१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी

चोरी भएको नेपालगन्ज– ५ बसपार्कस्थित बाइपास चोकमा रहेको जनप्रिय मार्ट। तस्बिर : नागरिक

नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ। एक समुहले आइतबार मध्यरातमा मार्टको सटर फोडेर चोरी गरेको हो।

राती करिब २ः३० बजेतिर पुष्पलाल चोकदेखि बसपार्क लाइनको बीचमा पर्ने बाइपास चोकमा अवस्थित उक्त मार्टमा चोरले ५० हजार, मदिरा, रेडबुल, चुरोटलगायत पसलमा रहेका विभिन्न सामान चोरी गरेको व्यवसायी कृष्णप्रसाद मरासिनीले बताए।

‘चोरले जग र लिभर प्रयोग गरेर सटर नै च्यातेको अवस्था छ’, उनले नागरिकसँग भने। घटनास्थलबाट बसपार्क प्रहरी बिट करिब तीन सय मिटरको दूरीमा रहेको छ।

मार्टमा जडित सिसी क्यामेरामा कैद भएको दृश्यअनुसार राती एक बजेतिर दुईजना युवा पसल बाहिर देखिएका छन्। त्यसपछि ताला फोड्न उनीहरुले करिब डेढ घन्टाजति समय लगाएको देखिन्छ।

सटर फोडेपछि उनीहरु २ः३० बजेतिर पसलभित्र छिरेर नगद र सामान चोरेको दृश्य सिसी क्यामेरामा कैद भएको पीडित व्यवसायी मरासिनीले सुनाए।

चोरी भएको पसलको सटर बिहानसम्म खुला थियो। सोमबार आज बिहान चार बजेतिर मर्निङ वाकमा निस्किएका व्यक्तिले चोरी भएको देखेर खबर गरेपछि मात्र आफूले थाहा पाएको उनले बताए। ‘चोरीमा संलग्न दुईमध्ये एकजनाको अनुहार प्रस्टै देखिन्छ। उसलाई कतै देखियो भने चिन्न सकिन्छ’, मरासिनीले भने।

आफू घटनास्थलमा पुगेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको एक सय नम्बरमा फोन गरेको र त्यसको २० मिनेटपछि प्रहरी आएर अनुसन्धान सुरु गरेको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीले पसलमा चोर्ने समुह लागुऔषध प्रयोगकर्ता हुन सक्ने बताए। ‘सिसी क्यामेरामा पनि उनीहरु कैद भएका छन्। चोरको पहिचान हुन्छ र उनीहरु पक्राउ पर्छन्’, उनले भने। पसलमा धेरै सामान चोरी नभएको डिएसपी डाँगीले बताए।

उक्त क्षेत्रमा पसल चोरी भएको यो नै पहिलो घटना होइन। यसअघि पनि पटकपटक सटर फोडेर चोरीका घटना भएको स्थानीय व्यवसायी बताउँछन्। जनप्रिय मार्टमा करिब तीन महिनाअघि पनि सटरको ताला फोडेर चोरी प्रयास भएको थियो।

‘तीन महिनाअघि पनि चोरले मेरो पसलको सटरको ताला फोडेका थिए, तर सामान चोरी भएको थिएन। यसपटक उनीहरु चोर्न सफल भए’, मरासिनीले भने। सोही ठाउँमै तीन महिनाअघि ‘शाह किराना पसल’ को पनि ताला फोडेर चोरले सामान चोरेको उनले सुनाए।

बसपार्क क्षेत्रमा पटकपटक चोरीका घटना भइरहनुमा प्रहरी र प्रशासनको निष्क्रियता देखिएको व्यवसायीले बताएका छन्। ‘यस्ता चोरीका घटना यो क्षेत्रमा दिनहुँजसो भइरहेका छन्। उद्योग व्यवसाय तथा आम नागरिकको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो’, स्थानीय व्यवसायी शेरबहादुर रेउलेले भने, ‘राज्य यी कुराबाट बेखबर रहन्छ र आम नागरिकले शान्तिसुरक्षाको अनुभूति महसुस गर्न पाउँदैनन् भने आम नागरिक र उद्योगी व्यवसायीको धैर्यको बाँध टुट्न सक्छ।’

बसपार्क क्षेत्रमा चोरीका घटना मात्र नभएर लागुऔषध प्रयोग तथा बिक्री वितरण, यौनजन्य क्रियाकलाप जस्ता बेथिति भएको उनले सुनाए। बाइपास चोक संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रहरीको छुट्टै बिट राखेर शान्तिसुरक्षाको व्यवस्था मिलाउनुपर्ने व्यवसायीले माग गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८१ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App