यस्ता पनि व्यक्ति हुन्छन्, जसले केही सुने वा देखे भने त्यसलाई ठ्याक्कै व्यक्त गर्न सक्दैनन्। यस्तो समस्यालाई ‘एफेन्टेसिया’ भनिन्छ। यस्ता मान्छेको ‘कग्निटिभ’ विश्लेषण क्षमता कम वा हुँदै नहुने हुन्छ।
एफेन्टेसिया भएकाले दिमागमा कुनै पनि किसिमको दृश्य वा छवि कल्पना गर्न सक्तैनन्। जस्तो कि उनीहरूले सुन्तला भन्ने फल चिन्छन्, यसबारे व्याख्या गर्न सक्छन् तर दिमागमा ठ्याक्कै चित्र बनाउन सक्दैनन्। उनीहरू कुनै कुरा देख्छन् तर दिमागले भने अर्कै तरिकाले विश्लेषण गर्छ । जीवनको उत्तराद्र्धसम्म पनि यो थाहा नपाई समय व्यतित गरेका हुन सक्छन्।
एफेन्टेसिया समस्या भएकाहरूमा ‘कमजोर आत्मकथात्मक स्मृति’ हुन्छ। उनीहरूले खास खास पल वा घटनालाई दृश्यात्मक रूपमा मनमा चलचित्र बनाउन सक्तैनन्। केही घटनामा त अनुहार नै चिन्दैनन्। अधिकांश सामान्य व्यक्तिले ज्यादै डरलाग्दो कथा सुने भने उनीहरूको जिउबाट चिटचिट पसिना नै निस्कन्छ।
एफेन्टेसियाको समस्या भएकाहरूले त्यस्तो अनुभव नै गर्दैनन्। उनीहरूको मस्तिष्कले डरलाग्दो तस्बिर नै बनाउन सक्तैन। उनीहरूले पुस्तकमा डरलाग्दो घटना विवरण विस्तारमा लेखिएको भए पनि एफेन्टेसियाहरूले कथाको संसार नै महसुस गर्न सक्तैनन् र उनीहरूले ती दृश्यको मजा लिन सक्तैनन्। उदेकचाहिँ के भने, उनीहरूले सपना देख्दा भने दृश्य नै देख्छन्। सपनामा उनीहरू डराउँछन् तर जब सिनेमा हेर्छन्, त्यो भने विश्लेषण गर्न सक्तैनन्।
सन् २०१५ मा प्रा. एडम जेमनले एफेन्टेसिया शब्द प्रयोग गरेका थिए। यस्तो जटिल प्रभाव भएका व्यक्तिहरूमा कल्पनाशिलताको पूरापूर अभाव हुने उनको भनाइ थियो। उनले यसलाई त एक किसिमको मानसिक विकार नै मानेका थिए। यसको ठीक विपरीत कुनै मानिसमा बढ्तै कल्पनाशिलता पनि हुन्छ। त्यसलाई ‘हाइपरफेन्टेसिया’ भनिन्छ। यस्ता व्यक्तिमा स्पष्ट दृश्य सटीक रूपमा आउने गर्छ।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २५ चैत्र २०८० ०६:०५ आइतबार