१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोका कारण रित्तिदै गाउँ

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ। भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन्। चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले जानकारी दिए।

‘विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो।’ वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन्। आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन्। आधाले घर छाडेर बेनी, पोखरा,काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन्। घर भए पनि बसोबास छैन्। बर्खामा गोठमा गएर बस्ने गरेका छन्।  

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए। यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ। गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए।

‘पहिराले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ’, उनले भने, ‘रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो।’ यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ। हाल दलित समुदायको एउटा मात्र घर छ।

भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो। गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ। खेतबारी र जङ्गल चिराचिरा परेको छ। पहिराले उठिबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकको भनाई छ। उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्छ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए। बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन्। पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।-रासस

प्रकाशित: २८ चैत्र २०८० १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App