२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हिमाल महिलाले पो धानेका रहेछन्’

‘केटी मान्छेले बाँसुली बजाउनुहुँदैन,’ म सानो छँदा एक बटुवाले भनेको यो कुरा मनमा गहिरोसँग गढेर बसेको थियो। यो जिज्ञासा यति गाढा भएर बस्यो कि त्यही कथामा बाँसुली (सन् २०१२) मार्फत आफूलाई व्यक्त गरें।

त्यसैगरी म सानो हुँदा हामीसँगै खेल्न आउने साथीहरूसँग घर र समाजका अगाडि खुलेर खेल्न पाउँदिनथें अनि मेरो मिल्ने साथी मेरो घरभित्र आउन पनि नपाउने। कारण एउटै थियो, मेरो साथीको जात। सानै उमेरमा छुवाछूतको त्यो दुःखलाग्दो कहानीले लामो समयसम्म बत्ल्यायो। त्यो कुराले यति परसम्म बत्ल्यायो कि सन् २०१५ मा मैले मेरो पहिलो कथानक चलचित्र कालो पोथी बनाउने मौका पाएँ।  

कर्णाली अञ्चलको मुगु जिल्लाको मेरो गाउँ, जहाँ म हुर्किंदै गर्दा मेरो घर, मेरो झ्याल, मेरो छत, मेरो आँगन चारैतिरबाट यति सुन्दर हिमालहरू देखिन्थे, सबै जना मोहित हुन्थे। तर बच्चा बेला मेरो दिमागमा एउटा कुरा यसरी गढेर आउँथ्यो कि ती सारा हिमालले मलाई थिचेर राखिरहेको छ।

म जुन गाउँभित्र बसिरहेको छु, त्यो गाउँलाई हिमालले यसरी छेकिरहेको छ कि मलाई पारिका दृश्यहरू केही पनि हेर्न दिइएको छैन। या भनौं बसिरहेको गाउँभन्दा पारिका चिजहरू थाहा पाउनबाट मलाई वञ्चित गरिरहेको छ।

मलाई यस्तो लाग्थ्यो, म सुनको पिँजडाभित्र छु, चारैतिर देखिने मनोरम हिमालको दृश्यभित्र कैद एक बालक हुँ । सानैदेखि अन्तर्मुखी स्वभावको थिएँ, चराहरू उडेको देख्दा जहिल्यै हिमालपारि गएको कल्पना गर्थें । कुनै दिन गाउँ छाडेर हिमालपारि के रहेछ भनेर हेर्ने ठुलो जिज्ञासा मेरो मनमा थियो।

त्यहीबेला म ६ वर्षको हुँदा मेरा बुवाले पहिलोचोटि गाउँमा सिनेमाघर खोल्नुभयो। टिभी पनि नहेरेको नदेखेको, किताबमा चित्र मात्र देखेको बच्चालाई पहिलोचोटि भाग्यवश सिनेमा हेर्ने मौका मिल्यो।

त्यो सिनेमाले मेरो बच्चा बेलाको हिमाल छाडेर, गाउँ तथा घरसमाज छाडेर भागीजाने मेरो उत्कण्ठा यति गहिरोसँग जगायो कि मेरो गाउँ मेरो समाज, भाषा, परिवेशभन्दा परको समाज पनि देख्न पाएँ, सिनेमामार्फत देख्न, हेर्न र महसुस गर्न पाएँ। तर म भाषाचाहिँ बुझ्दिनथें किनभने म जुन गाउँमा बस्थें, त्योबेला अहिले बोल्ने नेपाली भाषा मेरो मातृभाषा थिएन।

म अरू नै भाषा बुझ्थें तर सिनेमाको दृश्य भाषाले मलाई यति मोहित ग¥यो कि पहिलोचोटि गाउँमा सिनेमा हेर्दा मेरा सबै साथीभाइ सिनेमाको हिरो बन्ने रहर पाल्नुहुन्थ्यो, हिरोको नक्कल गर्नुहुन्थ्यो। तर मलाई भित्रभित्र के थियो भने यो सिनेमाको कलाकारलाई निर्देशित गर्ने कोही त्यस्तो मान्छे होला।

भलै मलाई त्योबेला सिनेमा कसले बनाउँछ भन्नेसमेत थाहा थिएन। तर मलाई मनभित्र यस्तो गहिरोसँग विचार गढेर आयो कि कुनै दिन म जीवनमा यी कलाकारहरूलाई कसले सिकाउँछ होला, त्यही मान्छे बन्छु भन्ने गहिरो प्रभाव ६ वर्षको उमेर हुँदैखेरि पर्‍यो।  

त्यहीबेला संयोगवश त्यतिखेरको बडामहारानी रत्नराज्यलक्ष्मी बालदिवसको अवसरमा मुगु जानुभएको थियो। उहाँसँगै स्कुलको उत्कृष्ट विद्यार्थी भएको नाताले हेलिकोप्टर सयर गर्ने मौका पाएँ पहिलोचोटि।

त्यो हेलिकोप्टर हिमालको माथिबाट यसो घुम्दै गर्दा मैले पहिलोचोटि मेरो गाउँलाई छेकेर बसेको मनोरम हिमालहरूको माथिबाट बर्ड आई भ्युको त्यो जुन दृश्य देखें, परको समाज गाउँ क्षितिजपारिसम्मको समाज। त्यसले मेरो गाउँ समाजभन्दा पारि अरू केही चिज छ, जहाँ म पुग्नुपर्छ, जुन चिज मैलै खोज्नुपर्छ भन्ने विचार झन् गढेर आयो।

त्यसपछि म जीवनको सबैभन्दा कठिन मोडमा आइपुगेको थिएँ। पढाइमा एकदमै राम्रो भएकाले परिवारले मलाई विज्ञान विषय लिएर पढाउने विचार गरेको थियो। मैले मनमनै सिनेमा बनाउन काठमाडौं गएपछि घरपरिवार र बुबाले भनेको भन्दा फरक विषय अर्थात् सिनेमा पढ्ने सोच बनाएको थिएँ। त्यसका लागि एउटै विकल्प थियो घर छाडेर भाग्ने। म १४ वर्षको उमेरमा काठमाडौं भागेर आएँ।

काठमाडौं आउँदा मैले एउटा मात्रै सपना देखेको थिएँ, म काठमाडौं त्यतिबेलासम्म बस्छु जतिबेलासम्म म व्यवसायिक रूपमा सिनेमा बनाउँदिनँ। काठमाडौं आइसकेपछि सबैभन्दा गाह्रो कुरा भाषा थियो।

अहिले तपाईंहरूले बोल्ने आधिकारिक नेपाली भाषा वा अहिले मैले बोल्दै गरेको भाषा त्यतिखेर म बुझ्दा पनि बुझ्दिनथें, बोल्न सक्ने त कुरै भएन। भाषाकै कारण संघर्षको कथा, नाटक, रंगमञ्च सिनेमा कोर्स हुँदै म दक्षिण कोरिया र जर्मनीमा फिल्मको तालिम लिने अवसर छात्रवृत्तिस्वरूप पाएको थिएँ।

म मनमनै कल्पँदै थिएँ कि कुनै दिन म छिट्टै सिनेमा बनाउँछु अनि मात्र म मेरो गाउँ फर्किन्छु। त्यो सारा कुरा सकिएपछि मेरो दिमागमा गहिरोसँग एउटा कुरा के गढेर आयो भने जुन हिमाल, जुन परिवेश, संस्कृति, समाज मलाई बोझ लाग्थ्यो, जुन मलाई रमाइलै लाग्दैनथ्यो, ती सारा चिज छाडेर भागेर म सहर पसेको मान्छे, मेरो सिनेमाको अध्ययन वा मेरो अरू औपचारिक पढाइ सकेर पहिलोपटक सिनेमा गर्ने क्रममा मलाई अनुभूति के रह्यो भने यो सबै चिज भ्रम रहेछन्।

जसरी हामी नेपालीमा उखान भन्छौं, नजिकको देवता हेला भनेजस्तै मलाई पहिलोचोटि के रियलाइज भयो भने म जुन सारा चिज छाडेर काठमाडौं आएको थिएँ, काठमाडौंका मेरा सारा साथीभाइ मेरा शिक्षक। यहाँ जति मान्छे भेटें, उहाँहरू हिमाल जान यति लालायित हुनुहुन्थ्यो, त्यसका लागि जे गर्न पनि गर्न तयार हुनुहुन्थ्यो।

पैसाको कुरा, समयको कुरा, सारा चिजहरू हेर्दाखेरि हिमाल भनेको मनोरम दृश्यहरू मात्र नभएर उहाँहरूको आशक्ति हिमालको संस्कृति, त्यहाँको परिवेश, रहनसहन कथा, त्यसको मार्मिकता, गहनता र त्यसको महत्व मैले जीवनमा पहिलोचोटि बुझ्न पाएँ। त्यसको उदाहरणस्वरूप म रारातालको नजिक हुर्केको बच्चा, त्यहीँ हुँदा मलाई रारा एउटा सानो पोखरीजस्तो लाग्थ्यो। काठमाडौं बसेर फर्केर जतिबेला म सिनेमाको तयारी गर्दै थिएँ, त्यही रारा मलाई बडो सुन्दर र प्यारो लाग्न थाल्यो।

त्यसपछि मैले संकल्प गरें कि मैले जीवनमा सिनेमा बनाउँदा मेरै गाउँतिर फर्किनुपर्छ र त्यहीँको पात्र टिप्नुपर्छ। त्यहीँको परिवेश टिप्नुपर्छ, भाषा सबै मेरो सिनेमाको कथामार्फत आउनुपर्छ भन्ने लागेर पुनः म सिनेमा बनाउन हिमालतिरको यात्रामा फर्किएँ। यो सन् २०१२ तिरको कुरा थियो।

मेरो गाउँ फर्कें र केटी मान्छेले बाँसुली बजाउनुहुँदैन भन्ने हाम्रो गाउँको चलनमा आधारित आफ्नै गाउँको कथामा बाँसुली बनाएँ। त्यसपछि म र मेरो समूहले कालो पोथी हुँदै अहिले २०२४ मा ‘शाम्बाला’ बनाएका छौं। यी कथाहरू मेरो गाउँ, मेरो समाज र म हुर्केको हिमालको काखतिरै बनाउन पाएँ।

त्यसपछि सिनेमाको कथाले गाउँठाउँ, समाज मात्र होइन, मेरो देशको प्रतिनिधित्व पनि गर्न पाएकोमा आफूलाई एकदमै खुसी र भाग्यमानी मान्छु। त्यसको शृंखला कहाँबाट सुरु भयो भने २०१२ मा म र मेरो समूहले बनाएको पहिलो ‘सर्ट फिल्म’ भेनिस फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा पुग्यो। त्यो बेला पूरै एसियाभरिबाट जम्मा दुईवटा फिल्म छनोट हुँदा नेपाली पनि परेको थियो। 

नेपालबाट भेनिस पुग्ने पहिलो फिल्मसमेत भएकाले म र मेरो टिम पनि खुसी थियौं। सिनेमाको इन्टरनेसल फोरममा हामी कहाँ छौं, हाम्रो सामथ्र्य कहाँ छ भन्ने पनि पहिलोचोटि त्यहीबेला अनुभव गर्न पाएँ। त्यसपछि कालोपोथी हुँदै अहिले शाम्बालासम्म मैले आफ्नो गाउँठाउँ, समाज, भाषा, संस्कृति, सभ्यता मात्र नभईकन देशकै प्रतिनिधित्व गर्न पाएको त्यो क्षणमा मलाई पहिलोचोटि यस्तो महसुस गरायो कि अब मैले निर्देशकका रूपमा सिनेमा बनाउनेबाहेक साथीभाइ या नयाँ पुस्ताको चलचित्रकर्मीहरूको सिनेमा निर्माण गर्न म स्वयं लाग्नुपर्छ भन्ने महसुस भयो।

म आफैं एक्लै यो यात्रामा धेरै पर जान सकुँला नसकुँला, मैले निर्माताका रूपमा नयाँ पुस्तालाई सहयोग गर्नुपर्छ भनेर २०१४ बाट म निर्माणको काममा धेरै लागें। जसले हिजोआज म निर्देशकका रूपमा भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी हुँदा बजार वितरणको सवालमा वा उहाँहरूले आम्दानी गर्नुभएको कुरा वा उहाँहरूले आफ्नो कथा संसारलाई भन्न पाउनुभएको त्यो क्षण जीवनमा मलाई पहिलोचोटि गर्व लाग्ने क्षण थियो।

लकडाउनका बेला सबैभन्दा भाग्यमानी समय भन्छु म आफ्ना लागि। मैले हिमालको यात्रा यति धेरै गर्न पाएँ कि सगरमाथाको आधार शिविरदेखि हुम्लादेखि अप्पर डोल्पासम्म नेपालको हिमाली जनजीवनहरू तीन वर्षसम्म धेरै घुम्न पाएँ। सायद त्यो समय मेरो जीवनमा सबैभन्दा सुनौलो समय रह्यो।

हिमालमै पहिला जन्मेहुर्केको मान्छे, सिनेमा बनाएर काम गरेको मान्छे तर कोभिडको त्यो क्षणमा पहिलोचोटि मलाई हिमालको अँध्यारो पक्ष हिमालमै बसेर गुजारा चलाउने मान्छेहरूको भित्री कथाले गहिरोसँग प्रभाव पा¥यो। अर्थात् केही साना उदाहरणहरू पेस गर्छु।

हामी सहरको आँखाले हिमाल हेर्छाैं, हिमाललाई धेरै नै ‘रोमान्टिसाइज’ गर्दा रहेछौं। धेरै नै ‘फेन्टासाइज’ गर्दा रहेछौं। सुन्दर दृश्य देखिन्छ, एक दुई दिन घुम्नलाई बडो रमाइलो लाग्छ। तर हिमालमै वर्षौं जीवन बिताउने मान्छेहरूको गहिरो कथा पेस गर्छु। 

कोभिडले बाहिर र भित्रको आन्तरिक यातायात ठप्प भएको बेलामा अप्पर डोल्पाको गाउँमा एक जना बहिनी, जो पहिलोचोटि सुत्केरी भएर थला पर्नुभएको थियो, उहाँको बच्चा र उहाँको जीवन मेरो आँखैअगाडि कसैले पनि बचाउन नसकेको त्यो कहालीलाग्दो क्षण। यातायात सारा ठप्प थियो।

त्यसैगरी याक लिन हिमाल चढेका यात्रीहरूको खुट्टा भाँचिएको कथाहरू या कोभिडको बेला हिमालका मान्छेहरू जो जाडो छल्न सहरतिर आउनुहुन्थ्यो। उहाँहरू घर फर्किन नपाउनुभएको पीडा या सहरका अरू मान्छेका कथाहरू यति नजिकबाट बुझ्न पाएँ। हिमालका मान्छेहरूका लागि हिमाल साँच्चिकै तपस्या हो, हिमाल धर्म हो, हिमाल साँच्चिकै घर हो।

‘सर्भाइभल’ सँग जोडिएको कुरा हो। तर हामी बाहिरबाट जाने मान्छेहरू हिमाललाई रोमान्टिसाइज गर्छौं। हामी हिमालको महत्व पनि बुझ्दैनौं र हिमाललाई प्रदूषण गरेर मात्र आफ्नो रहर पूरा गरेर फर्किन्छौं। सारा चिज भोग्नुपर्ने हिमालमा बस्ने मान्छेहरूको कथा जिन्दगीमा पहिलोचोटि नजिकबाट देख्न पाएँ।

त्यसपछि संसारकै ‘हाइएस्ट ह्युमन सेटलमेन्ट’ डोल्पाको गाउँमा भर्खरै बनाएर सकिएको चलचित्र शाम्बाला हो। त्यो बनाउँदा मेरो जीवनमा पहिलोचोटि हिमाल भनेको दृश्य, भाषा, सभ्यता, संस्कृति, नभनिएका कथा मात्र होइन कि हिमालसँग ‘स्प्रिचुअल पावर’ भएको कुरा जीवनमा पहिलोचोटि भोग्न पाएँ।

त्यसको स्वरूप हामीले भर्खरै बनाएको शाम्बालाको मुख्य पात्र पहिला पुरुष थियो। साँच्चिकै हिमाल धानेको र हिमालको ‘प्योर क्यारेक्टर्स’ भनेको महिला रैछ। हिमालका पुरुषहरू त कोही व्यवसायको खोजीमा त कोही सुनौलो भविष्यको खोजीमा हिमाल छाड्दै आइसकेको अवस्थामा मेरो कथाको प्रतिनिधित्व गर्न महिला चरित्र नै सशक्त हुनेरैछ भन्ने ‘रियलाइजेसन’ भयो। त्यो महिलाको स्प्रिचुअल पावर, मेडिटेटिभ इनर्जीको कुरा महसुस भयो। शाम्बाला भन्ने चलचित्र बनाउँदै हामीले बर्लिनसम्मको यात्रा गर्न पायौं, जुन दक्षिण एसियाबाटै तीन दशकभन्दा बढी समयपछि नेपाली चलचित्र छनोट भयो।

नेपाली चलचित्र मैले जीवनमा कहिल्यै पनि नसोचेको निर्देशक वान अफ दि ग्रेट निर्देशक मार्टिन स्कोर्सेसीको फिल्मसँग हामी पनि प्रतिस्पर्धा गर्दै थियौं। मलाई गर्वभन्दा बढी खुसी केमा लाग्यो भने त्यो ठाउँमा अपर डोल्पाको कथा, त्यहीको भाषा, संस्कृति, कथा, कलाकार र त्यहींको थिममा बनाएको फिल्म लिएर म पहिलोचोटि म २ हजारभन्दा बढी दर्शकको माझमा म मार्टिन स्कोर्सेसी र डोल्पाको गाउँको पात्र जसले बच्चाको रोल गर्नुभएको थियो, दुवै जनालाई हेर्दै बसिरहेको थिएँ।

संयोगवश हाम्रो फिल्मको स्क्रिनिङ सकिइसकेपछि मैले तीनजनालाई सोधें। एकजना ओपन हाइमरको मुख्य अभिनेता सेलियन मर्फी। उहाँले हाम्रो फिल्म हेर्नुभएको थियो र फिल्मको जिज्ञासा लिने क्रममा मैले उहाँलाई सोधें।

उहाँलाई हिमालको शक्ति दृश्यका रूपमा मात्र होइन कि हिमालमा जाने आशक्ति यति गहिरो रैछ मलाई अर्को सिनेमामा हामी हिमालको कथामा काम गर्ने जिज्ञासा राख्नुभयो। अर्को अभिनेता बलिउडका नवाजुद्दिन सिद्धिकीले हाम्रो फिल्म हेरिसकेपछि आफैंले बोलाएर भन्नुभयो कि मलाई तपाईंसँग जीवनमा सँगै काम गर्न मन छ।

र अर्को, डोल्पाको एकजना भाइ जो कहिले सहर आउनुभएको थिएन। उहाँलाई मैले सोधें, ‘तपाईंलाई डोल्पादेखि बर्लिनसम्मको मान्छेहरूसँगको भेटघाट यो अनुभव सबैभन्दा जीवनमा के चिज रमाइलो लाग्यो ?’

‘यहाँको गाडी, रेल, प्लेन चढेको एकदमै रमाइलो लाग्यो।’  

यो सबै देखेर सुनेर मलाई हिजोआज के महसुस भइरहेको छ भने हामीसँग जुन कुरा साँच्चिकै छैन, त्यो कुरा एकदमै महŒव लाग्ने रहेछ, सायद यो मानव स्वभाव पनि होला। जे चिज हामीसँगै हुन्छ, हामी त्यसको महŒव बुझ्दैनौं। हिजोआज नेपाल देशको सारा गाउँ खाली छ। हिमालमा त झन् मान्छे भेट्न गाह्रो छ। सबै सुखको खोजीमा हामी सहरको मान्छे विदेश जान्छौं। हामी भाग्ने क्रममा छौं।

खासगरी पश्चिमेलीहरू पूर्वतिर आकर्षित छन्। हिमालको आशक्ति दृश्यमा मात्र होइन, त्यहाँको खोज–अनुसन्धान गर्न मात्र होइन, त्यहाँको आध्यात्मिक शक्ति देखेर आउन खोजेको अवस्थामा हामी त साँच्चै भाग्दै रहेछौं।

जीवनको यो मोडमा के महसुस भइरहेको छ भने कुनै दिन हिमालको सभ्यता, संस्कृति, भाषा, परिवेश, मान्छे, हिमाल आफैंमा दिक्कलाग्दो चिज भएको मान्छे, ती सारा झन्झटबाट उन्मुक्ति खोजेर भागेर आएको मान्छे म। हिजोआज के महसुस भएको छ भने जीवनमा साँच्चिकै रिटायर्ड लाइफ हिमालमै विलीन हुन पाऊँ।

हिमालको मनोरम दृश्यमै म मेरा जीवनका सारा कथा व्यक्त गर्न पाऊँ। हिमालमै सारा सिनेमाहरू बनाउन सकूँ। र, यी सारा चिज फर्केर हेर्दाखेरि मभित्रको त्यही सानो बालक पात्र जो गाउँ छाडेर भागेर आयो, हिमालदेखि वाक्क दिक्क भएर भागेर आएको मभित्रको अहिले दोस्रो पात्र म आफूले यसलाई रूपान्तरण भएको रूपमा हेर्छु। जो पात्र फेरि हिमालकै काखमा गएर विलीन हुन पाऊँ र त्यही हिमालमा गएर लिन हुन पाऊँ भन्ने जीवनको यो यात्राको कथा यहीँ सक्छु।

(राजधानीमा आइतबारसम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आयोजित ‘माउन्टेन्स म्यार्टर ः अ कल फ्रम द हिमालयाज्’ विषयक अन्तरसंवादमा चलचित्रकर्मी भामद्वारा व्यक्त विचारको सम्पादित अंश।

प्रस्तुति : प्रभाकर गौतम)

प्रकाशित: २० जेष्ठ २०८१ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App