५ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

लमजुङका घरबासमा पर्यटकसँगै आम्दानी घट्यो

लमजुङका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ।

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घले गाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो।

घरबाससम्म पुग्ने बाटो बिग्रिएको, दृश्यावलोकन स्पष्टता नहुने, यात्रा कठिन र जोखिमपूर्ण हुन थालेपछि पर्यटक आगमनमा कमी आएको हो। सञ्चालकहरु बर्खाको करिब तीन महिना घरबास पर्यटकविहीन जस्तै हुने बताउँछन्।

दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खा लाग्न थालेसँगै पर्यटक आगमन पातलिँदै गएको छ।

घलेगाउँ घरबास व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले बर्खासँगै पर्यटक पातलिएको बताए। केही समय अघिसम्म सामान्यतयाः दैनिक एक सयभन्दा बढी तथा शुक्रबार र शनिबार बिदामा दुई सय ५० जनासम्म पर्यटक आगमन भएपनि केही दिनयता दैनिक औसतमा पाँच/सात जना मात्र पर्यटक आगमन भइरहेको उनको भनाइ छ।

‘बर्खा लागेपछि पर्यटक घटेका छन्, असोज महिना लागेपछि मात्रै अब पर्यटक बढ्छन्’, उनले भने। पर्यटकीय मौसममा यहाँका घरबास सञ्चालकले मासिक ३० हजारदेखि ६० हजारसम्म कमाउने गरेको कार्यालय सचिव तथा घरबास सञ्चालक गुरुङले जानकारी दिए।

समुद्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको बेसीशहर नगरपालिका–३ काउलेपानी घरबासमा समेत पर्यटक आगमन घटेको छ।

एक हप्ताअघिसम्म ५०/६० जनादेखि एक सयभन्दा बढी पर्यटक आगमन भइरहे पनि यतिबेला मुस्किलले १०/१२ जना पर्यटक आगमन हुन थालेको ग्रामीण काउँलेपानी घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।

पर्यटक नआएपछि यहाँका घरबास सञ्चालक धान रोप्ने, कोदोको बीउ राख्ने, च्याउलगायत काममा व्यस्त हुनाले पर्यटक आउँदा गाउँमा सञ्चालित १५ घरले प्रतिघरबास ४०/५० हजार मासिक आम्दानी भइरहे पनि यतिबेला मुस्किलले ८/१० हजार मात्र मासिक आम्दानी हुने गरेको उनले सुनाए।

समुन्द्री सतहदेखि एक हजार आठ सय ५४ मिटरको उचाइमा रहेको मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङ घरबासमा पनि पर्यटक शून्य नै भइरहेको छ।

मुलुकमा कोरोनापश्चात् लयमा फर्किन नसकेको यस घरबासमा फागुन महिनासम्म केही पर्यटक आए पनि चैत यता एक जना पनि पर्यटक आगमन हुन नसकेको सिउरुङ घरबास सञ्चालक समितिका सदस्य तथा मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य परकाशी गुरुङले बताए।

लमजुङमा विसं २०५७ देखि घले गाउँ घरवास कार्यक्रम (होमस्टे) सुरु गरिएको थियो। यो जिल्लाकै पहिलो घरबास कार्यक्रम हो। समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छठाले भरिपूर्ण आदिवासी जनजातिमध्ये तमु (गुरुङ) को उद्गमस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो घले गाउँ। यहाँ ३२ दलित र ९३ गुरुङ परिवार गरी एक सय २५ घरधुरीका स्थानीय बसोबास गर्दछन्। यहाँ ४४ घरबास सञ्चालित छन्।

विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घले गाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँ घोषणा गरेको थियो।

यहाँबाट मनास्लु हिमाल, ङादीचुली (डा. हर्क हिमाल), अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौँथो), माछापुच्छ्रे हिमाल, हिमालचुली, लमजुङ हिमाल र बुद्ध हिमाल देख्न सकिन्छ।

यहाँ घले राजामध्येका अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको सालिक राखिएको छ। यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाएका अर्ग्यानिक परिकारहरु मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन्।

काउलेपानी घरबास सन् २०११ देखि सञ्चालन गरिएको थियो। त्यहाँबाट लमजुङ दरबार, विभिन्न हिमाललगायत रमणीयस्थल देख्न सकिन्छ। २६ घरधुरी रहेकामध्ये १५ घरमा घरबास सञ्चालन गरिएका छन्। यहाँ नेवार, गुरुङ, भुजेललगायत विभिन्न समुदायको बसोबास रहेको छ।

प्रकाशित: ३ असार २०८१ १९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App