१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पेस्तोलसहित दुई भारतीय डाँका पक्राउ

भारतीय अपराधीको नजरमा बैंक तथा वित्तीय संस्था

भारतमा विभिन्न अपराधमा संलग्न रही प्रहरीको ‘मस्ट वान्टेड’ खोजीमा रहेका दुई अपराधीलाई सर्लाही प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ।

भारत सितामढी सैहारा ग्राम पन्चायत का २८ वर्षीय शन्नि कुमार सिंह र मोतिहारी पिपराकोठीका २४ वर्षीय जितेन्द्र कुमार राउतलाई अटोमेटिक इटाली पेस्तोल, मैग्जिन र छ राउन्ड गोलीका साथै एक राउन्ड खोकासहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले टोलीले दुवै जनालाई सोमबार राति पौने ९ बजे विशेष सर्लाहीको बरहथवा नगरपालिका-६ मगरटोलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेपछि दुवै जनालाई सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरियाबाट करिब ७०० मिटर अगाडि मलंगवातर्फको बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजेका थिए।

उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली हानेको थियो। प्रहरीको गोलीबाट भारतीय अपराधी राउतको बायाँ घुँडा र दाहिने तिघ्रामा २ गोली लागेको थियो।

गोली लागेपछि राउतको प्राथमिक उपचार प्रादेशिक अस्पताल मलंगवामा लगी थप उपचारको लागि जनकपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

राउतको अवस्था मध्यम किसिमको रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारतीय अपराधीको नजरमा बैंक तथा वित्तीय संस्था

भारतीय अपराधीको नजरमा सीमावर्ती क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरु पर्दै आएका छन्। उनीहरु दुई पनि बैंक तथा वित्तीय संस्थामा आक्रमण गर्ने योजनासहित नेपाल प्रवेश गरेका थिए।

चार दिन पहिले रौतहटमा वित्तीय कारोबार गर्ने संस्थामाथि आक्रमण गरी भाग्दै गरेको अवस्थामा हतियारसहित तीन जना पक्राउ परेका थिए। हतियारसहित भारतीय अपराधीहरू पक्राउ पर्न थालेपछि तिनीहरूकै बयानमा बैंक तथा वित्तीय संस्था हुने गरेको खुल्न आएको हो।

सर्लाही प्रहरीले गत फागुन १८ गते नेपाल भारत सिम क्षेत्रको ब्रह्मपुरीस्थित इनरवा नाकामा बिआर ३० एक्स ७७१३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, मैग्जिन र पाँच राउन्ड गोली बरामद गरेको थियो। प्रहरीले चेकजाँच गर्न थालेपछि मोटरसाइकलमा सबार रहेकाहरु मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए।

यसै गरी गत फागुन २६ मा मलङगवा १ भेडरहियाका २१ वर्षीय पोशन कुमार राम र बागमती ८ का २४ वर्षीय रन्जित रामलाई चार राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले भारतमा चुनाव नजिकिँदै गरेको कारण भारतीय सुरक्षा निकायले अपराधीमाथि निगरानी बढाएपछि भारतसित सिमाना जोडिएका जिल्लाहरुमा अपराधीहरूले आश्रय स्थल बनाएर नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा लुटपाट गर्ने योजना बनाइरहेको स्रोतबाट थाहा भएको बताएका छन्।

अपराधीहरु नेपाली भूमिमा हतियारसहित रहेको सूचनाको आधारमा नियन्त्रणका लागि छुट्टै टिम नै परिचालन गरिएको एसपी ज्ञवाली बताउँछन्।

रौतहट प्रहरीले पनि अवैध हतियार र भारतीय अपराधीको चहलपहल बढेपछि सीमा क्षेत्रमा निगरानी बढाएको छ। भारतीय अपराधीहरु नेपाल प्रवेश गरी आश्रय लिन सकिने सम्भावित सबै स्थानहरूमा प्रहरीको निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

रौतहट प्रहरीले गत माघ १९ मा चन्द्रपुर ६ बाट १२ बोरको एक नाल बन्दुकसहित स्थानीय प्रेमबहादुर ठोक्कर र विनोद वाइबालाई पक्राउ गरेको थियो। यसै गरी गत मंसिर ८ मा यमुनामाई ४ मल्हनियाबाट एअर गन एक थान, पेस्तोल ३ थानका साथै १३ राउन्ड गोली र पेस्तोलमा लाग्ने ६ थान म्याग्जिन बरामद गरेको थियो।

गत चैत २ मा परोहा ९ मा नितेश साहले संचालन गरेको शिव मनि ट्रान्स्फरलाई लुट्न आएका बिहारको मोतिहारी जिल्लाकामुनिस भन्ने मुनिफ कुमार यादव, चिरैयाका राजकुमार पासवान र चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहलाई कटुवा पेस्तोल एक थान, अर्धस्वचालित पेस्तोल एक थानसहित गोली तथा म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको थियो।

भारतमा लोकसभाको चुनाव नजिकिँदै जाँदा दुवै तर्फका स्थानीय सुरक्षा निकाय निकै संवेदनशील बनेको अवस्थामा भारतीय अपराधीहरु सक्रिय बनेको अनुमान गरिएको छ।

सोमबार मात्र भारतको मेहरगन्जस्थित बजारमा भारतीय सुरक्षा निकाय एसएसबीका डिजि दलजित सिंह चौधरीले सर्लाही र रौतहटका सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला र रौतहटका प्रजिअ हिरालाल रेग्मीको नेतृत्वमा गएका सुरक्षा निकायको टोलीसित भारतमा हुन लागेको चुनाव केन्द्रित बसेको सुरक्षा बैठकमा अवैध हतियार र आपराधिक गतिविधि नियन्त्रणबारे गहन छलफल भएको थियो।

प्रकाशित: ६ चैत्र २०८० १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App