१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो गरिब घरपरिवार गणना

काठमाडौं महानगरपालिकाले गरिब घरपरिवार गणना आजबाट सुरु गरेको छ। गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिकाले पालिका भित्र रहेका गरिब घरपरिवार गणना गर्न लागेको हो।

काठमाडौं महानगरपालिकाका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार महानगरपालिका भित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन्। उनले १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए। उनले सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१÷२१ जना खटाइएको बताए।

यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ। बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको उनले बताए।

प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए।

गरिब तथ्याङ्क सङ्कलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो। हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन।

प्रकाशित: २५ चैत्र २०८० ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App