१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लहलहैमा पुलबाट कर्णालीमा हाम फाल्दा एकजना बेपत्ता

चैत १२ गते सोमबार तराईका जिल्लाका वस्ती होलीमा रंगिरहेका बेला कर्णाली पुल विभिन्न ठाउँबाट घुम्न आउने, स्थानीय र फोटो खिच्नेको चहलपहलले गुलजार बनेको थियो। कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार पनि होलीको माहोलमा झुमेको थियो। साँझ ४ बजेतिर चिसापानी बजारबाट करिब ३० जनाका संख्याको युवाको समूह पुलतर्फ अघि बढ्यो। कमिज फुकालेर अर्धनग्न अवस्थामा रहेका युवाको समूहलाई प्रहरीले पनि रोकेन। कोही पुलमा फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए।  

यही बेला युवाहरूको समूह पुलको बीचभागमा आइपुग्यो। कुनै फिल्मको दृष्य जस्तै एकछिनमै उनीहरूले एकपछि अर्को पालैपालो नदीमा हाम फाले। कसैले लुगा खोलेकै अवस्थामा हाम फाले भने कसैले लुगासँगै हाम फाले। कर्णाली नदीको पुल नदीको धरातल भन्दा धेरै माथि भएकोले हामफाल्नेमध्ये केही युवा नदीसम्म पुग्दा सन्तुलन बिग्रेको देखिन्थ्यो। एकपछि अर्को गर्दै १७ जनाले पुलमाथिबाट नदीमा हाम फालेको दृश्य पुल हेर्न पुगेकामध्ये कतिपयले खिच्न भ्याए। भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि नदीमा हाम फालेका दृष्यले धेरैको मन खाएको छ।  

हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ पुग्न सफल भए। तर १६औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए।वरपरबाट डुबेको देख्नेले कोलाहल मच्चाए पनि समयमा उनको उद्धार हुन सकेन।

नदी किनारमा रहेको डुंगा पनि समयमा पुग्न सकेन। उनीसँगै हाम फालेकाहरूले समेत बचाउने प्रयास गरेनन्। उनीहरू पनि पौडिएर किनार लाग्नेतर्फ नै केन्द्रित भए। ‘बजारबाट होली खेल्दै रमाइलो गर्दै आएर उनीहरूले नदीमा पालैपालो हाम फालेका हुन्,’ स्थानीय प्रत्यक्षदर्शी उमेशबहादुर चलाउनेले भने, ‘अन्तिममा भन्दा पहिले हाम फालेका लोकन्द्र शाहीको एक पटक मात्र टाउको देखियो, अनि डुबिहाले’। उद्धार गर्न डुंगा र अन्य युवाहरू नदीमा गएको भएपनि समयमै नभई ढिलो गएकाले उद्धार गर्न नसकेको उनको भनाइ छ। शाहीको अवस्था मंगलबार साँझ सम्म अज्ञात छ। उनको पुख्र्यौली घर दैलेख जिल्लाको आठबिसकोट नगरपालिका तोलिपाटा हो।  

उनी चिसापानीमा तरकारी पसल सञ्चालन गरेर बस्दै आएका थिए। उनकी श्रीमती, चार वर्षको एक छोरा र डेढ वर्षकी एक छोरी छन्। उनी बेपत्ता भएदेखि उनकी श्रीमती शोकले विक्षिप्त छिन्। उनी परिवारसँगै होली मनाइरहेका थिए। साथीहरूले होली खेल्न बोलाए। उनी घरपरिवारलाई छोडेर साथीहरूको समूहमा मिसिए। तीमध्ये कतिपयले मदिरा सेवन गरेका थिए। शाहीले भने मदिरा सेवन नगरेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार शाही मदिरा सेवन गर्दैन थिए। चिसापानी बजारमा बानियाँ कस्मेटिक पसल अगाडिको डिजेमा यो समूह होलीको रमाइलो गर्न थाल्यो।

सडक अवरुद्ध भयो भनेर प्रहरीले रोक लगाएपछि यो समूह बजार पछाडिको घरमा बजिरहेको डिजेमा रमाइलो गर्न गएको थियो। मदिरा सेवन खाएका युवाहरूको समूहले लुगा फुकालेर पानी फाल्ने, गोबर फाल्ने गरेर बढी होहल्ला गर्न थालेपछि त्याहाँ पनि डिजे बन्द गरिएको स्थानीयले बताए। त्यहाँबाट अधिकांश कमिज फुकालेर अर्धनग्न, कोही लुगा लगाएको करिब २५÷३० जनाको युवाको समूह पुलमा गएर हाम फालेको स्थानीयले बताए।

सुरक्षाकर्मीको ठूलो लापरवाही भएको स्थानियको भनाइ छ। ‘२५, ३० जनाको युवाको समूह कमिज फुकालेर नांगै पुलतर्फ जाँदा पनि प्रहरीले कुनै मतलव गरेन। पुलको बीचमा गएर हाम फाल्दा पनि प्रहरीलाई वास्ता भएन,’ लामिछानेले भने।  

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक हरिराम डाँगीले रमाइलोका लागि लहैलहमा युवाहरूले हाम फालेको बुझिएको बताएका छन। पानीमा भिज्दै, होली खेल्दै बजारमा बाँनिया कस्मेटिक अगाडिमा डिजेमा नाच्न थालेपछि प्रहरीले सडक अवरुद्ध भयो भनेर रोकेको उनले बताए। बजारपछाडि घरमा गएर डिजेमा होली खेलेर पछि फोटो खिच्न पुलमा गएको उनले बताए। ‘२५, ३० जना युवाको समूह सामूहिक फोटो खिच्ने भनेर पुलतिर गएका थिए, ड्युटीमा रहेको प्रहरीले रोक्न खोजेको थियोे, हामी स्थानीय हौं, सामूहिक तस्बिर खिच्न जान्छौं भनेकाले जान दिएको हो,’ उनले भने.।

पहिले कुनै योजना नबनाई तस्बिर खिच्न गएका युवाहरू पुलको बीच भागमा पुगेपछि रमाइलोका लागि लहलहैमा एकपछि अर्कोले हाम फालेको उनले बताए। ‘मादक पदार्थ सेवन गरेर होली खेलेर रमाइलो गरे, हाम फाल्ने कुने प्लान थिएन्, फोटो खिच्न जाँउ भनेर पुलमा गएका हौं, पछि पुलमा गएपछि नदीमा हाम फाल्न थालेपछि रमाइलोका लागि लहलहमै मैले पनि हाम फालेको हुँ,’ नदीमा हाम फालेका श्याम बानियाँलाई उद्धृत गर्दै प्रहरी निरीक्षक डाँगीले बताए। बानियाँले अन्तिममा हाम फालेका थिए। नदीमा हाम फालेका अन्य युवासँग प्रहरीले अझै बयान लिन सकेको छैन। हाम फालेका युवालाई पत्ता लगाएर खोजिरहेको उनले बताए।  

विगतमा पनि हाम फाल्थे युवा, प्रहरी रोक्दैनथ्यो कर्णाली पुलबाट नदीमा १७ युवाले हाम फालेको र एक युवा बेपत्ता भएको घटनाको चर्चा अहिले चुलिएको छ। यसमा कसैले सुरक्षाकर्मीको कमजोरी भनेका छन् भने कसैले सुरक्षाकर्मीको कमजोरी नभएको हाम फाल्ने युवाहरूको सबै दोष भएको बताइरहेका छन्। तर, कर्णाली पुलबाट नदीमा युवाहरूले हाम फालेको यो नयाँ र पहिलो घटना नभएको स्थानीय बताउँछन्। होली, नयाँ वर्ष, दसैं, तिहारलगायतका चाडपर्वमा रमाइलो गर्न स्थानीय युवाहरूले यसअघि पनि हाम फाल्ने गरेको स्थानीय बताउँछन्। यति ठूलो संख्यामा भने युवाले नदीमा हाम फालेको यो पहिलोपटक हो। ‘होली, दसैं, तिहार, चाडपर्वमा पहिले पनि युवाहरूले नदीमा हाम फाल्थे,’ स्थायिन चलाउनेले भने, ‘पहिले पनि ९÷१० जनासम्म पनि सँगै हाम फालेका उदाहरण छन्।’ चाडपर्वमा युवाहरूले नदीमा हाम फाल्ने कुराको जानकारी भएर पनि प्रहरीले रोक्न नखोज्नु कमजोरी भएको स्थानीय बताउँछन्।

यसअघि हाम फालेर मृत्यु भएको भने जानकारीमा नभएको स्थानीय बताउँछन्। पुलबाट स्थानीय युवाले चाडपर्वका बेला नदीमा हाम फाल्ने गरेको जानकारी भएर पनि प्रहरीले नांगै रहेको युवा समूहलाई पुलमा जाँदा पनि चासो नदिएको स्थानीय बताउँछन्।

स्थानीय युवाले बेलाबखतमा पुलबाट हाम फालेर पौडिने गरेको लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका स्थानीय लव शाहीले बताए। उनले कतिपयले आत्महत्या गर्ने उद्देश्यले समेत हाम फाल्ने गरेको बताए। उनका अनुसार अहिलेसम्म चार÷पाँचजनाले पुलबाट हाम फालेर आत्महत्या गरिसकेका छन्। कतिलाई स्थानीयले बचाएका पनि छन। ‘युवाहरू हाम फालेर नुहाउने गर्छन्,’ उनले भने, ‘तर यस्ता कार्य रोकिनुपर्छ।’

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक डाँगीले पनि विगतमा पनि पुलबाट नदीमा हाम फाल्ने गरेको पुष्टि गरेका छन्। ‘हाम्रो रेकर्डमा छैन, तर स्थानीयबाट बुझ्दा होली, नयाँ वर्षलगायतका चाडपर्वमा दुई÷तीनजना युवाले पुलबाट नदीमा हाम फाल्ने गरेको सुनिएको छ,’ उनले भने।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पछिल्लो घटना रमाइलो गर्ने उद्देश्यले गरेको जस्तो देखिएको बताए। ‘तर यस्तो कार्यलाई रमाइलो भन्न त सकिँदैन,’ उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको दृश्य हेर्दा यस्तो भन्न सकिन्छ।’

उनले प्रहरीले रोक्न खोज्दा पनि युवाहरूले नटेरेकाले दुर्घटना भएको बताए। उनका अनुसार युवाहरूको समूह पुलतर्फ जाँदै गर्दा प्रहरीले रोक्न खोजेको थियो। युवाहरू मादक पदार्थ सेवन गरेकाले प्रहरीले रोक्न खोजेको थियो। युवाहरूले पैदल समेत हिड्न नदिने भन्दै प्रहरीसँग विवाद गरेका थिए। ‘उनीहरूले हिड्न समेत नदिने भनेपछि प्रहरीले थप रोक्ने प्रयास गरेनु उनले भने, ‘प्रहरीलाई नटेरेको देखिन्छ।’ यो घटनाले कर्णाली पुलको सुरक्षा व्यवस्था माथि प्रश्न खडा भएको छ।  

नेपालको सबैभन्दा लामो पुल मध्येको एक रहेको कर्णाली पुलले सुदूरपश्चिम प्रदेशलाई देशको अन्य भागसँग जोड्ने गर्दछ। बीस २०५१ सालमा बनेको कर्णाली पुल तार पुल हो। यो पुल एउटै पिल्लरमा उभिएको छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइ छ।

सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दिया जिल्लाको भूभाग जोडेको छ। पुल निकै आकर्षक छ। पुल हेर्नकै लागि थुप्रै मान्छेहरू चिसापानी पुग्ने गर्छन। मान्छेको चहलपहल बढेसँगै चिसापानी पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ।  

यो पुल सडक डिभिजन कार्यालय बाँकेको मातहतमा रहेको छ। उसले नै पुलको रेखदेख र संरक्षण गर्ने गरेको छ। पुल निर्माणको सुरुवाती चरणमा सुरक्षाका लागि १२ जना सुरक्षागार्ड राखिएको थियो। तर अहिले बजेट अभाव भन्दै सुरक्षागार्डको संख्या दुईजनामा सीमित पारिएको छ।  

सडक डिभिजन कार्यालय बाँकेका प्रमुख निरज शाक्यले सुरक्षागार्डका लागि आवश्यक बजेट नै नभएको बताए। उनले बजेट अभावका कारण सुरक्षागार्डको संख्या घटाइएको जानकारी दिए। दुईजना सुरक्षागार्डले पाँच सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरूमध्ये एकजना ड््युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।  

पुलको झन्डै सय मिटर टाढा इलाका प्रहरी कार्यालय छ। प्रहरीले समेत पुलमा हुने गतिविधिको निगरानी गर्न सक्छ। तैपनि पुलबाट हाम फाल्ने कार्य भने बेलाबेलामा भैराख्छ। कसैले आत्महत्या गर्न त कसैले रमाइलोका लागि पुलबाट हाम फाल्ने गरेको पाइन्छ।  

पुलको पश्चिमतर्फ कैलाली र पूर्वतर्फ बर्दिया जिल्लाको भूभाग पर्छ। दुई जिल्लाको भूभागसँग जोडिएकाले पुलको सुरक्षाको कुरा पनि दुवै जिल्लाको मातहतमा रहन्छ। बर्दियातर्फ राष्टिय निकुञ्ज छ। जहाँ मान्छेको चहलपहल हुँदैन। कैलालीतर्फबाटै मान्छेको ओहोरदोहोर बढी हुने गर्छ। जसका कारण पुलको सुरक्षालगायतका विषयमा समेत कैलालीलाई जोड्ने गरिन्छ।  

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले दुवै जिल्लाको संयुक्त बैठक राखेर सुरक्षाका उपायबारे छलफल गरिने बताए। उनले पुलबाट हाम फाल्न नमिल्ने गरी सुरक्षाको प्रबन्ध गरिने जानकारी दिए।  

प्रकाशित: १४ चैत्र २०८० ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App