३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्दै: जुम्लाको तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। आफ्ना नागरिकलाई घरदैलोको सरकारको अनुभूति गराउन सक्षम भएको निष्कर्ष निकालेको छ।

बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो। २०७९ को स्थानीय तहको निर्वाचित जनप्रतिनिधिहरूले गरेको कामको विवरण सार्वजनिक गर्दै तातोपानी गाउँपालिकाले छोटो समयमै स्थानीय सरकारको अनुभूति जनतासम्म पुर्याउन सकिएको दाबी गरेको छ। प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा आर्थिक वर्ष ९२०७९/०८० / २०८०/०८१० मा सम्पादन भएको उत्कृष्ट काम सार्वजनिक गरेको थियो।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाभन्दा नयाँ कामको सुरुवात गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए। असारे विकासको प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्न सक्नु नै तातोपानीको मुख्य उपलब्धि भएको अध्यक्ष चौलागाई बताउँछन्।

उनले भने, प्रत्येक आर्थिक वर्षको वैशाख मसान्तभित्रै योजनाहरूको अन्तिम भुक्तानी गर्ने नीतिले जनस्तरमा सकारात्मक सन्देश फैलाउन मद्धत गरेको छ। तातोपानी टाइम्स कार्यन्वयन गर्नु, गाउँपालिकालाई खादामुक्त गर्नु, श्रम संस्कृतिको विकास गर्न र योजनाहरूको लागत घटाउन तातोपानीमा हरेक महिनाको दोस्रो शनिबार श्रमदान अभियान चलाउनुलाई पनि आफूले उपलब्धिका रुपमा बुझेको उनको दाबी छ।

तातोपानीले दुइ वर्षमा मानसिक सन्तुलन गुमाएर सडक मानवको जीवन बिताइरहेका ६ जना नागरिकको उद्धार गरेर पुनर्स्थापना गरेको छ। गाउँपालिकाको आन्तरिक आयस्रोतबाट गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरेको छ। २५ वटा कानुन बनाएर कार्यान्वयनमा ल्याएको छ। अध्यक्ष चौलागाईलेका अनुसार, ‘पालिका भित्रको आवश्यकता, जनताको मागका आधारमा विकास निर्माणका क्रियाकलाप भइरहेको छ।

जसले नागरिक र सरकारबिचको सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको छ।’ विपन्न नागरिकका लागि नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु, बृहत स्वास्थ्य शिविर सञ्चालन गरेर रकम अभावका कारण अस्पताल सम्म पुग्न नसकेका बिरामीहरूको उपचार गर्नु र नि: शुल्क एम्बुलेन्स सेवाप्रवाह गर्नुले स्थानीय सरकार प्रतिको नागरिकको छाप राम्रो परेको छ।

शिक्षामा गुणस्तर सुधारका लागि हरेक विद्यालयमा शैक्षिक कर्मचारी, विद्यार्थी-शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नु पनि उपलब्धिका रूपमा हेरिएको छ। प्रतिवेदनमा तातोपानी गाउँपालिकाभित्र रहेका ३ हजार ३ सय घरधुरीको घर बिमा गरिएको देखाइएको छ। जुम्लाकै ठुलो र सुन्दर ताल गिडिदह सम्मेलन गरी क्षेत्रफल समेत सार्वजनिक गरिएको छ।

गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ३ मिटर रहेको छ। दुई आर्थिक वर्ष भित्रमा भौतिक पुर्वधारतर्फ १० वटा विद्यालय भवन, २ वटा वडा कार्यालय भवन, १ प्रशासकीय भवन, ३ वटा सार्वजनिक शौचालय, ३ वटा काठेपुल निर्माण, २ वटा झुलेंगे पुल, ७ किमि सडक निर्माण, २४ किमि गोरेटो बाटो निर्माण, २ हजार ५ सय २८ घरधुरीमा खानेपानी मर्मत तथा निर्माण गरिएको छ।

चालु आर्थिक वर्षमा योजना क्षेत्रमा ९९ प्रतिशत भौतिक प्रगति गरिएपनि विविध कारणले ५८ प्रतिशत मात्रै योजनाको अन्तिम भुक्तानी भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए।

‘योजनाको भौतिक प्रगति ९९ प्रतिशत छ, तर रोपाइँ, घरायसी कामको चटारो र यार्सा टिप्ने लहरले भुक्तानी भने कम भएको छ, उनले भने, गाउँपालिकामा चालु आर्थिक वर्षमा ७ वटा योजना ठेक्कामार्फत सञ्चालन छन्। कर्मचारी, जनप्रतिनिधि र नागरिकका सम्बन्ध सुधारलाई ठुलो उपलब्धिका रुपमा गाउँपालिकाले दर्ज गरेको छ।

गाउँपालिकाको पहिचान झल्किने पालिका गान र लोगो निर्माण, गाउँपालिका र अन्तर्गतका कार्यालयहरूमा डिजिटल हाजिर जडान र सोको कार्यान्वयन, घर बिमा कार्यक्रम लागु, जेष्ठ नागरिकलाई न्यानो कपडा तथा अति विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण, सहयात्रा तेस्रो परियोजना लागु, विपदबाट प्रभावित नागरिकका लागि तत्काल राहत वितरण, ५ सय १२ घरधुरी सुरक्षित नागरिक आवास कार्यक्रमबाट लाभान्वित, सञ्चार सेवामा आम नागरिकको पहुाचमा वृद्धि लगायतका उपलब्धिहरु दुई वर्षभित्र हासिल गरेको तातोपानी गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App