१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनीबाट समृद्धि र विश्व शान्तिकाे आह्वान

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ। विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्ध शिक्षालाई कूटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिँदै सम्मेलनको समापन गरिएको हो।

परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्प नेपालको संयुक्त आयोजनामा बिहीबार र शुक्रबार भएको  अन्तर्राष्ट्रिय सम्मेलनमा १९ वटा देशका गैरआवासीय राजदूत र वाणिज्य दूतहरू, सरकारी अधिकारीहरूको सहभागिता थियो।

शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा  विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतहरूले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन्।

मायादेवीको मन्दिरपरिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्वहरू देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए।

बुद्वको शिक्षा वैज्ञानिक र व्यावहारिक रहेको भन्दै उनले लुम्बिनी सम्मेलन विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए। बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेसन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने उनले बताए। खुसी, शान्ति र सन्तुष्टिका साथ बाँच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्‍याउने बताए। लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने उनले बताए।

लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतहरूलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए। बुद्धका शिक्षा विश्भर फैलाउन सके शान्ति, करुणा, सद्भाव कायम गर्न सकिने भएकाले यसको प्रचारप्रसार आवश्यक रहेको उनले बताए।

आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णुकुमार अग्रवालले विश्वमा बढ्दो द्वन्द्व र अहिंसा त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान सकिन्छ भन्ने सन्देश बुद्ध जन्मस्थल लुम्बिनीबाट दिन सफल भएको बताए। मायादेवीमा मन्दिरपरिसरमा भएको कार्यक्रममा इन्डोनेसियाका राजदूत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले बोलेका थिए।

सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए।

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक चन्द्र ढकालले बताए। शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासीय राजदूत र वाणिज्य दूतहरूलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो।

प्रकाशित: १० चैत्र २०८० ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App