२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

नाम मात्रका पानी धारा

बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा खानेपानीको हाहाकार छ। धारामा पानी नआएपछि स्थानीय पानीको जोहो गर्न खोलाखोल्सी धाउँछन्। खडेरीले मूल सुक्नुका साथै वर्षौंदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्।

‘पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौं’, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भने, ‘धारामा पानी आउन छाडेको छ। भएका धारा पनि भत्किन थालेका छन्।’ पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उनले बताए।

सोनमका छिमेकी सोनु नेपालीले पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाए। धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उनको भनाइ छ।

विद्यालयका बालबालिका मात्र होइन, स्थानीय अधिकांशले पानी खेप्न हैरानी भएको गुनासो गरेका छन्। स्थानीय कृष्णमाया थापाले भने, ‘खडेरीले हैरान बनायो। पानीका मुहान सबै सुकेका छन्। धारा भाँचिन थालेका छन्।’ खडेरीसँगै जङ्गलमा लागेको डढेलोले कैयौंँ पानीका मूल सुकेर समस्या आएको स्थानीय बताउँछन्।

काम भ्याएर कार्यालय जानेलाई पनि पानीको सास्ती पिरोलेको छ। ‘धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ’, स्थानीय शिक्षक यमुना शर्माले भनिन्, ‘यो वर्ष त पानीको हाहाकार नै भयो। डढेलोका कारण पनि थप समस्या भएको हुन सक्छ।’

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले उक्त योजना अलपत्र बनेको बागु्लुङ नगरपालिका– ११ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।

पानी अभावमा बारीमा लगाइएका सागपातसमेत ओइलिएका छन्। पानीको समस्याले तरकारी अभाव भएपछि तराईका साथै पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरेका छन्।

‘पहिला स्थानीयस्तरमा उत्पादित तरकारीले पुग्थ्यो, अहिले गाडीमा आउन थालेको छ’, स्थानीय सरिता शर्माले भनिन््, ‘सागपात खाने पनि रहरजस्तो भइसकेको छ।’

विसं २०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरु मूल सुकेर हैरान भएका छन्। यो मूलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन्। पानीको समस्यामा उनीहरुसमेत थपिएका हुन्।

वर्षौंअघि बागु्लुङ नगरपालिका– ११ को रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो। उक्त योजनाअनुसार यहाँ धारा बनेका छन्। पाइपलाइन पनि बिछ्याइएको छ। मुहानमै विवाद भएपछि पानी आउने सम्भावना कम भएको वडाध्यक्ष आचार्यले बताए। ‘हामी योजना कार्यान्वयनका लागि पहल गरिरहेका छौंँ, तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन नदिएपछि अलपत्र बनेको छ’, उनले भने।

रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइप बिछ्याइएकोमा अहिले ३० एमएम मात्रै पानी आएको छ। कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याउने गरेका छन्। उक्त पानी शुद्ध नभएकाले उमालेर मात्रै खान सुझाव दिइएको आचार्यले बताए। ‘मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ’, उनले भने, ‘आसपासका सबै वनमा डढेलो लागेकाले पानीका ससाना स्रोतसमेत सुकेका छन्।’

आयोजनाअन्तर्गत दुई सय ६० घरमा धारा बनाइएको छ। आर्थिक वर्ष २०७१÷७२ देखि निर्माण सुरु भएको उक्त आयोजना अझै पूरा हुन सकेको छैन। कुल १७ करोड ४० लाखको आयोजनामा अहिलेसम्म १३ करोड ७० लाख खर्च भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ।

‘हामीले भौतिक रुपमा ८५ प्रतिशत र वित्तीय रुपमा ८४ प्रतिशत प्रगति गरेका छौँ’, कार्यालय प्रमुख किरण पौडेलले भने, ‘केही समस्याले पानी वितरण गर्न भने सकिरहेका छैनौंँ।’ उनका अनुसार मुहानबाट पाइपलाइन बिछ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि वितरणमा समस्या भएको हो।

योजनाअन्तर्गतको पानी वितरणमा समस्या आएपछि खानेपानी डिभिजन कार्यालयले वैकल्पिक उपायको खोजी गरी दुई स्थानमा लिफ्टमार्फत पानीको परीक्षण गरेको जनाएको छ। –रासस

प्रकाशित: ३० वैशाख २०८१ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App