४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माण पहल सुरु

नागरीगढीमा रहेको मन्दिर। तस्बिर : नागरिक

सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माणको पहल थालिएको छ। नेपाल एकीकरण गर्दाको पूर्वी विन्दु भारतको नागरीगढीदेखि सुगौली सन्धिमा कायम भएको सीमा हुँदै इलाम सदरमुकामसम्म पदमार्ग निर्माण अवधारणा अघि सारिएको हो।

नेपाल एकीकरण गर्दै जाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ। नेपाल एकीकरण गर्दै जाँदा नेपाली सेनाका तत्कालीन श्रीनाथ सिंह पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाडेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो।

यो निसान नागरीगढीबाट इलामकै करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै इलाम बजार ल्याइएको इतिहास छ। जुन बाटो भएर निसान ल्याइएको थियो, त्यही मार्गलाई पदमार्ग बनाएर इतिहास संरक्षण र पर्यटन प्रवद्र्धन प्रयास थालिएको हो।

नागरीगढी रहेको भारत दार्जिलिङसँग सीमा जोडिएको सूर्याेदय नगरपालिका, माइजोगमाई गाउँपालिका र सदरमुकाम रहेको इलाम नगरपालिकाले यो पदमार्ग निर्माण गर्न पहल गरिरहेका छन्।

प्रदेश र संघीय सरकारसमेतको सहयोग–समन्वयमा जिल्लाका १० वटै पालिकाले समेत यो पदमार्ग निर्माणमा सहकार्य गर्ने सूर्याेदय नगरका मेयर रणबहादुर राईले बताए। यसको प्राविधिक काम भने नेपाली सेनाले गर्ने सम्भावना छ।

पदमार्ग निर्माणको सम्भावना पहिल्याउन सूर्याेदय र इलाम नगरपालिकाका जनप्रतिनिधि, इतिहासकार, जानकार र सरोकारवालाको एक टोली भारतको नागरीगढी पुगेर फर्किएको छ।

 इलामको माइस्थानमा रहेको निसान।

‘इतिहासको स्पष्ट अध्ययन गरी पदमार्ग निर्माणको सम्भावना पहिल्याउन हामी नागरीगढी पुगेर फर्किएका छौं’, मेयर राईले भने, ‘आउँदो वर्षको बजेटमार्फत इलामका तीन पालिकाले केही न केही काम सुरुआत गर्नेछन्।’ त्यसपछि प्रदेश र संघीय सरकारसँग पनि यसमा सहयोग–समन्वयका लागि पहल गरिने उनले बताए।

माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले सुरुमा निसान ल्याइएको बाटो पहिचान गर्न आवश्यक रहेको बताए। ‘पदमार्ग निर्माण गर्ने विषयमा हामी लागेका छौं, त्यसका लागि सुरुमा निसान ल्याइएको बाटो यकिन गर्नुपर्ने भएको छ, थप अध्ययन हुन्छ’, उनले भने, ‘पहिचान भएपछि निर्माण प्रक्रिया सुरु हुन्छ।’

नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माईस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो। सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो, तर इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनःस्थापित गरिएको छ।

ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो। निसान पदमार्गले इलाममा मुख्य बसोबास रहेको आदिवासी लोपोन्मुख लेप्चा र लिम्बू जातिको पुरानो थातथलोको इतिहास झल्काउने, नेपालको पुराताŒिवक सम्पदाबारे नयाँ पिँढीलाई जानकारी दिने इतिहासकार युद्धप्रसाद वैद्य बताउँछन्।

नागरीगढी पुगेको इलामको टोली।

नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो। मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो। मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू-भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो।

इलामको यही इतिहासबारे सबैलाई जानकारी गराउन जरुरी रहेको उनी बताउँछन्। ‘यो विषय नेपालको इतिहासमा समेत लेखिएको छैन’, इतिहासकार वैद्य भन्छन्, ‘इलाम नेपालमा गाभिनु पृथ्वीनारायण शाहको राज्य एकीकरणको सुरुआत थियो।'

सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन्। पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा नामसालिङको हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलामको माइस्थान ल्याइएको थियो।’ निसान रहेको माइस्थान मन्दिर १८८० स्थापना भएको अनुमान छ।

प्रकाशित: १ असार २०८१ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App