२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जग्गा छनोटमै दबाब, बनेन विद्युत् भवन

जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ। २०७६ मै भवन निर्माणका लागि जग्गा खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भए पनि जग्गा छनोटमा सहमति नहुँदा जग्गा खरिद हुन सकेको छैन।

सार्वजनिक सूचना गरेर जग्गा छनोटका लागि परेका ६ जना जग्गाधनीमध्ये सबैभन्दा उपयुक्त मानिएको खाँडाचक्र ३ ताडी बजारस्थित कुलप्रसाद पाण्डेको जग्गा छनोटका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले प्रतिवेदन दिए पनि जिल्ला समन्वय प्रमुख धनजित शाहीको दबाबले निर्णय हुन सकेको छैन।

उनले तिखेढुंगास्थित आफ्नै दाइ तन्त्रबहादुर शाहीको जग्गा छनोट गर्न दबाब दिएको स्थानीयको आरोप छ। ताडी र मान्मबीचको विवादले जग्गा नै टुंगो लागेको छैन। प्राधिकरणका कालिकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जग्गा छनोट समितिले निर्णय गर्न नसकेकाले काम अघि नबढेको बताए।

उनका अनुसार जग्गा नहुँदा भवन निर्माणका काम पनि सुरु हुन सकेको छैन। विद्युत् कार्यालयको भवन निर्माणका लागि जग्गा छनोट उपसमितिले यसअघि नै स्थलगत अध्ययन गरेर प्रजिअलाई प्रतिवेदन बुझाए पनि समन्वय प्रमुखलगायतले ताडी कुनै हालतमा पनि हुनु हुँदैन भनेर दबाब दिएकाले निर्णय हुन नसकेको स्थानीयको आरोप छ।

जिल्लाबासीको साझा अभिभावक हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख नै पक्षपातमा लागेको भन्दै खाँडाचक्र ३ र ४ ताडीका स्थानीयले जिल्ला प्रशासन र जिल्ला समन्वय समिति घेराउ गर्दै प्रजिअ गणेश नेपाली, समन्वय प्रमुख धनजित शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रकाशित: २ चैत्र २०८० १७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App