२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

जाडोमा न्यानाे र गर्मीमा शीतल घर बनाउन प्रोत्साहित गर्दै ललितपुर महानगर

तपाईं घर बनाउने तयारी  गर्दै हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुस्, तपाईंको घर जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ। घर निर्माण गर्दा तपाईंले गर्नुहुने सामान्य सुझबुझले  घर स्वस्थकर हुन्छ।

जाडोमा तातो बनाउन र गर्मीमा चिसो बनाउन कुलर प्रयोग गर्नुपर्दैन। यसले गर्दा घरमा हुने खर्चसमेत कम हुन्छ। घर बनाउँदा प्रयोग हुने इँटा, झ्याल-ढोकाका आकार, झ्याल-ढोका राखिएको ठाउँलगायतका कुराले तपाईंको घर जाडोमा न्यानो र गर्मीमा शीतल हुने कुरा निर्धारण गर्छ।

नगरवासीलाई प्रोत्साहित गर्दै स्वस्थकर र मितव्ययी यस्ता घर निर्माणका लागि ललितपुर महानगरले काम थालेको छ। स्वस्थकर र मितव्ययी घरलाई उर्जा प्रभावकारी भवन भनिन्छ। महानगरले ‘बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन)’ सँग सहकार्य गरेर उर्जा प्रभावकारी भवन बनाउने काम थालेको हो।

विनसँग सहकार्य गर्न आयोजना गरिएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले उर्जा प्रभावकारी भवन निर्माण गर्नेलाई महानगरले कर छुट दिने नीति ल्याउने बताए।

उनले भने, ‘विद्युतीय सवारी प्रयोग गर्नेलाई कर छुट दिएजस्तै उर्जा प्रभावकारी भवन निर्माण गर्नेलाई पनि छुट दिने नीति ल्याउँछौं, असारको नगरसभाबाट पारित गर्ने प्रयास गर्ने छौं, सम्भव भएन भने हिउँदे अधिवेशनमा पारित गर्ने छौं।’

स्वस्थकर र मितव्ययी यस्ता भवन निर्माणका लागि प्रोत्साहन गर्न जनचेतना जगाउने बताए। उनले ऊर्जा दक्षता उपयोगी ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन गर्न यससम्बन्धी विषयमा जनप्रतिनिधि र कर्माचारीलाई तालिम दिनुपर्ने बताए।

तालिमका लागि विनसँग समन्वय र सहकार्य गर्ने उनको भनाइ थियो। वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरबार क्षेत्रमा मल्लकालीन समयमा बनेको भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालको ऊर्जा दक्षता भएको बताए।

‘पाटन दरवार क्षेत्रमा गर्मीमा शितलता, जाडोमा न्यानोपन मिल्छ, त्यो समयमा अहिलेजस्तो इन्जिनियर थिएनन्, त्यो बेलामा पनि सुझबुझ ढंगबाट भवन निर्माण गर्ने परम्परा थियो, अब पनि एसी र कुलर प्रयोग गर्नु नपर्ने भवन निर्माणका लागि प्रचार–प्रसार गर्नुपर्छ’ उनले भने।

सम्झौता पत्रमा हस्ताक्षरपछि मन्तव्य राख्दै परियोजनाका ‘लिडर’ ड्यानियल नेयरले यो दीर्घकालीन प्रभाव पार्ने परियोजना भएको बताए। मानव स्वास्थ्यका लागि समेत प्रभावकारी हुने यो परियाजनामा ललितपुर महानगरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

सहरी विकास समितिका सदस्य तथा वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले सरकारी र सार्वजनिक भवनहरु सुरुमा ऊर्जा प्रभावकारी ढंगबाट निर्माण गर्ने बताए। प्राविधिक जनशक्तिलाई तालिम दिँदै प्रचार–प्रसार गरेर यसको महत्व बुझाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विनका ‘टिम लिडर’ सुयश प्रजापतिले यो परियोजनाका लागि विनले ६ वटा प्रदेशका ६० वटा पालिकाहरुसँग मिलेर काम गरिरहेको बताए। विश्वका अति सहरीकरण भएका देशहरुमध्ये दशभित्र नेपाल पर्ने भन्दै ऊर्जा दक्षतामैत्री भवन निर्माणले मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने प्रष्ट पारे।

महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवद्र्धन  गर्न गरिएको समझदारी पत्रमा बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (विन) का तर्फबाट परियोजनाका ‘लिडर’ डानिल नेयरले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०८१ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App