१) गीत
मन तोड्ने धेरै हुन्छन् जोड्ने यहाँ कोही थ्यो कि?
जीवन झारले घेरिएछ गोड्ने यहाँ कोही थ्यो कि?
जीवन दुख्छ आफैँभित्र हजारौं यी पीडासँगै
सिरानीमा आँसु खस्छ साथी हूँ नि तिम्रो भन्दै
आँसु झार्ने धेरै हुन्छन् पुछ्ने यहाँ कोही थ्यो कि?
कहानी यो भन्ने थिएँ बुझ्ने यहाँ कोही थ्यो कि?
गुनासो त छैन फेरि भत्की हरदिन बाच्नु छ नि
यो मन एक पुरातत्व यसलाई साँची राख्नु छ नि
मन भाँच्ने धेरै हुन्छन् जोड्ने यहाँ कोही थ्यो कि?
जीवन झारले घेरिएछ गोड्ने यहाँ कोही थ्यो कि?
२) गीत
तिम्रो मुटुमा अलिकति ठाउँ पाएँ भने
तिम्रो हर धडकनमा आफूलाई पाएँ भने
खुसीखुसी बाँचिदिन्छु पीडाभरि पनि
तिमीलाई यो चोखो माया दिन पाएँ भने
तिमी पत्थर झै कठोर नबनी दिनु
मलाई फूल चुस्ने भमरा नभनिदिनु
तिम्रो मायाको पराग मनमा घोल्न पाएँ भने
तिम्रो मायाको सुवास जीवन्मा छर्न पाएँ भने
खुसीखुसी बाँची दिन्छु पीडाभरि पनि
तिमीलाई यो चोखो माया दिन पाएँ भने
मलाई एक दिनको घाम नभनी दिनु
मलाई एकमासको याम नभनी दिनु
तिम्रो मुहारमा रङ्गीन इन्द्रेणी छर्न पाएँ भने
तिम्रो मुस्कानमा त्यो सितारा भर्न पाएँ भने
खुसीखुसी बाँची दिन्छु पीडा भरी पनि
तिमीलाई यो चोखो माया दिन पाएँ भने।
३) गीत
अर्को जुनि के हो के हो
यही जुनीमा तिमी चाहिन्छ
तिम्रो जस्तो कन्चन माया
सधैंसधैं कहाँ पाइन्छ
मेरो मुटु भरिभरि तिम्रै धड्कन चलोस्
तिम्रो दुई ओठबिच मेरै मुस्कान फुलोस्
भोलि त के हो के हो
आजै तिम्रो माया चाहिन्छ
यति प्रेमिल मीठो मौसम
फेरिफेरि कहाँ पाइन्छ
तिम्रो लजालु ती आँखाले मेरै सपना देखोस्
मेरो हर कदमहरूले तिमीलाई सधैं भेटोस्
भोलि त के हो के हो
आजै तिम्रो माया चाहिन्छ
तिम्रो मेरो यो मीठो पल
भन फेरि कहाँ पाइन्छ।
४) गीत
गुराँस फुल्छ पहरामा तिमी फुल्छ्यौ मन्मा
माया गर्ने फुल्दा रैछन् पिरतीको बनमा
मेरो मनको बारीभरि तिमी हल्हलाउँछ्यौ
तिम्रो सुन्दर छटाभरि मलाई बहलाउँछ्यौ
बुकी फुल्छ लेकैभरि तिमी फुल्छ्यौ मन्मा
माया गर्ने फुल्दा रैछन् पिरतीको बनमा
अजम्बरी फुल्छ्यौ तिमी सधैं मभित्र
तिम्रो माया मूलको पानी हरदम पवित्र
बेली फुल्छ आँगनमा तिमी फुल्छ्यौ मनमा
माया गर्ने फुल्दा रैछन् पिरतिको बनमा।
५) गीत
यहाँ म हजार बार मरेको छु
चितामा म बारबार जलेको छु
भो आशाको दियो नजलाउ अब
जिन्दगीदेखि आज म गलेको छु
यहाँ मान्छे मारेर पत्थरको पूजा हुन्छ
हरप्रहर मान्छेकै त सपना धुजा हुन्छ
यहाँ म आज प्रहरप्रहरमा मरेको छु
यहाँ म आज रहरै रहरमा गलेको छु
भो मलाई आस्वासनको घाम नदेखाउ
त्यही घाममा म पलपल जलेको छु
यहाँ सुनाखरी भित्र भमरालाई हेर
छटपटाउँदै जीवन सकिन्छ कति खेर
यहाँ म आज फूलकै छलमा परेको छु
यहाँ आफ्नै विवशतासँग लडेको छु
भो अन्जुलिमा नभको जून नसमाउ
त्यही जूनको मातमा सधै म लडेको छु।
(प्रेम राई परीक्षितका गीतसङ्ग्रह 'मेरो गीत मेरो प्रतिविम्ब' मा सङ्गृहीत।)
प्रकाशित: २४ माघ २०८२ १४:४९ शनिबार



-600x400.jpg)

