१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु

तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइँदै छ। साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरू छठघाटमा पुगेका छन्। 

कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।

साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन्।

षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गर्ने परम्परा छ। त्यसको भोलिपल्ट सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याइ सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने परम्परा रहेको छ।

छठका लागि महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका स्थानमा रहेका पोखरी, नदी, तलाउहरूलाई बेहुली झैँ श्रङ्गारिएको छ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि शारदीय छठजति यो पर्व मनाउने भने देखिँदैनन्।

चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन व्रतालुहरूले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्ने गर्छन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ।

तस्बिरहरू : सुरेन्द्र यादव/नागरिक

प्रकाशित: २ वैशाख २०८१ १५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App