१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

नाम मात्रका ‘सुगर फ्री’

बजारमा धेरैै यस्ता तयारी खाना छन्, जो ‘सुगर फ्री’का नाममा बिक्री हुन्छन्। सुगर फ्री भनिएका तयारी खाद्य पदार्थ मधुमेहका बिरामीले बढी मात्रामा प्रयोग गरेको देखिन्छ।

तर सुगर फ्री भनिएका धेरैजसो खाद्य पदार्थ पूर्ण रूपमा चिनीमुक्त नहुने पोषणविद् बताउँछन्। अहिले बजारमा सुगर फ्री लेखिएका बिस्कुट, मिठाई, ब्रेड, केक, बर्फी, पेडा आदि परिकार पाइन्छन्।

वरिष्ठ पोषणविद्हरू नानीशोभा शाक्य नाम चलेका सुगर फ्री खानेकुरा पूर्ण चिनीमुक्त नभएको बताउँछिन्। उनका अनुसार बजारमा सुगर फ्री भनिएका खाद्य पदार्थमा प्रत्यक्ष रूपमा कृत्रिम चिनी कम राखिए पनि आफैंमा गुलियोको मात्रामा पर्याप्त हुन्छ।

यस्ता परिकार आफैंमा कार्बोहाइड्रेडयुक्त भएकाले पूर्ण चिनीमुक्त हुन नसक्ने पोषणविद् बताउँछन्। जस्तो कि बिस्कुट मैदाबाट बनेको हुन्छ। मैदा या पिठोमा कार्बोहाइड्रेडको मात्रा पर्याप्त हुन्छ। चक्लेट, मिठाई पनि कृत्रिम चिनी हालेर बनाइएका हुन्छन्। ‘प्राकृतिक रूपमा दुधमा हुने गुलियोपन पनि एक प्रकारको चिनी नै हो,’ शाक्यले भनिन्।

मधुमेहका बिरामीले प्रयोग गर्ने सुगर फ्री भनिएका खाद्यपदार्थमा मिलावट गरिएको कृत्रिम चिनीमा माल्टोज, ग्लुकोज, स्याक्रिन, सुक्रालोज, एभानटेमलगायत रसायन हालिएको हुन्छ। यी रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन्।

कृत्रिम चिनी र बजारमा उपलब्ध चिनी दुवैमा रसायन हुने र यस्ता खानेकुरा दीर्घकालसम्म खाँदा पेटसम्बन्धी क्यान्सर हुने अनुसन्धानबाट पत्ता लागेको छ। पोषणविद् शाक्यका अनुसार पेटमा बाहिरी कीटाणुसँग लड्ने सूक्ष्म कीटाणु हुन्छन्।

कृत्रिम चिनीयुक्र खानाले पेटमा भएका सूक्ष्म कीटाणुलाई असन्तुलन गरिदिन्छ र पछि गएर क्यान्सर हुन्छ। यी कारणले दुवै खालको चिनीयुक्त खाने पदार्थहरू स्वास्थ्यवर्धक हुँदैनन्। विश्व स्वास्थ्य संगठनले कृत्रिम चिनीले क्यान्सर गराउने जनाएको छ।

संगठनले कृत्रिम चिनीयुक्त पदार्थ खाँदा पेटको क्यान्सर हुने जोखिम बढी हुने भएकाले त्यसको साटो प्राकृतिक गुलियो प्रयोग गर्न सुझाएको छ। जस्तो कि मह, सक्खर मात्रा मिलाएर सेवन गर्न सकिन्छ। शाक्यका अनुसार हामीले खाने प्राकृति खाना पिँडालु, आलु, तरुल, सक्खरखण्ड आदिमा कार्बोहाइड्रेडको मात्रा उच्च हुन्छ।

चामल, मैदालगायतका खानामा पनि कार्बोहाइड्रेडको मात्रा धेरै हुन्छ। फलफूलमा चिनीको मात्रा हुन्छ। कुनै पनि खानामा पाइने गुलियोपन नै एक प्रकारको चिनी हो। चिनीयुक्त पदार्थको मात्रा शरीरमा बढी भयो भने मधुमेह, मोटोपन, उच्च रक्तचाप, मिर्गौला, मुटुसम्बन्धी रोग लाग्छ।

खनिज, प्रोटिन, चिल्लोयुक्त खानामा भने कार्बोहाइडे«डको मात्रा हुँदैन। जस्तो माछा, मासु, अण्डाबाट बनेका परिकार मधुमेहका बिरामीले पनि खान सक्छन्।

तरकारीमा चिनीको मात्रा अत्यन्त कम हुने फाइबर तत्वका कारण पचाउन समय लाग्ने भएकाले शरीरमा चिनी जम्मा हुन पाउँदैन। च्याउ, मुला, काउली, भेडे खुर्सानीमा कार्बोहाइड्रेडको मात्रा अत्यन्त कम हुन्छ। मधुमेह, उच्च रक्तचाप र मुटुरोगीले दैनिक ५ देखि १० मिलिग्राम मात्र चिनीजन्य पदार्थ सेवन गर्न मिल्छ।

शाक्यका अनुसार खानेकुराहरू प्रशोधन नगरी प्राकृतिक रूपमै सन्तुलन मिलाएर खाँदा राम्रो हुन्छ। पछिल्लो समय प्रशोधित र बढी गुलियो या कार्बोेहाइड्रेड भएका खाना खानाले विभिन्न रोगहरू बढ्दै गएका छन्। रोगबाट बच्न फाइबर, कार्बोहाइड्रेड, चिल्लो, खनिज, प्रोटिन र भिटामिनको मात्रा मिलाएर खानुपर्छ।

पोेषण सूत्रअनुसार हरेक दिन विभिन्न रङका परिकार खानुपर्छ। खानामा सबै रङका तरकारी, केही मात्रामा कार्बोहाइड्रेड, खनिज, प्रोटिन, सूक्ष्म पोषण तत्व हुनुपर्छ। जस्तो कि खानामा थरीथरीका मौसमी तरकारी, सागपात, गाजर, ब्रो–काउली, सिमी, भेडे खुर्सानी, गोलभेडा, काँक्रो, सिमी, विटरुट, भात, रोेटी, माछा, मासु, अण्डा, फलफूल समावेश हुनुपर्छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वस्थ रहन ५० देखि ६० प्रतिशत कार्बोहाइड्रेड, १२ देखि १५ प्रतिशत प्रोटिन, २० देखि २५ प्रतिशत चिल्लो, तरकारी ४ सय ग्राम, फलफूल १ सय ग्राम, काजु, बदाम १५ देखि ३० प्रतिशत खानुपर्छ र पानी दैनिक पटक–पटक गरेर ६ देखि ८ गिलास पिउनुपर्छ। मिर्गौला तथा मुटुको रोेगीले भने चिकित्सकको सुझावअनुसार पानी पिउनुपर्छ।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App