नाइजेरियाको एनुगु उच्च अदालतले बेलायत सरकारलाई सन् १९४९ मा इभा भ्याली कोइला खानीमा औपनिवेशिक सुरक्षा बलद्वारा मारिएका २१ हडतालरत कामदारका परिवारलाई कुल ४२ करोड पाउण्ड क्षतिपूर्ति तिर्न आदेश दिएको छ। प्रति परिवार दुई करोड पाउण्ड निर्धारण गरिएको छ।
न्यायाधीश एन्थोनी ओनोभोले बिहीबार फैसला सुनाउँदै घटनालाई गैरकानुनी र अतिरिक्त न्यायिक हत्या ठहराउँदै बेलायतले औपचारिक माफी माग्नुपर्ने, क्षतिपूर्ति १० प्रतिशत वार्षिक ब्याजसहित ९० दिनभित्र तिर्नुपर्ने आदेश गरेको छ। साथै, आदेशमा पीडित परिवारसँग माफी माग्न पनि भनिएको छ, जुन राष्ट्रिय तथा बेलायती पत्रिकामा प्रकाशित गर्नुपर्नेछ।
सन् १९४९ नोभेम्बर १८ मा एनुगुको इभा भ्याली कोइला खानीमा कामदारहरूले कठोर कामको अवस्था, कम तलब र अन्य सुविधाको विरोधमा हडताल गरेका थिए। उनीहरू हिंसात्मक नभए पनि औपनिवेशिक प्रहरीले गोली चलाएर २१ जनाको हत्या गरेको थियो भने ५१ जना गम्भीर घाइते भएका थिए।
फैसला सुनाउँदै न्यायाधीशले भने, ‘यी नि:सहाय कोइला खानी कामदारहरूले कामको अवस्था सुधारको लागि अनुरोध गरिरहेका थिए, उनीहरूले अधिकारीहरू विरुद्ध कुनै हिंसात्मक कारबाही गरिरहेका थिएनन्। तर पनि गोली हानी मारिएको थियो।’
यो फैसला दशकौंदेखिको अभियानको परिणाम हो, जसले नाइजेरियाको स्वतन्त्रता आन्दोलनलाई गति दिएको मानिन्छ। नाइजेरिया सन् १९६० मा स्वतन्त्र भएको थियो। मुद्दाका वकिल येमी अकिन्से–जर्जका अनुसार यो फैसलाले औपनिवेशिक युगको उल्लंघनको लागि ऐतिहासिक जवाफदेहिता र न्याय दिएको छ।
बेलायतका तर्फबाट अदालतमा कसैले प्रतिनिधित्व गरेको थिएन। बेलायत सरकारले यसबारे औपचारिक रूपमा टिप्पणी गर्न अस्वीकार गरेको छ। उसले फैसला प्राप्त भएको जानकारी नभएको पनि बताएको छ। यो फैसलाले औपनिवेशिक अपराधहरूमा जवाफदेहिताको नयाँ अध्याय खोलेको जनाइएको छ। एजेन्सी
प्रकाशित: २४ माघ २०८२ १४:४० शनिबार





