१० असार २०८१ सोमबार
image/svg+xml
समाज

'सरकारले शंकास्पद तरिकाबाट लागु औषध राष्ट्रिय निती फेर्न खोज्दै छ'

फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन (एफडीडीआर) ले हालसालै गृह मन्त्रालयले लागुऔषध राष्ट्रिय निती, २०८१ मा  संशाेधन गर्न तयार गरेको मस्यौदाको बिरोध गरेको छ।

एफडीडीआरका केन्द्रिय अध्यक्ष प्रशान्त शर्माले आफ्नो सामाजिक सन्जालमा एक विज्ञप्ती जारी गर्दै कुनै संस्था र व्यक्तिगत फाईदाका लागि गृहले नितीमा संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका छन्।

‘नेपाल सरकार गृह मन्त्रालयले लागुऔषध राष्ट्रिय निती, २०८१ मा  संशोधन गर्न मस्यौदा बितरण गरेको  छ। जुन निती  लागु गराउन आर.एन को शंकास्पद भुमिका र पहलता देखिएको छ।’, अध्यक्ष शर्माले भनेका छन्।

लागुऔषध सम्बन्धि एउटा राष्ट्रिय निती हुँदाहुँदै हतारहतारमा अर्को निती ल्याउने प्रयास गर्नुको पछाडी नागरिक र रीह्याबहरुको भन्दा केही स्वार्थसमूहको चलखेल देखिएको उनको तर्क छ। ‘एक निती हुँदाहुँदै छिटोछिटो अर्को निती ल्याउनुको पछाडी नागरीक र रीह्याबहरुका हितका लागि भन्दा कर्मचारीहरुले विभाग बनाई आफ्नो संरचना ठूलो पार्ने र ग्लोबल फण्ड लगायतका बिदेशी दात्री निकाएहरुसँग करोडौँ डलर लिएर सिसिएम कार्यक्रम अन्तरगतको अर्बौँ रुपैँया भित्रै राखी आर।एनले कब्जा गर्ने शंकास्पद भूमिका देखिन्छ’, उनले भने।

नयाँ नितीको मस्यौदा अनुसार कार्वान्वयनमा गएमा लागुऔषध नियन्त्रणका लागि आउने बजेट दुरुपयोग गर्ने र लागुऔषध कारोवार गर्ने समूहहरुलाई फाईदा पुग्न सक्ने एफडीडीआरको चिन्ता छ।

‘प्रारम्भिक अध्यनमा यो निती जस्ताको त्यसतै पास गर्दा देशका रीह्याबहरु बन्द हुँदै जाने या स्तर हिन हुने छन्। यो निती पास गराइ एफडीडीआरले आफ्नै खुट्टामा बन्चरो हान्ने छैन्’, अध्यक्ष शर्माले लेखेका छन्।

विज्ञ तथा सम्बन्धित निकायसँग छलफल गरी सरकारले ल्याउन लागेको नयाँ नितीमा सुधार गर्न प्रयास गर्ने तर सरकारले जबर्जस्ती लागु गर्ने प्रयास गरे कानुनी उपचारमा एफडीडीआर जाने उनले बताएका छन्।

‘यो नितीमा सरकारले लागुऔषधमा परेकाहरुलाई न आफै पुर्नस्थापना केन्द्र खोल्ने कुरा गरेको छ। न एनजीवोज्द्वारा आफ्नै श्रोतमा चलाएका रीह्याबहरुलाई जग्गा, जमिन, कर्मचारी दिएर सहयोग गर्ने वा स्तर बृद्धि गर्ने बचनबद्धता गरेको छ’, उनले भनेका छन्, ‘यस नितीले बरु हामी जस्ता एनजीवोज् र प्राइभेट रीह्याबहरु समेत सरकारकै अधिनका संस्था हुन् भन्ने जस्तो गरी केबल नियन्त्रण गर्ने र सेबाग्राहीको मानबअधिकार समेत हनन् गर्ने प्रस्ताव गरेको छ। यो र यस्ता कुरा एफडीडीआरलाई मान्य हुने छैन्।’

एफडीडीआरले विगत लामो समयदेखि पुर्नस्थापना केन्द्रहरूमा आवद्ध भई एचआईभी, हेपाटाइटिस, लागुऔषध तथा मादक पदार्थ दुव्र्यसन न्यूनीकरण तथा रोकथाम सेवामा निरन्तर काम गर्दै आएको छ। 

प्रकाशित: २ असार २०८१ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App