६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो।

रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरि उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो। अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन। तर उनीसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ। तर कसरी गर्ने होला ? यो कुरा उनको दिमागमा खेलिरहेको थियो।

यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थालिन्। सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उनको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ। अहिले उनी आफ्नो छोटो परिचय नेपाली भाषामै दिन सक्ने भएकी छन्।

स्काउटमार्फत नेपाल आएकी उनले चार महिनामै नेपाली भाषा र संस्कृति सिकेकी छन्। अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिन्छिन्। भेट हुने नेपालीसँग उनी भन्छिन्, ‘नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी।’

क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मीयता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ। यसले छिटै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ। अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उनले नेपाली शब्दकोशसमेत बटुल्न थालेकी छन्।

यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आएका छन्। घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभवसमेत विद्यालयहरुमा पुगेर सुनाउने गरेका छन्।

उनीसँगैकी रेश्मा सलिम मलावीबाट आएकी छन्। अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो ? उनीलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो। उनको नामसँगै पूर्वीय इतिहास जोडिएको छ। हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राखिदिएको उनले सुनाइन्।

रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ। मावली देश भारतकै छेउमा आउँदा नेपालप्रति उनमा आत्मीय भाव छ। ‘म मावली छेउमै छु जस्तो लागेको छ’, उनी थप्छिन्, ‘कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन्।’

मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्र्दयबाट मोहित छिन्। केही सुन्दरता तस्बिरमा कैद गरेकी छन्। घानाबाट आएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे।

स्काउटले किशोरीलाई सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिइन्।

यस  ‘गल्र्स मुभमेन्ट’ (एसस) की नेपालको संयोजकसमेत रहेकी सरुका अनुसार स्काउटमा दुईवटा विश्व संगठन छन्। एउटा वल्र्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट (वजम) र अर्को वल्र्ड एसोसिएसन अफ गर्ल गाइडस् एन्ड गल्र्स स्काउटस (वाग्स)।

यही वाग्सअन्तर्गत विभिन्न इनिसिएटिभ्स छन्, जसमध्ये ‘यस गल्र्स मुभमेन्ट’ पर्छ। यो युथ एक्सचेन्ज साउथ टु साउथ हो। यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ। एउटा ६ महिना र अर्को १० महिनाको हुन्छ, जसमा १३ वटा देश आबद्ध छन्। यसअन्तर्गत नेपाल र बंगलादेश पनि छन्। विभिन्न देशका स्काउट स्वंयसेवकमा आएर एकअर्काको देशमा अनुभव बुटल्ने गर्छन्।

यसैअन्र्तगत यसपटक अफ्रिकाबाट पाँचजना किशोरी स्काउट स्वंयसेविकाका रुपमा नेपाल आएका हुन्। उनीहरुले यहाँ बसुञ्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन्।

नेपालबाट पाँचजना किशोरी पाँचवटा फरक देशमा बसेर काम गरिरहेका छन्। नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो। सुरुमा तीनजना पठाउने गरिन्थ्यो भने अहिले संख्या बढाएर पाँच पु¥याइएको छ। सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो। यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो।

सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवक विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रम सञ्चालन गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामूलक कार्यक्रम पनि गर्छन्।

यसैअन्तर्गत ‘ग्रिन टेक जेनेरेसन’ अभियान छ। यसमा वातावरणसम्बन्धी जानकारीमूलक क्रियाकलाप हुन्छ। अर्को ‘रेड प्राइड’ मा महिनावारीसँग सम्बन्धित शिक्षा दिइन्छ र सिकाइन्छ। यस वर्ष नयाँ कार्यक्रम थपिएको छ, जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ।

तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ। सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो। साथै ‘एस गल्र्स क्यान क्याम्पेन’ अन्तर्गत मूल नारा ‘एस गल्र्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ। पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आएको सरुले बताइन्। –रासस

प्रकाशित: ७ वैशाख २०८१ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App