१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनका भित्री सडकमा दुर्घटना बढी

फाइल तस्बिर

जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन्। गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ।  

भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार विसं २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सेवेदीले जानकारी दिए।

जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन्। ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन्।

पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन्। मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्यांकले देखाएको छ।

भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरबाही र ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ। उनले भने, ‘अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन्। रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ।’

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको उनले बताए। –रासस

प्रकाशित: ६ वैशाख २०८१ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App