२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त

बैजनाथ गाउँपालिका ८ का वडाध्यक्ष भगन थारु मृतक तिलकराम थारुका बुहारीसँग विवरण लिँदै। तस्बिरः नागरिक

गाउँमा नजिकिँदै गरेको नयाँ वर्ष र चैते दसैँको रौनकता बढ्दै थियो। कामका लागि बाहिर गएकाहरु चाडपर्व मनाउन घर फर्किने क्रम सुरु भएको थियो। चाडपर्वको तयारी गरिरहेका बेला बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।

‘सुरुमा त हामीलाई विश्वास नै लागेन, समाचारमा नाम देखेपछि मात्र विश्वास लाग्यो,’ उनले नागरिकसँग भनिन् ‘नजिक आईरहेको नयाँ वर्ष र चैते दसैँ मनाउन ससुरा भारतमा काम गरेर घर फर्किदै हुनुहुन्थ्यो।’ सबिताका अनुसार तिलकराम गाउँका अन्य व्यक्तिसहित कामका लागि गत पुस १७ गते भारत गएका थिए। त्यहाँ उनीहरुले एक परियोजनामार्फत सडक छेउमा पाईप बिछ्याउने काममा खटिएका थिए।

नयाँ वर्ष र चैते दसैँ सँग–सँगै आएकाले उनीहरु चाडपर्व मनाउनका लागि घर फर्किदै थिए। ‘ससुराको निधन भएको खबर थाहा पाएपछि शव कुरेर बसिरहेका छौं, अहिलेसम्म उतै (भारत) अस्पतालमा राखेको छ भन्ने सुनेका छौं,’ उनले भनिन्। मृतक ससुराको शव बुझ्न जेठाजु सन्दिप चौधरी भारत गइसकेको र घरमा परिवारका अन्य सदस्य तथा आफन्तहरु जम्मा भएको सबिताले सुनाइन्।

उक्त दुर्घटनामा बैजनाथ–८ का मात्रै ७ जनाको मृत्यु भएको छ। एकै घरका दम्पत्तीसहित मृतकको संख्या ७ पुगेको छ। बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुका अनुसार दुर्घटनाका घाइतेको मृत्यु भएसँगै संख्या थपिएको हो। मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुर निवासी दम्पत्ती ४६ वर्षिय रामधिराज थारु र ४५ वर्षिया ‘शान्ति’ भनिने लौटी थारु तथा सोही वडाको शान्ति टोली निवासी ५६ वर्षिय उदयराम थारु, ५८ वर्षका बिश्राम थारु रहेका छन्।

यस्तै बैजनाथ–८ कै थपुवा गाउँका ‘आइतराम’ भनिने ४२ वर्षिय अटराम थारु, ४२ वर्षकै बिनोदकुमार थारु र रिहारपुर गाउँका ५१ वर्षिय तिलकराम थारुको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा परेर बैजनाथ–८ थपुवाका ३६ वर्षिय दशरथ थारु घाइते भएका छन्। उनको भारतको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उक्त दुर्घटनामा बैजनाथका बाहेक अन्य ठाउँका पनि नेपालीको मृत्यु भएको बताएका छन्। उनका अनुसार दुर्घटनामा परी बर्दिया, बबई चेपाङका ६० वर्षिय तोकबहादुर र उचाकोट बेतालघाटका ४० वर्षका रमेश चन्दको पनि मृत्यु भएको छ।

बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुले दुर्घटनामा भएको मानविय क्षतिले गाउँहरु पुरै शोकमा डुबेको बताए। ‘गाउँ पुरै शोकमा डुबेको छ, स्थिती एकदमै भयावह छ,’ उनले भने ‘मृतकका परिवारलाई भेटेर सान्त्वना दिने काम भइरहेको छ।’

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले दुर्घटनाबाट गाउँपालिका नै शोकमा डुबेको बताइन्। ‘गाउँपालिका यतिबेला पुरै शोकमा डुबेको छ, एउटै वडाका यति धेरै जनाको मृत्यु हुँदा गाउँपालिकालाई अपुरणीय क्षति पुगेको छ,’ उनले भनिन्। मृतकका परिवारलाई काज किरिया खर्च दिने विषयमा पनि गाउँपालिकाले आवश्यक निर्णय गर्ने उपाध्यक्ष रोकायले बताइन्।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले दुर्घटनामा भएको मानविय क्षतिले आफुहरु स्तब्ध बनेको बताए। मृतकको शवहरु ल्याउन गाउँपालिकाले आवश्यक समन्वय गरिरहेको उनले सुनाए। ‘भारतमा रहेको मृतकको शब कसरी ल्याउन सकिन्छ, गाउँपालिकाले कसरी समन्वय गर्न सक्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ अध्यक्ष शाहीले भने।

प्रकाशित: २८ चैत्र २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App