२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सार कर्मचारीकै सहयोगमा तस्करी

मुलुकको राजस्व संकलन गर्ने प्रमुख निकाय भन्सार कार्यालयकै कर्मचारीहरू तस्करका सहयोगी हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको एक अनुसन्धानअनुसार कर्मचारीहरूकै सहयोगमा तस्करी हुने गरेको देखिएको छ। राजस्व कम उठेको भन्दै सरकारले गुनासो गरिरहँदा कर्मचारीहरूले नै भन्सार कार्यालयमा दर्ता भएका प्रज्ञापनपत्र नम्बर डिलिट गर्ने, फेरबदल गर्ने गरेको तथ्यहरू फेला परेका हुन्।

सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने आर्थिक वृद्घि र विकास, सामाजिक सुनिश्चितताका लागि विश्वव्यापी आर्थिक कार्यको वातावरण निर्माण गर्ने भन्सार कार्यालयका कर्मचारीहरूले नै फरकफरक प्रज्ञापन नम्बर राखेर सामान पास गराउने, कम मूल्यांकन गर्ने र कम राजस्व तिराउन भूमिका खेलेको खुल्न आएको हो।

भन्सारको सफ्टवेयरमा पहिला नै दर्ता भएको प्रज्ञापनपत्र नम्बर कर्मचारीले नै डिलिट गरी सामान पास गराएको र राखिएका सामानमा पनि कम मूल्यांकन गरेको पाइएको हो। सुरुमा भन्सार कार्यालयमा आएको सामान नै नभएको भन्ने जानकारी गराइएको तर अर्थ मन्त्रालयले छानबिन थालेको सूचना पाएपछि नयाँ नम्बर कायम गरी सिस्टममा राखिएको समेत देखिएको छ। यस्तो कार्य गर्ने विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जना छन्। उनीहरूविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सापकोटासहित तत्कालीन भन्सार अधिकृत नवकुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापनपत्र नंं. एम ४०५७ दर्ता गराई २०७९ माघ ११ मा सुरुमा घोषणा गरेको अमेरिकी डलरमा मूल्य थप गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने राजस्व रकम बढी लिएको र पैठारीकर्ता देव इन्टरनेसनल प्रालिको सामान जाँचपास गराएको देखिएको अख्तियारले जनाएको छ। सोही कारण सापकोटा र शर्मालाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरी कैद र चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुने सजायलाई आधार मानी आधा सजाय मागदाबी गरी विशेषमा मुद्दा दायर गरिएको हो।

अख्तियारले दर्ता गरेको मुद्दामा उल्लेख भएअनुसार २०७९ पुस २० गते दर्ता भएको प्रज्ञापनपत्र नं. ७२६ नम्बरको प्रज्ञापनपत्रमा न्यून बिजकीकरण भएको भनी भन्सार विभागले जानकारी गराएपछि त्यसउपर मिति २०७९ पुस २६ सम्म कुनै कारबाही नगरी राखिएको थियो। त्यसपछि भन्सार विभागबाट नियमित ‘फलोअप’ भएको देखिएको थियो। २०७९ पुस २६ गते भन्सार एजेन्ट ४२३ को प्रतिनिधि सरनकुमार खरेलले देव इन्टरनेसनलको सामान भन्सारमा नआएको भनी पेस गरेको निवेदनमा विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत शर्माले सामान नभएको भन्ने व्यहोराको गलत प्रतिवेदन दिएका थिए।

विराटनगर भन्सार कार्यालयको गोदामको जिम्मा लिएको ट्रान्स नेपाल सर्भिसेज प्रालिले देव इन्टरनेसनल प्रालिका नाममा २०२२ डिसेम्बर २१ मा ४१३ पोका सामान राखेको भन्ने व्यहोरा पत्र, पैठारीकर्ताले ढुवानी गरेको समानको बिल नं. २२१११६९० मा ५९८ पोका समान उल्लेख भएको विवरण हेर्दा भन्सार कार्यालयमा सामान आइसकेको देखिएको थियो।

तर भन्सार अधिकृत नवकुल शर्माले दिएको प्रतिवेदनको सत्यता जाँच नगरी, गोदाम अभिलेख तथा बिल भरपाई नहेरी, बिनाआधार र कारण तथा कानुनविपरीत सो प्रतिवेदनलाई कार्यालय प्रमुख सापकोटाले सदर गरेका थिए। त्यसपछि कार्यालय प्रमुख सापकोटाले बदनियतपूर्वक कानुनविपरीत प्रज्ञापनपत्र नं. एम ७२६ लाई सिस्टमबाटै डिलिट गरिदिएका थिए।

निष्क्रिय प्रज्ञापनपत्र फरफारकसम्बन्धी निर्देशिकाबमोजिम निष्क्रिय प्रज्ञापनपत्र हुन सो प्रज्ञापनपत्र सिस्टममा दर्ता भएको सात दिन पूरा भएको हुनुपर्ने, त्यसपछि कार्यालय प्रमुखले तीन दिनको सूचना दिई निवेदन माग गर्नुपर्ने, सो म्यादभित्र निवेदकबाट निवेदन लिई त्यसको सात दिनभित्र आधार र कारण खुलाई सो प्रज्ञापनपत्र रद्द गर्न सकिनेमा कानुनविपरीत सातौं दिनमा नै बिनाआधार र निर्णयमा कारणसमेत नखुलाई सो प्रज्ञापनपत्र डिलिट गरेको तर त्यसको जानकारी भन्सार विभागमा नगराएको देखिन्छ।

भन्सार विभागबाट प्रज्ञापनपत्र नं. ७२६ डिलिट गरेको सम्बन्धमा २०७९ माघ ५ गते अनुसन्धानका लागि खटाइएको थियो। अनुसन्धानका लागि खटिएका शाखा अधिकृत अनन्तप्रसाद तिम्सिनाले फाराम रद्द गर्ने प्रक्रियाको भन्सार अधिकृत सापकोटाबाट पूर्ण परिपालना नभएको प्रतिवेदन दिएका थिए। उनले प्रज्ञापनपत्र रद्द गर्ने यथेष्ट आधार नदेखिएको, भन्सार यार्ड/गोदाममा मालवस्तु दाखिला भएको अवस्थामा समेत चीनबाट चलान नै नभएको भनी उल्लेख गरेको, पटकपटक जाँचपास गर्ने भन्सार अधिकृत तथा जाँचकीको नाम परिवर्तन गर्ने भन्ने व्यहोराको प्रतिवेदन २०७९ माघ १० गते भन्सार विभागमा पेस गरेका थिए। अख्तियारले उपलब्ध गराएको एक विवरणअनुसार २०७९ माघ १० गते दिउँसो देव इन्टरनेसनलका तर्फबाट भन्सार एजेन्ट ४२३ का प्रतिनिधि सरनकुमार खरेलले नयाँ प्रज्ञापनपत्र नं. ४०५७ दर्ता गराएका थिए। २०७९ माघ ११ गते अर्थ मन्त्रालयबाट प्रज्ञापनपत्र ७२६ डिलिट गरेको सम्बन्धमा छानबिन गर्न सहसचिव सुमन दाहालको नेतृत्वमा तीन छानबिन समिति गठन भएको थियो। सो समितिले छानबिन गर्दा देव इन्टरनेसनलका तर्फबाट भन्सार एजेन्ट ४२३ को प्रतिनिधि सरनकुमार खरेलले दर्ता गराएको नयाँ प्रज्ञापनपत्र नं. ४०५७ को घोषित मूल्यमा ८६ हजार ९०९ अमेरिकी डलर थप गरी १ लाख ६० हजार ३४२ मूल्य बनाई १ करोड ३० लाख ३० हजार ७५२ रूपैयाँ भन्सार रकम महसुल असुल गरिएको देखिएको थियो। एउटै प्रज्ञापनपत्रमा ८६ हजार ९०९ अमेरिकी डलर थप हुनुले बिजकीकरण भएको स्पष्ट देखिएको थियो। अर्थ मन्त्रालयको २०७९ माघ ११ को निर्णयअनुसार प्रमुख भन्सार अधिकृत तारा सापकोटालाई साबिकको जिम्मेवारीबाट हटाई अर्थ मन्त्रालयमा कामकाज गर्ने गरी खटाइएको र भन्सार अधिकृत शर्मालाई समेत जिम्मेवारीबाट हटाइएको थियो।

सहसचिव दाहालको नेतृत्वमा बनेको समितिले भन्सार विभागले प्रत्यक्ष अनुगमन प्रणालीबाट प्रज्ञापनपत्र नं. ७२६ ले २०२३ जनवरी ४ मा घोषणा गरिएको मालवस्तुको घोषित मूल्यमा कैफियत भएको औंल्याई यथार्थ कारोबार कायम गरी जाँचपास गर्न फोनमार्फत निर्देशन दिइए पनि प्रज्ञापनपत्र रद्द गरेको पाइएको उल्लेख थियो। प्रज्ञापनपत्र रद्द गर्दा पर्याप्त आधार र कारण उल्लेख नभएको, प्रज्ञापनपत्र रद्द गर्न कारण भन्सार विभागलाई जानकारी नगराएको, प्रज्ञापनपत्र रद्द गर्दा निष्क्रिय प्रज्ञा फरफारक गर्नेसम्बन्धी निर्देशिका, २०७७ मा भएको व्यवस्थाको पालना नगरेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको थियो।

साथै भन्सार गोदाममा मालवस्तु हुँदाहुँदै नभएको भनी गलत विवरणलाई आधार मानी प्रज्ञापन गरिएको मालवस्तु आंशिक रूपमा आए पनि आंशिक रूपमा जाँचपास गर्न सक्ने व्यवस्था भन्सार ऐन तथा नियमावली रहेकोमा भन्सार यार्डमा आएको मालवस्तुमा नियममा लाग्ने महसुल असुल गरी जाँजपास गर्नुपर्नेमा सो नगरी भन्सार प्रज्ञापनपत्र रद्द गरेको भेटिएको थियो। भन्सार अधिकृत शर्माले निवेदकले भनेबमोजिम यार्डमै मालवस्तु नभएको भनी विषयलाई आधार लिई प्रज्ञापनपत्र रद्द गर्न प्रमुख भन्सार अधिकृतसमक्ष पेस गरिएको थियो। प्रमुख भन्सार अधिकृतले आसिकुँडा प्रणालीको उद्देश्यविपरीत प्रज्ञापनपत्र रद्द गर्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।

भन्सार प्रज्ञापन दर्ता नं. ७२६ को मालवस्तु सो प्रज्ञापनपत्र रद्द गरी पुनः प्रज्ञापनपत्र नम्बरबाट घोषणा गरी जाँचपास गरिएको र यसरी जाँचपास गर्ने क्रममा अमेरिकी डलर ८६ हजार ९०९ बराबरको मूल्य थप गरी पैठारीकर्ताले घोषणा गरेका मालवस्तु ८४ लाख २८ हजार ४० थप महसुल असुली गरेको तथ्यबाट विभागले कैफियत औंल्याई वास्तविक कारोबार मूल्य कायम नगर्ने मनशायले कार्यालयले प्रज्ञापनपत्र दर्ता नं. ७२६ दिएको अवस्था थियो। प्रज्ञापनपत्र नं. ७२६ मा घोषणा भएको मूल्य र प्रज्ञापनपत्र नं. ४०५७ का लागि निर्धारण गरेको मूल्यका आधारमा राजस्वको तुलना गर्दा नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा ८४ लाख ५५ हजार ६०५ रूपैयाँ फरक परेको देखिएको थियो। प्रज्ञापनपत्र नं. ७२६ का आधारमा मालवस्तु जाँचपास भएको भए पैठारीकर्तालाई ८४ लाख ५५ हजार रूपैयाँ गैरकानुनी लाभ हुने देखिएको थियो। त्यसकै आधारमा अख्तियारले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित चार जनाविरुद्ध राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रकाशित: १८ चैत्र २०८० ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App