक्टर, बस, साइकलजस्ता सवारीसाधनमा चढेर कपासी, मोर्मी, कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, मार्मा, बक्डरिया, तिलौराकोट, निग्लिहवालगायत स्थानका महिलाहरू मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।

शिवको प्यारो महिना मानिने साउनमा मात्र भक्तजनको भिड लाग्ने गरे पनि पानी माग्न आउनेहरूका कारण अहिले नै मन्दिरमा भिडभाड देखिएको छ। थारू महिलाहरूले विशेषतः मन्दिरभित्र रहेको शिवलिंगमा गाईको दुध चढाएर पूजापाठ गर्ने गरेका छन्।

वर्षाको कामनाका लागि शनिबार गाउँका सयभन्दा बढी महिला मन्दिरमा पुगेको बुद्धभूमि नगरपालिका–१ कपासीकी सम्झना थारूले मन्दिरमा एक लिटर दुध चढाएर पूजापाठ गरेको बताइन्। ‘जेठ बित्दा पनि पानी परेन। बिउ राख्नसमेत पाएनौं। त्यसैले शिवको शरणमा पुगेका हौं,’ उनले भनिन्, ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नुहुन्छ, केही दिनमै वर्षा हुन्छ।’

गंगा नगरपालिका–३ गंगोलिया गाँउकी मुरिया थारूले आफूहरूको पुकार सुनेर ‘भगवान् शंकरले पानी पार्ने’ विश्वास व्यक्त गरिन्। पानी नपर्दा यसरी नै पुस्तौंदेखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक साताभित्रै शिवले वर्षा गराएर आफूहरूको कामना पूरा गर्ने बताइन्।

केही दिनयता आकाशमा कालो बदाल देखिएर पानी पर्लाजस्तो भए पनि वर्षा भने हुन सकेको छैन। जसले गर्दा मुठी छरेर मानो फलाउने आशा लिएर बसेका किसानहरू चिन्तित बनेका हुन्। जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

लामो सयमको खडेरीले नदीनाला, पोखरी, कुलो, नहरमा पानी सुकेकाले समेत कृषकहरू थप मर्कामा परेका छन्। गत वर्ष जेठ अन्तिमबाट यो क्षेत्रमा रोपाइँ सुरु भएको थियो तर यस वर्ष छिटफुटबाहेकका किसानहरूले बिउसमेत छर्न पाएका छैनन्। उता जिल्लाका विभिन्न स्थानमा रहेका शिवमन्दिरहरूमा पानीको माग गर्दै अखण्ड कीर्तनसमेत सुरु गरिएको छ। गाँउगाउँमा भक्तजन जम्मा भई पानीको माग गर्दै भजन–कीर्तन, पूजापाठ गर्ने गरेका छन्। यसो गर्दा पनि पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने चलनसमेत छ।

प्रकाशित: ३ असार २०८१ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App