७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

अब नरः हुँदै खस्योरः जाने!

प्राचीन वैभव ब्युँताउँदै काठमाडौं महानगरपालिका

अबको केही समयपछि बसका चालक र सहचालकले ‘नरः हुँदै खस्योरः जाने हो भनेर सोधे भने अचम्म नमाने हुन्छ। यसरी सोधियो भने काठमाडौंको हाँडीगाउँ हुँदै बौद्ध जाने हो भन्ने बुझ्नुपर्छ। सामाजिक सञ्जालमा प्रवीण आचार्य लेख्छन्, ‘तपाईंलाई नौलो लागे पनि थाहा पाइराख्नु, हाँडीगाउँको पुरानो नाम नरः हो भने बौद्धको पुरानो नाम खस्योरः हो।’  

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको खबर पढेसँगै आचार्यले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। महानगरले यसका लागि धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम खोज्ने र संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् र इतिहासविद्बाट पुष्टि गराउने चरण पूरा भएको जनाएको छ।  

‘रातामकै मार्ग र रातामकै चोकजस्ता नामहरू हाबी हुँदै गएका छन्,’ काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी भन्छन्, ‘सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका ओजिला नाम कायम राख्न यस्तो कार्यको थालनी गरेका हौं।’

महानगरपालिकाका अनुसार यो कामको सुरुवात वडा नम्बर ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नम्बर ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नम्बर ७ चाबहिल (प्राचीन नाम चाबही), वडा नम्बर १८ नरदेवी (प्राचीन नाम ङतः) वडा नम्बर २४ मखन (प्राचीन नाम मखं) बाट गरिएको छ। यी ठाउँभित्रका विभिन्न ठाउँको प्राचीन नाम खोजी भइसकेको छ। जस अनुसार नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योरः/खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चाबहिल) मा ७१ वटा, ङतः (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ। यी नामहरू अब प्रचलनमा ल्याइने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यमा विभिन्न स्थानहरूको प्राचीन नाम अध्ययन गरेको हो। अध्ययनका क्रममा स्थलगत अवलोकन भ्रमण र अन्तर्वार्ताका क्रममा यही विषयमा अध्ययन गरिरहेका अन्य व्यक्ति र संस्थासँग पनि जानकारी लिइएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले परम्परागत पहिचान मेटिने गरी नयाँ नाम राख्न थालिएपछि पुराना नाम खोजी गर्न थालिएको बताए। ‘सांस्कृतिक सहरका विभिन्न ठाउँको पहिचान मेटिने गरी नयाँ नाम राख्न थालिएपछि हामीले यो अभियान सुरु गरेका हौं,’ उनले भने, ‘यसले काठमाडौंको पहिचान जोगाउने विश्वास लिएका छौं।’

प्रचलनमा ल्याउन लागिएका पुराना नाम र अहिले प्रचलनमा रहेका नामका बीचमा रहेका भिन्नताले केही समस्या हुने भए पनि प्राचीन नामलाई ग्रहण गर्न स्थानीय समुदायसँग उनको अनुरोध छ।

‘यो कुनै जबरजस्ती लाद्न लागेको हैन,’ उनले भने, ‘काठमाडौंको गरिमा थप बढाउन गरिएको सत्प्रयास हो यो।’ सम्पदा तथा पर्यटन विभागकी निमित्त प्रमुख कुमारी राई भन्छिन्, ‘अनुसन्धानबाट प्राप्त सूचना र जानकारीका आधारमा नामहरूको वास्तविकता पहिचान गरिएको छ। यस्ता अमूर्त सम्पदाको पुनुरुत्थानसँगै काठमाडौंको संस्कृति र इतिहास थप जीवन्त हुने अपेक्षा लिएका छौं।’

विगतमा रैथाने बासिन्दाले आफ्नो कला, संस्कृति र इतिहास झल्किने गरी आफू बसेको ठाउँलाई चिनाउने नाम राखे पनि पछिल्लो समयमा यस्ता नाम हराउँदै गएपछि पुराना नामको खोजीमा महानगरपालिकाको ध्यान गएको हो। कतिपय ठाउँका नाम नेपालीकरणसँगै अंग्रेजीकरण भएका छन्। जस्तै छुमांगणेशः– मुसे गणेश, मागः–मालीगाउँ, तिसापुखू–गहना पोखरी आदि। न्हूसतक नयाँसडक हुँदै न्युरोडका नामले चिनिन थाल्यो।

विभिन्न कारणले अर्कै स्वरूपमा पुगेका नामको पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषामा नाम पाटी राखिने महानगरपालिकाले जनाएको छ। ‘नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङको पृष्ठभूमिमा ‘नाम पाटी’ (नेम प्लेट) राखिने छन्।

नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठले भनिन्, ‘ढुंगेधारा, सत्तलको नाममा यही रङ संकेतलाई फरक देखिने बनाउन प्रस्ताव गरिएको छ।’ त्यस्तै नाम पाटीमा क्युआर कोड हुने र त्यसको स्क्यानपछि मूलवासीले प्रयोग गरेको नाम र त्यसको इतिहास बुझ्न सकिने छ।

 संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले आधुनिकीकरणसँगै काठमाडौंलगायत मुलुकका विभिन्न स्थानको पुरानो पहिचान मेटिँदै गएको भन्दै चिन्ता जनाए। ‘आधुनिकीकरणसंगै काठमाडौंको मौलिकता मासिँदै गएको छ,’ उनले भने, ‘यस्तोमा प्राचीन नाम पुनरुत्थान हुनु राम्रो कुरा हो।’

प्रकाशित: ३ चैत्र २०८० ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App