१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

संकटमा आरन पेसा

दहीखोला सडकछेउमा आरन सञ्चालन गरी हँसिया तयार गर्दै कल र रमित सुनार । तस्बिर : नागरिक ।

पुस्तौं पुस्तादेखि चल्दै आएको सीप र प्रविधिको प्रयोगमा आधारित बालीघरे प्रथा ‘आरन पेसा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ।

दैलेखको आठबिस नगरपालिका– ५ को दही खोलानजिकै बजारछेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ। त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिकजसो भेटिन्छन् २९ वर्षीय कल सुनार। उनी एक हातले घन र अर्को हातले पंखा घुमाइरहन्छन्।

करिब दश वर्षदेखि आरन पेसा अँगाल्दै आएका उनीलाई दिनभर हातमुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ। बाबु–बाजेको पेसा धान्दै आएका कलले आरन पेसा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ।

‘मेरो पेसा संकटमा छ’, कल सुनारले दुखेसो पोख्दै भने‚ ‘आगोमा फलाम पिटेर बालबच्चा र परिवार पाल्न दुःख सहनुपर्ने भयो। फुर्सद पनि नहुने र खान पनि नपुग्ने पेसा अँगालेर बाँच्नै धौ–धौ हुन थालेको उनले बताए। उनले चुलेसी, आसी, कोदाली, कुटो, बेल्चा, घैंटी, दाब, खुडा मर्मत गरेबापत ४ सय ज्याला र नयाँ बनाएर बिक्री गरेबापत ५ सयदेखि एक हजार रुपैयाँसम्ममा बेच्ने गरेका छन्। 

बाउबाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको दश वर्ष भयो। ‘यसै पेसाबाट जसोतसो घर खर्च चल्दै आएको छ’, सुनारले भने। ‘आरन पेसा अपनाउँदै आउँदा विगतमा निकै दुःख खेप्नुपरेको बताए।

केही वर्षअघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकोमा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन्। यही पैसाले उनले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन्। ‘छोराहरू यो पेसा अपनाउन चाहँदैनन्, अब पेसा संकटमा पर्ने चिन्ता छ’, उनी भन्छन्।  आरन व्यवसाय संकटमा परेको छ।

‘बजार अभाव छ, त्यसैले आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ’, उनका भाइ रमित सुनरले बताए। ‘गाउँमै पेसा सुरु गरेका हामी बजार सजिलोको लागि सडक नजिकै आएका छौं। परम्परागत घरेलु हस्तकलाका सामग्री प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ।

आरन व्यवसायी सुनार यही पेसालाई आधुनिक ढंगले व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन्।  ‘अहिलेका युवाको यो पेसाप्रति चासो छैन’, उनले भने।

पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको संख्या उल्लेख्य थियो। भाँडाकुँडा बनाउन कोइला प्रयोग गरिन्छ। अहिले दाउरा अभाव हुन थालेको छ। उनी  भन्छनर, ‘मैले सानै उमेरदेखि बाउबाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैन।  सिकेर खेर जाँदैन। यसबाट पनि पैसो कमाउन सकिन्छ’, रमितले भने।

यस्तै जुम्लाको गुठिचौर गाउँपालिका ४ का माङ्ले कामीको जीविकोपार्जनको बलियो माध्यम थियो आरन पेसा। उनी आरन पेसाबाट सहजै रुपमा घर खर्च चलाउँथे, तर पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिका कारण आरन पेसा संकटमा पर्ने गरेको उनी बताउँछन्।

अहिले आरनमा बनाउनुपर्ने सबै सामग्री बजारमा सस्तो मूल्यमा पाउन थालेको छ, जसले यहाँका आरन व्यवसायीको पेसा संकटमा पर्न थालेको छ। पहिले आरनलाई पुख्र्यौली पेसाका रुपमा अंगीकार गरिन्थ्यो। आरनमा फलामे सामग्री बनाएवापत नगद जिन्सीसमेत दिने चलन थियो। अहिले यो पेसा गुजारा चलाउने मात्र माध्यम बनेको छ।

‘आरन पेसा छाडौं त पुर्खाहरूको चिनो संकटमा पर्ने चिन्ता छ’, माङ्लेले भने, ‘नछोडौं त गुजारा चलाउन कठिन छ। अहिले आरन व्यवसायी धर्म संकटमा छौं।’ बदलिँदो परिस्थितिअनुसार व्यावसायिक बन्नसमेत गाह्रो देखिएको उनीहरू बताउँछन्। जुम्लामा लुहार, विश्वकर्मा, कामी, ओड जातिका मान्छले आरन चलाउँछन्। उनीहरूले पुख्र्यौली पेसाका रुपमा कमैले अहिलेसम्म पेसा ग्रहण गरिरहेका छन्।

घरेलु औजार र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भए पनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरूसँग छ। अहिले आरन व्यवसाय गर्दा कमाइ अपेक्षाकृत हुन सक्दैन। दिनप्रतिदिन यो पेसा छाड्नेको संख्या बढेको छ।

पुरानै शैली र औजार बनाउन प्रयोग हुने गोल र उचित पारिश्रमिक पर्याप्त मात्रामा नहुँदा आरन पेसा लोप हुने अवस्थामा पुगेको हो।  प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेसा संकटमा परेको दैलेख आठबिसका स्थानीय बताउँछन्।

प्रकाशित: ९ चैत्र २०८० १८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App