२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिवकोटवा गाउँमा हैजाको जोखिम उच्च

फाइल तस्बिर

कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ। एक साताअघि सो गाउँमा झाडापखाला फैलिएको थियो।

त्यसमध्ये दुुईजनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा हैजाको पोजेटिभ केस देखिएको थियो। त्यसको केही दिनपछि सो गाउँको ७४ घर धुरीको एक सय ३३ नलको खानेपानीको नमुना परीक्षण गर्दा २९ नलको खानेपानीमा इकोली भेटिएको नगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश गुप्ताले बताए।

गत असारमा जिल्लाको आठ पालिकाका विभिन्न एक सय ४ स्थानको लिइएको खानेपानी परीक्षणमा १५ वटामा (साढे १४ प्रतिशतमा) इकोली भेटिएको थियो। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ।

शिवकोटवामा जाँच गरिएको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो। साढे दुई वर्षअघि जिल्लाको कृष्णनगर महराजगन्ज, मायादेवीलगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिँदा पाँचजनाको मृत्यु भएको थियो। सिवकोटवामा हेन्डपम्पको पानी कालिका सामाजिक विकास केन्द्रको सहयोमगा परीक्षण गरिएको थियो।  

इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धीकरणसम्बन्धी सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्नुपर्ने स्वास्थयकर्मी बताउँछन्। सिवकोटवामा संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनुपर्ने उनीहरू बताउँछन्।

सिवकोटवामा दुई दर्जन स्वास्थ्यकर्मीको टोली परिचालन गरी जीवनजल साबुन, मास्कसमेत वितरण गरिएको स्वास्थ शाखा प्रमुख उमेश गुप्ताले बताए। एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका एकजनाको अन्तिम परीक्षणमा भने नेगेटिभ देखिएको उनले बताए, तर उनमा डेंगी भने पोजेटिभ देखिएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले पुरानो नगरभित्रकै खानेपानीमा इकोली भेटिनु दुखद् भएको बताए। उनले नगरवासी सचेत हुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने बताए। मेयर सुदीप पौडेलले सिवकोटवासहित नगरभित्र सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिने बताए। उनले नगरवासीसमेत आफंै सचेत हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: २६ चैत्र २०८० ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App