२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (तस्बिरहरू)

ताप्लेजुङमा बिहीबारबाट सुरु भएकाे पाँचदिने ‘ताप्लेजुङ पर्यटन महोत्सव’ मा उपल्लो हिमाली क्षेत्रमा पाइने याक र चौँरी देखि छुर्पी र स्थानीय उत्पादनका सामाग्रीले महोत्सव स्थल सजिएको छ।

उपल्लो हिमाली क्षेत्रमा पाइने याक फुङलिङमै देख्न पाउँदा अवलोकनकर्ता उमंगित भएका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि घरेलु उत्पादन तथा हस्तकलाका सामग्री राखिएको छ। 

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङसँगको समन्वयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले स्थानीय उत्पादनका सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखेको छ। 

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि स्थानीय उत्पादनका सामग्रीको स्टल रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए।

घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईका अनुसार स्टलमा ढाका कपडा, अलैँचीको रेसाबाट बनेका उत्पादन, काष्ठकलाका सामग्री, फूलजन्य उत्पादन, नेपाली हाते कागज, दुग्धजन्य उत्पादन, अलैँचीको प्रशोधनबाट तयार गरिएका सामग्री, कृषिजन्य उत्पादनमा सामग्री समेत रहेका छन्।

ताप्लेजुङका विभिन्न जातजाति र धर्म संस्कृतिमा आधारित परम्परागत खानाले भरिएका खाद्य परिकार स्टलले अर्को सौन्दर्ययता थपेको छ। महोत्सव स्थलमा विभिन्न घरेलु उत्पादनका सामग्रीलाई उत्पादकले महत्त्व दिएर बिक्री स्थलमा राखेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका केन्द्रीय सदस्य मात्रिकादेवी प्रसाँई घरेलु तथा साना उद्योगबाट उत्पादित अधिकांश सामग्री महोत्सव स्थलमा प्राप्त गर्न सकिने बताउँछिन्।

मुख्य कार्यक्रम स्थल नजिक अन्तरपालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिताले दर्शकको मन तानिरहेको देखिन्छ। 

फुङलिङ नगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका वडा नं-८ का वडाध्यक्ष क्षितिज सुनुवार यातायात बन्दकाबीच दर्शकको बाक्लो उपस्थितिले भलिबलप्रतिको दर्शकको मोह अझै कायम रहेको देखिएको बताउँछन्।

प्रकाशित: ५ जेष्ठ २०८१ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App