२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै आगलागीमा ५ घर र खानेपानीको पाईप नष्ट, लाखौँको क्षति

कटारी-१० सोरुङस्थित थुम्कीमा आगलागीबाट नष्ट भएका मगर परिवारको घरको भग्नावशेष। तस्विरः महेश्वर

उदयपुरमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। पछिल्लो २४ घन्टामा घरगोठ जल्नुका साथै खानेपानीको पाईप समेत जलेर नष्ट भएको छ। कतै एक्कासी आगो उब्जेर र कतै जङ्गलमा लागेको डढेलोबाट सल्केर भएको आगलागीबाट ५ घर, ५  गोठ तथा ६ सय मिटर खानेपानीको पाईप जलेर नष्ट भएको हो।  

सोमवार साँझ कटारी नगरपालिका-१० सोरुङछविसेस्थित थुम्कीमा भएको आगलागीबाट  ३ परिवारको घर गोठ र चौपाया जलेर लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।  

आगोले गुमानसिंह थापा मगर, बेचन थापा  मगर र नारायण थापा मगरको घरगोठसँगै बाख्रा जलाएर क्षति पुगेको इलाका प्रहरी कटारीले जनाएको छ।

इप्रका प्रमुख डिएसपी सुवास राईका अनुसार आगलागीबाट लहरै मगर परिवारका ३ घर र ३ गोठ जल्दा घरभित्रको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र अन्य धनमालसँगै गोठमा रहेका १८ वटा बाख्रा जलेका छन्।

यस्तै आगलागीबाट अन्दाजी ६५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कटारी र प्रहरी चौकी सोरुङछविसेको संयुक्त टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याईसकेको डिएसपी राईले बताए।

त्यसैगरी सोमवारै दिउँसो ३ बजेतिर जिल्लाको रौतामाई गाउँपालिका ४ मालबासेस्थित स्थानीय मालवासे सामुदायिक वन उपभोक्ता समूहमा लागेको डढेलोको लप्काबाट सोही ठाउँका बिन्द्रमान सार्कीको घर गोठ जलेर नष्ट भएको छ।

सार्कीको ढुङ्गा माटोले बनेको फुसको छानोवाला दुईतले घर र फुसकै छानो भएको १ तले गाई गोठ जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आगोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र सुन १ तोला तथा केही नगद पनि जलेर क्षति पुगेको छ। घर गोठ र अन्य चल अचल सम्पत्ति गरी सार्कीको १० लाख बराबरको क्षेति पुगेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए। आगो निभाउन रौता पोखरीस्थित अस्थायी प्रहरी पोष्ट र जिल्ला प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले स्थानीयको सहयोगमा २ घण्टापछि नियन्त्रणमा ल्याएको एसपी थापाले बताए।

त्यसैगरी सोमवारनै कटारी नगरपालिका ११ को थापाबारी र नयाँरोडस्थित जङ्गलमा लागेको डढेलोले स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको पाईप जलेर क्षति पुगेको छ। आईतवार दिउँसैदेखि लागेको डढेलोले पाईप जलेर खानेपानीको समस्या भएको जानकारी सोमबार राति मात्रै प्रहरीले पाएपछि प्रहरी पोष्ट बेतिनीबाट टोली खटेर स्थानीयको सहयोगमा मंगलवार बिहान आगो नियन्त्रणमा लिइएको छ।

घटनास्थलमा खटेका बेतिनी चौकीका प्रहरी हवल्दार अरुणकुमार सिंहका अनुसार डढेलोले ४० एमएमको खानेपानी पाईप ३ सय र ५० एमएमको ३ सय गरी ६ सय मिटर पाईप जलेर ८ लाख ७९ हजार ५ सय बराबरको क्षति पुगेको छ।

प्रकाशित: २७ चैत्र २०८० १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App