२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानसेनापति कसलाई देख्दै छन् पृथक्तावादी ?

राष्ट्रिय सुरक्षा तालिम उद्घाटन मन्तव्य राख्दै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर : रासस

प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्। राष्ट्रिय सुरक्षा परिषद् बैठकमा मुलुकमा पृथक्तावादी समूह रहेको भन्दै आएका प्रधानसेनापति शर्माले बुधबार सार्वजनिक रूपमै पृथक्तावाद नेपालको चुनौती रहेको बताएका हुन्।

उनले आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथक्तावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताए।  

एक वर्षयता उनले यो विषय धेरै पटक राष्ट्रिय सुरक्षा परिषद् बैठकमा उठाएका थिए। ‘पूर्वमा पहिचानको नामबाट र सुदूरपश्चिममा महाकालीपारिका नेपालीभाषीबाट नेपालको राष्ट्रियता खतरामा छ,’ सुरक्षा परिषद् बैठकमा उनलाई उद्धृत गर्दै स्रोतले भन्यो। 

‘प्रधानसेनापतिले राष्ट्रिय सुरक्षाबारे धेरैपटक चासो राख्नुभएको थियो। उहाँले चासो राखेपछि राष्ट्रिय अनुसन्धान विभागले पनि यो विषयमा चासो लिएको थियो,’ एक सुरक्षा अधिकारीले भने। मुलुकमा पृथक्तावादी सक्रिय रहेको सूचनामा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्सले थप अध्ययन गरेर आ–आफ्ना प्रमुखलाई रिपोर्टिङसमेत गरिसकेको अवस्था छ।

प्रधानसेनापतिले सुरक्षा परिषद् बैठकमा पटकपटक मुुलुकमा पृथक्तावादी सक्रिय रहेको कुरा राखेपछि सरकारले तीनैवटा सुरक्षा निकायसँग छलफल पनि गरेको थियो। ‘प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्रीसहितको सुरक्षा परिषद् बैठकमा पृथक्तावादबारे कुरा उठाउनुहुन्छ, प्रधानमन्त्रीज्यू बोल्नुहुन्न,’ स्रोतले भन्यो।

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्  । प्रधानमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक नलिएको ठान्दै आएका प्रधानसेनापति शर्माले बुधबार सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित सिस ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन सत्रमा मुलुकमा पृथक्तावादी शक्ति सक्रिय रहेको बताएका हुन्।

उनको यो भनाइपछि सरकारी तहमै एक प्रकारको तरंग आएको छ। उनले संवेदनशील, भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थलाई राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा हेर्न थालिएको पनि बताए। उनले मुलुकमा सक्रिय पृथक्तावादी शक्ति वा समूह कोको हुन् भनेरचाहिँ खुलाएनन्।

अहिले नेपालमा देखिनेगरी कुनै पनि शक्ति पृथक्तावादको आन्दोलनमा लागेको छैन। विगतमा सिके राउत समूहले पृथक्तावादी आन्दोलन सुरु गरेको भए पनि त्यसलाई केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा वार्ता गरी राजनीतिको मूलधारमा ल्याइएको थियो। यस्तो अवस्थामा प्रधानसेनापति शर्मा र सिंगो नेपाली सेना मुलुकमा पृथक्तावादी शक्ति सक्रिय रहेको भन्दै संशकित देखिएको छ।

सिस ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटनका क्रममा प्रधानसेनापति शर्माले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रहरूबीचको ध्रुवीकरण बढ्दै जानुका साथै नयाँ शीतयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको छ। विश्वका शक्ति राष्ट्रहरूबीचको प्रत्यक्ष र परोक्ष टकराब, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रका रूपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रूपमा साना मुलुकलाई आफ्नो अस्तिŒव अक्षुण्ण राख्न चुनौती थपिएको छ।’

प्रधानसेनापति शर्माले विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपालले पनि राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिलगायत सम्बन्धित योजना तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेकोसमेत बताए। शर्माले श्रम आप्रवासन, युवा विदेश पलायन, विभिन्न युद्धरत देशहरूका सेनामा नेपालको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका मुहान, चुरे विनाशबाट तराईमा परिरहेको असर, त्यसबाट खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्वपूर्ण विषय भएको पनि बताए।

‘सूचना प्रविधि एवं एआईमा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौती थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनः परिभाषित गर्न यस्ता नवीन प्रविधिले ल्याएको समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई सम्बोधन गर्न उत्तिकै जरुरी छ,’ उनले भने।

कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले देशको सुरक्षामा खलल पु¥याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीलाई एकीकृत रूपमा सामना गरिए मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसमेत प्रभावकारी हुने बताए।

‘विशेषतः उच्च पदस्थ अधिकारीलाई राष्ट्रिय सुरक्षासँग सम्बद्ध महत्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामलगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाबारे समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुनेछ,’ उनले भने।

प्रकाशित: १ चैत्र २०८० ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App