२ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाघ आक्रमणले महिलाको मृत्यु, त्रासले गाउँ नै जाग्राम

क्यामरामा कैद भएको पोथी बाघ। तस्बिर : नागरिक

बाँसगढी नगरपालिका– ४ स्थित खानेपानी ट्यांकी टोलनजिकको सामुदायिक वनमा बिहीबार दिउँसै पाटे बाघको आक्रमणबाट वयस्क महिलाको मृत्यु भएपछि पूरा गाउँ त्रासले जाग्राम छ।

बाघले आक्रमण गर्दा बाँके बैजनाथ गाउँपालिका– ८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको ज्यान गएको हो। बाँसगढी नगरपालिका– ४ स्थित जनचेतना सामुदायिक वनमा सौच गर्ने क्रममा बाघ आक्रमणले रोकायको मृत्यु भएसँगै गाउँमा त्रासदी छाएको छ।

केटाकेटी बाघको त्रासले सुत्दै नसुतेको स्थानीय रमा रोकाले बताइन्। ‘हामी रातभरि सुतेका छैनम्’, उनले भनिन्, ‘सामुदायिक वनमा आएको बाघले घरमै आक्रमण गर्ने त्रासले जाग्राम छौं।’

डिभिजन वन प्रमुख प्रवीण बिडारीले बाघको पहिचान खुलिसकेको बताए। उनका अनुसार वन, निकुञ्ज र एनटिएनसीको समन्वयमा घटनास्थलवरपर जडान गरिएको अत्याधुनिक क्यामरामा बाघ कैद भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहितको टोली घटनास्थलमा। 

‘घटना भएलगत्तै बाघ बस्न सक्ने सम्भावित क्षेत्रमा क्यामरा जडान गरेका थियौं’, उनले भने, ‘बाघले घटना गराएको ठाउँमा जडान भएको क्यामरामा बाघ कैद भइसकेको छ।’ बाघको उद्धारका लागि प्राविधिक टोलीसँगै हात्ती बर्दिया निकुन्ज मुख्यालय ठाकुरद्वाराबाट हिँडिसकेको छ।  

क्यामरामा कैद भएको बुढो पोथी बाघ रहेको खुलिसकेको छ। बाघ घटनास्थलनजिक घुमिरहेकाले अर्को अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सजगता अपनाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए।

‘बाघ घुमिरहेको स्थानमा आवागमन रोक लगाएका छौं’, घटनास्थल पुगेर फर्कंदै गरेका प्रजिअ खरेलले भने, ‘उद्धार गरेर बाघलाई सुरक्षित स्थानतर्फ लैजाने तयारी भइरहेको छ।’ बर्दिया निकुन्ज क्षेत्रभन्दा बाहिर बाघको आक्रमणबाट पाँचजनाको ज्यान गइसकेको छ।

सामुदायिक वनमा बाघ आक्रमणको जोखिम 

पछिल्लो समय सामुदायिक वनमा बाघ आक्रमणको जोखिम बढेको छ। जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेको छ भने सर्वसाधारण त्रसित बनेका छन्।

सामुदायिक वनसँग जोडिएको चल्ती बाटो हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ। आइतबार मधुवन नगरपालिका–४ कालिका सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको थियो।

बाघले आक्रमण गर्दा बाँके बैजनाथ गाउँपालिका– ८ हस्नापुरकी ३५ वर्षीय मनीषा रोकायको ज्यान गएको छ। मृतक रोकाय आफ्नी दिदी बाँसगढी नगरपालिका– ४ बठुवाकी ४० वर्षीय कैलाशपति थारूसँगै उनको घर जाने क्रममा बाघले आक्रमण गरेको थियो। बहिनी सौच गर्न गएका बेला बाघले आक्रमण गरेको पीडित थारुले बताइन्।

प्रकाशित: ११ जेष्ठ २०८१ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App