१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वसन्तसँग सोधपुछ विनोदलाई बोलाइँदै

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उद्योगपति वसन्त चौधरीलाई सोधपुछ गरेर छाडेको छ। चौधरीलाई बुधबार दिउँसो सिआइबीमा बोलाएर सोधपुछपछि कागज गराई छाडिएको हो।  

‘वसन्त चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा के भएको हो भन्ने विषयमा जानकारी लिन बोलाइएको थियो। कागज गराएर छाडिएको छ। प्रहरी हिरासतबाहिर राखेर अनुसन्धान गर्दा पनि फरक नपर्ने भएकाले छाडिएको हो,’ सिआइबी स्रोतले भन्यो।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रूपमा बिक्री गरिएको विषयमा सिआइबीले अनुसन्धान अघि बढाएको छ। हाल च्याम्पियन फुटवेयर बन्द भइसकेको छ। र, त्यसको सम्पत्ति सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

यो प्रकरणमा सिआइबीले अर्बपति व्यवसायी एवं सांसद विनोद चौधरीका कान्छा भाइ अरूण चौधरीलाई गत माघ १८ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। यसै सिलसिलामा सिआइबीले बुधबार विनोदका माइला भाइ वसन्तलाई सोधपुछपछि कागज गराएर छाडेको हो।

स्रोतका अनुसार सम्भवतः सिआइबीले बिहीबार विनोदलाई बोलाउन सक्छ। ‘विनोद चौधरीलाई बोलाउने तयारी छ। उहाँमाथि पनि अनुसन्धान सोझिएको छ,’ सिआइबीका एक उच्च अधिकारीले भने।

सिआइबीले विनोदमाथि अनुसन्धान अघि बढाएको जानकारी सभामुख देवराज घिमिरेलाई पनि गराएको छ। सिआइबीले बुधबार सभामुख घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा सांसद् विनोद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले यस विषयमा पत्र आएको बताए।
‘यस विषयमा सिआइबीले संसद् सचिवालयलाई जानकारी गराएको छ। यसको अर्थ जुनसुकै बेला प्रहरीले सांसद चौधरीलाई पनि अनुसन्धानका लागि बोलाउन सक्छ भन्ने हो,’ सिआइबी प्रमुख एआइजी श्याम ज्ञवालीले भने। यो विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा छ।

प्रकाशित: ८ चैत्र २०८० ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App