१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

साइकलचालक विरोधी कानुन !

यस्तो पनि

साइकल चलाइरहनुभएका बेला अकस्मात कसैलाई ठक्कर दिनुभयो। ठक्कर लागेको व्यक्ति भुक्लुक्क लड्यो र तत्काल ज्यान गयो भने त्यस्तो अवस्थामा के हुन्छ? ल भैगो, ज्यान गएन तर गम्भीर चोटपटक लाग्यो भने के हुन्छ? यस विषयमा नेपालमा सम्भवतः सोचिएको छैन।

बेलायतमा पनि यसबारे गम्भीरतापूर्वक सोचिएको थिएन। त्यसैले साइकल चलाउँदा ज्यान गयो भने के गर्ने भन्नेबारे खासै कानुन थिएन। तर सन् २०१६ मा आफ्नै सुरमा हिँडिरहेकी किम ब्रिग्सलाई एक साइकलचालकले ठक्कर दियो। किमको ठाउँका ठाउँ मृत्यु भयो। अनुसन्धानमा ब्रिग्सलाई ठक्कर दिने चार्ली एलिस्टनको गियर बाइक भए पनि अगाडिको ब्रेक नभएको पत्ता लागेको थियो। त्यसपछि उनलाई कस्तो सजाय दिने भन्नेबारे निकै लामो कानुनी बहसहरू भए।

१९ औँ शताब्दीमा साइकल चलाउँदा मृत्यु हुँदा खासै ठूलो दण्ड सोचिएको थिएन। त्यसैले यहाँ किमको मृत्यु हुँदा पनि चार्लीमाथि खासै गम्भीर सजाय तोकिएलाजस्तो लागेन।

किमका पति म्याथ्यु ब्रिग्सलाई भने पत्नीवियोग खपीनसक्नु भयो। उनले सडकमा आतंकित नै पार्ने गरी साइकल दौडाउने, जथाभावी गर्नेहरूप्रति नियन्त्रणको खास उपाय थिएन। त्यसपछि उनले आफ्नो पत्नीवियोगको शोकलाई शक्तिमा परिणत गर्न यससम्बन्धी कानुन बनाउन विभिन्न अभियान शुरु गरे। परिणामस्वरूप यतिबेला बेलायती सांसद डन्कन स्मिथले संसद्मा नयाँ कानुन ल्याउन एउटा प्रस्ताव पेश गरेका छन्। जसअनुसार, अन्य सवारीले ठक्कर दिँदा कुनै व्यक्तिको मृत्यु हुँदा जति दण्डजरिवाना तोकिएको छ, सोही बराबरको दण्ड साइकलचालकलाई पनि आवश्यक रहेको जिकिर गर्दै कानुन बनाउन संसद्मा पेसी चढाएका छन्।

म्याथ्यु ब्रिग्सको सपनालाई सांसदको सहयोगले केही सन्तोष दिएको छ। अब सरकारले नयाँ कानुन बनाउने प्रक्रिया अघि बढाउने भएको छ। केहीले भने यसलाई ‘साइकलविरोधी कानुन’ भन्दै आलोचना गरिरहेका छन्। तर यो कानुनले सडकमा जथाभावी साइकल हुर्‍याउनेहरूमाथि मात्र केन्द्रित रहने सांसद डन्कन स्मिथले प्रस्ट्याएका छन्।

यो कानुन खतरनाक तरिकाले साइकल चलाउनेहरूमाथि मात्र केन्द्रित हुनेछ। त्यस्तै कानुन बनेमा पैदलयात्रु अझ सुरक्षित हुने छन्।

त्यसो त यो कानुनको विरोधमा पनि प्रतिपक्षी दल सशक्त रूपमा देखिएको छ। लेबर पार्टीले साइकल चालकलाई अपराधी साबित गर्नुअघि साइकलबाट हुने मृत्युको तथ्यांक हेर्नुपर्ने बताएको छ।

साइकलका कारण मृत्यु भएको संख्या हालसम्म दुई जना मात्र रहेको देखिएको छ। तीमध्ये एक जनाले भने उन्मुक्ति पाइसकेका छन्। यो कानुनले साइकलचालकलाई बढीभन्दा बढी जिम्मेवार बनाउन भूमिका खेल्ने डन्कनको दाबी छ। 

प्रकाशित: ४ जेष्ठ २०८१ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App