‘बाक्लो दाल खानु छ भने परिवारबाट छुट्टिनू’ भन्ने लोकोक्ति नेपाली समाजमा चरितार्थ हुँदै गएको छ। नेपालमा अहिले एकल परिवारको संख्या बढी छ। यसले लोकोक्तिले भनेजस्तै बाक्लो दाल खाने परिवार बढिरहेको देखाउँछ।
नेपालमा परम्परागत रूपमा संयुक्त र विस्तारित पारिवारिक संस्कृति छ। तर पछिल्लो समय नेपालमा प्रजनन संक्रमणको अवस्था र सामाजिक, आर्थिक रूपान्तरणसँगै पारिवारिक संरचना एकलतर्फ अघि बढिरहेको छ।
जनगणना २०७८ अनुसार नेपालमा ६०.१ प्रतिशत एकल र ३९.९ प्रतिशत संयुक्त परिवार संख्या छ। जनगणनाको नतिजा प्रतिवेदनमा नेपालमा परिवार संख्या ६६ लाख ६० हजार ८४१ रहेको उल्लेख छ, जसमध्ये ४० लाख एक हजार ५१ एकल परिवार संख्या छ। एकल परिवारमा एक करोड ३४ लाख ७३ हजार २६७ जनसंख्याको बसोबास छ। नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ।
भौगोलिक क्षेत्रअनुसार पहाडमा एकल परिवारमा बस्न रुचाउने बढी छन्। मधेस–तराईमा अझै पनि संयुक्त परिवारमै रमाउन चाहनेको संख्या बढी छ। पहाडमा एकल परिवारमा बस्ने जनसंख्या ५१.३ प्रतिशत छ। तराईमा भने एकल परिवारमा बस्ने जनसंख्या ४३ प्रतिशत छ।
बागमती प्रदेशमा एकल परिवार संख्या ६४.९ प्रतिशत र संयुक्त परिवार संख्या ३५.१ प्रतिशत छ। मधेस प्रदेशमा एकल परिवार संख्या ५४.६ प्रतिशत र संयुक्त परिवार संख्या ४५.४ प्रतिशत छ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार पछिलो दशकमा छुटभिन्न भएर एकल परिवारमा बस्न खोज्ने संख्या बढिरहेको छ। एकल परिवारमा भएको वृद्धिले भविष्यमा प्रजननदर घट्दै गएर जनसंख्या वृद्धिदर पनि घट्ने संकेत गर्छ। यसले अबका दिनमा संयुक्त परिवामा बस्न रुचाउने जनसंख्या पनि कम हुने देखिन्छ।
‘बाक्लो दाल खानु छ भने परिवारबाट छुट्टिनू’ भन्ने लोकोक्ति चरितार्थ हुँदै गएपछि भोलिका दिनमा हाम्रो समाज एकलकाटे हुनेछ। अरू प्रदेशभन्दा मधेसमा अझै पनि संयुक्त परिवार बढी छ।
‘यसले के संकेत गर्छ भने मिलेर बस्ने र पारिवारिक अनुसाशन कायम हुने मधेस प्रदेश हो,’ निर्देशक लामिछानेले भने, ‘तथ्यांक संकलनका क्रममा मधेस प्रदेशमा बसोबास गर्ने परिवारमा संस्कार र अनुशासन बढी देखियो। बालबालिकाले पनि घरमा राम्रो स्याहारसुसार पाउने गरेको पाइयो। यसको मुख्य कारण तुलनात्मक रूपमा मधेस अझै पनि संयुक्त परिवारको परम्परा कायमै हुनु हो।’
तथ्यांक विश्लेषण गर्दै उनले अगाडि भने, ‘ससाना विवादमा पनि पतिपत्नी र छोराछोरी छुटभिन्न भएर बस्ने प्रवृत्ति बढ्दो छ। यसले हजुरआमा, हजुरबुवा तथा मान्यजनप्रति गरिने आदर, सम्मानमासमेत कमी आउँदै गएको देखिन्छ।’ निर्देशक लामिछानेका अनुसार संयुक्त परिवारमा जन्मेहुर्केका बालबालिकाको चौतर्फी विकास भएको हुन्छ। किनभने उनीहरूले हजुरआमा, हजुरबुवा, काकाकाकीलगायत मान्यजनबाटै संस्कार, अनुशासन सिक्छन् र सर्वांगीण विकास हुन्छ।
‘भोलिका दिनमा हजुरआमा र हजुरबुवा, काकाकाकी, मामामाइजू, फुपूफुपाजु भन्ने शब्दसमेत बच्चालाई थाहा नहुन सक्छ। एकल परिवारमा प्रायः पतिपत्नी दुवै कमाउने हुन्छन्। बच्चा कम जन्माउँछन्। एकल परिवारमा पालनपोषण गर्ने र हेर्ने कोही नभएकाले उनीहरूले एक मात्र सन्तान जन्माउँछन्,’ निर्देशक लामिछानेले भने, ‘यसले समाजलाई एकलकाटे बानाउँछ।’
एकल परिवार संख्या बढी हुने प्रदेशमा गण्डकी पनि पर्छ। यो प्रदेशमा एकल परिवार संख्या ६३.२ प्रतिशत छ। एकल परिवार संख्या कर्णाली र कोसी प्रदेशमा ६१-६१ प्रतिशत छ। त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङका अनुसार विश्वमै आर्थिक र सामाजिक रूपान्तरणसँगै एकल परिवारमा बस्ने मानिस बढेका छन्।
मानिस अवसर भएको ठाउँमा गएर बस्न रुचाउने भएकाले एकल परिवारको संख्यामा पनि वृद्धि हुँदै गएको र यो स्वाभाविक पनि भएको गुरुङको विश्लेषण छ।
‘एकल परिवार बढ्नु भनेको देश विकसित हुँदै गएको संकेत हो,’ उनी भन्छन्, ‘तराईमा संयुक्त परिवार राख्नुको कारण खेतीयोग्य कार्यमा सहभागिताका लागि हो। तराईको शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था अझै पनि कमजोर छ। एकले कमाएर पाँचजनालाई पाल्ने व्यवस्थाले विकासमा बाधा पुग्छ। जनगणनाबाट नयाँ तथ्यांक आएकाले अब राज्य नयाँ ढंगले नीति–कार्यक्रम तय गरी अघि बढ्नुपर्छ। अब जनसंख्या नियन्त्रण नभएर व्यवस्थापनको नीति अगाल्नुपर्छ।’
प्रकाशित: ३१ वैशाख २०८१ ०७:२६ सोमबार





