१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठ तस्करकाे अनौठो उपाय, साइकलको स्वरुप नै परिवर्तन

काठ तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालयले ठूला सवारी साधनमाथि निगरानी बढाएपछि तस्करहरूले अनौठो उपाय अपनाएका छन्। उनीहरुले साइकलको स्वरुप नै परिवर्तन गरि काठकाे तस्करी गरिरहेको तथ्य फेला परेको हो।

पछिल्लो समय रौतहट र सर्लाहीको विभिन्न जंगलबाट काठ तस्करी भइरहेको गुनासो बढेपछि वन कार्यालयले सो क्षेत्रमा काठ तस्करी हुने माध्यम (ठूला सवारी साधन, गोरुगाडा) मा निगरानी बढाएको थियो।

यस्ता सवारी साधनमाथि निगरानी सुरु भएपछि तस्करहरूले साइकलको मोडेल नै परिवर्तन गरी भारी काठ ओसार्ने मिल्ने गरी साइकलको स्वरूपमा नै परिवर्तन गरेका हुन्।

डिभिजन वन कार्यालय रौतहटले बरामद गरेको साइकललाई नियाल्दा तस्कारहरुले साइकलको ‘फ्रेम’ काटेर विशेष किसिमको फलामको गोलाकार स्वरुप दिएका छन्। रिक्सामा प्रयोग हुने रिम तथा टायर प्रयोग गरी साइकल निर्माण गरिएको छ।

तस्करहरूले साइकलको मोडेल परिवर्तन गरी काठ तस्करी गर्न थालेपछि नियन्त्रणमा पनि केही जटिलता थपिएको वनका कर्मचारी बताउँछन्। 

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत विमल ठाकुर भन्छन् ‘सवारी साधन वा गोरु वा राँगाको प्रयोग गरेर तस्कर हुँदा हामीले आवाजको माध्यमबाट थाहा पाउन सक्थ्यौ, नियन्त्रणमा लिन सजिलो हुन्थ्यो। साइकलको प्रयोगमा कुनै आवाज नआउने हुँदा नियन्त्रणमा जटिलता थपिएको छ।’ उनका अनुसार साँझ पख अँध्यारोमा सितिमिति चाल पाउन मुस्किल हुने गरेको छ।

रौतहटको वृन्दावन क्षेत्रबाट काठ तस्करी फस्टाएको स्थानीयको गुनासो छ। गत वैशाख १ मा नयाँ वर्ष मनाउन गएको समूहले पनि काठको तस्करी गरेका थिए। चन्द्रपुरको जंगलमा पनि दाउरा लिन तथा पिकनिक जाने समूहले ट्र्याकटरमा काठ र दाउरा ल्याउने गरेका छन्।

रौतहटको वनबाट सर्लाहीतिरबाट पनि चोरी तस्करी बढेको स्थानीयकाे गुनासाे छ। सर्लाहीको जंगलमा पनि काठको चोरी तस्करी बढेको देखिन्छ।

डिभिजन वन कार्यालय रौतहटमा प्रमुख शैलेन्द्र कुमार मिश्रले तस्करी नियन्त्रणमा लिन पहिलेको भन्दा गस्ती बढाएको बताए। 

प्रकाशित: ५ वैशाख २०८१ १८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App