१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्टाफ नर्स हत्या प्रकरण: प्रेमी भनिएका शिवशंकर ३ दिनपछि झुन्डिएको अवस्थामा फेला

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी झुन्डिएको अवस्थामा फेला परेका छन्। उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या उनकै प्रेमीबाट भएको देखाएको छ। बिहीबार (चैत १ गते) ४ बजेतिर हत्या गरिए पनि शुक्रवार दिउँसो मात्रै थाहा घटना बाहिरिएको थियो।

घटना बाहिरिएसँगै मोरङ प्रहरीले हत्यामा संलग्नको खोजी गर्ने क्रममा आइतबार राति पार्ने १० बजेतिर चन्द्रिकाकुमारीका प्रेमी शिवशंकर दास विराटनगर– ४ स्थित नोबल शिक्षण अस्पताल अगाडि रहेको होटेल फाइनको १०२ नम्बर कोठामा झुन्डिएको अवस्था फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

अस्पतालको अर्थो विभागमा कार्यरत चन्द्रिकाको घर सिराहाको फुल्काहकट्टी हो। उनी विराटनगर–४ बुढाथोकी मार्गमा धीरेन्द्र गिरीको घरमा २÷३ महिनादेखि कोठा बहालमा (डेरा) बस्दै आएकी थिइन्। कोठामा उनी एक्लै बस्दै आएकी थिइन्। चन्द्रिकाको हत्यामा संलग्न भनिएका २३ वर्षीय शिवशंकर दासको घर पनि फुल्काहकट्टी रहेको एसपी कार्कीले बताए। यिनै शिवशंकरले उनको हत्या गरेर फरार भएको बताइएको छ।

प्रेमिका चन्द्रिकालाई बिहीबार ४ बजेतिर शिवशंकरले घाँटीमा घरेलु हतियार (सुलेसी) र ह्याक्सो पत्तिको प्रयोग गरी हत्या गरेको बताउँदै, एसपी कार्कीले भने, ‘शुक्रवार कोठाभित्र बाथरुममा चन्द्रिकाको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेर काटेको गहिरो चोट थियो। चन्द्रिकाको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी गर्ने क्रममा आइतबार राति होटेलमा झन्डिएर आत्महत्या गरेको अवस्था फेला परेको हो।’

चन्द्रिकाको हत्या गरेपछि शिवशंकर सीमावर्ती क्षेत्रमा गएको थिए। त्यहाँ पुगेपछि आफ्नो घरपरिवारका सदस्यलाई आफू भारतको दिल्ली गएको र त्यहीँ रहेको खबर गरेका थिए। उनले परिवारसँग ह्व्ट्सअपमा मात्रै कुराकानी गर्ने गरेका थिए।

प्रहरीले उनले प्रयोग गरेको मोबाइल नम्बर (सिम) ट्र्याक गरेर उनी रहेको ठेगाना (लोकेसन) हेर्न थाल्यो। तर, उसले सिमभन्दा पनि वाइफाइ भएको स्थानमा जाने र त्यहीँबाट परिवारका सदस्यसँग संवाद गर्ने गरेका थिए। जस गर्दा प्रहरीलाई उनको लोकेसन यकिन गर्न केही समय लागेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा शिवशंकरको दाइलाई प्रहरीले आफ्नो निगरानीमा राखेर ऊसँगको कुराकानीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई तीव्र बनाएको बताउँदै, एसपी कार्कीले भने, ‘विभिन्न तवरबाट घटनामा संलग्नको खोजी गर्दै जाँदा उसले प्रयोग गरेको सिमलाई प्राविधिक तवरबाट अनुसन्धान गर्दै जाँदा सीमालगायत विभिन्न ठाउँमा उनको लोकेसन देखिएको थियो। यसै क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारी क्षेत्रमा शिवशंकरले प्रयोग गरेको फोनको लोकेसन देखियो। यस क्षेत्रबाट फोन देखिएपछि पक्का यहीँ हुनुपर्छ भन्ने यकिनका साथ व्यापक खोजी गर्दै जाँदा मृत अवस्थामा पुगेको होटेलमा प्रहरी पुगेर सोधखोज गर्दा एउटा कोठाको ढोका खुलेन। कोठाको पछाडितर्फ रहेको झ्यालमा सिँढी लगाएर हेर्दा भित्र मान्छे देखेपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा शव भेटियो।’ 

उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

शव फेला परेपछि शिवशंकरको दाइलाई देखाउँदा आफ्नो भाइ भएको पुष्टि गरे । हत्या गरिएको चन्द्रिकाको डेरादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा मृत अवस्थामा होटेलभित्र प्रेमी शिवशंकर फेला परेका हुन्।

उनले आइतबार बिहान ११ बजेतिर होटेल बुक गरेका थिए। चन्द्रिकाको हत्या शिवशंकरले गरेको खुलेपछि खोजी भइरहेको थियो। उनी फरार थिए। खोजी जारी रहेकै बेला मृत फेला परे शिवशंकर। शिवशंकर र चन्द्रिका ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । प्रेम सम्बन्धमा ‘दरार’ उत्पन्न भएपछि हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।

शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिकाको सिराहाकै अमिन धानुकसँग प्रेम सम्बन्ध बसेका थिए। धानुक सिएमए हुन्। चन्द्रिकाको हत्या धानुकले गरेको प्रहरीले आशङ्का गरेको थियो। अनुसन्धानका क्रममा घटनाले अर्को मोड लिँदै हत्यामा शिवशंकरको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

शिवशंकर फागुन २७ गते मलेसियाबाट नेपाल आएको बताउँदै, एसपी कार्कीले भने, ‘फागुन २९ गते विराटनगर आएर प्रेमिका चन्द्रिकाकै कोठामा बसे। प्रेममा धोका दिने भएकाले चन्द्रिकाको हत्या गरेको हो जस्तो छ। हत्या गरेर फरार भएका शिवशंकरले आइतबार दिउँसो आफ्नी दिदी फोन गरेर म पनि आत्महत्या गर्छु भने भन्ने कुरा छ। हत्या गरेपछि २ दिनसम्म कता गए भन्ने बारेमा खुलेको छैन।’

चन्द्रिकाको हत्या गरेर बाथरुमभित्र शव राखी कोठा बाहिरबाट ताला लगाएर शिवशंकरले अर्को कोठाकोलाई चाबी दिँदै ‘चन्द्रिका किनमेलका लागि जोगबनी गएकी छन्। आएपछि यो चाबी दिनु है। मेरो काम परेर बाहिर जानु प¥यो।’ भनेको प्रहरीले जनाएको छ।

अर्को दिन (शुक्रवार) चन्द्रिकाको साथीको ह्वाट्अपमा चन्द्रिका बाथरुममा लडेर रगताम्य भएको फोटो पठाएका थिए। त्यो साथीले घरवालालाई खबर गरे उन प्रहरीलाई खबर गरेपछि ढोका खोलेर हेर्दा काटिएर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ चैत्र २०८० ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App