१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्र तस्करी गराउने, प्रहरी समात्ने

सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ। सशस्त्र प्रहरीले तस्करी गराउने र नेपाल प्रहरीले तस्करीको सामान समातेर भन्सार तथा अन्य निकायमा बुझाउने जुहारी देखिएको हो।

प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएसँगै सर्लाहीको खुटौना, त्रिभुवननगर, संग्राामपुर, नारायणपुर र पर्सा नाकाका साथै जिल्लाको पूर्वी नाका मधुवनीबाट प्याज तस्करीमा व्यापक वृद्धि भएको छ।

अहिले भारतबाट तस्करीको प्याज सर्लाहीका बरहथवा, बैलवास, गोडैता, हरिवन, लालबन्दी, बागमतीलगायतका बजारसम्म निर्वाध रुपमा पुगिरहेको देखिएको छ। 

 

अहिले भारतबाट तस्करीको प्याज सर्लाहीको बरहथवा, बैलवास, गोडैता, हरिवन, लालबन्दी, बागमती लगायतका बजारहरूसम्म निर्बाध रूपमा पुगिरहेको देखिएको छ । तस्करीको प्याज काठमाडौँसम्म पुग्ने गरेको देखिएको छ ।

गत फागुन २६ मा नेपाल प्रहरीले सर्लाहीको विभिन्न भागबाट काठमाडौँतर्फ जान लागेको अवस्थामा सार्वजनिक सवारी साधनबाट १ लाख ७२ हजार बराबरको प्याज बरामद गरेको छ ।

यसै गरी फागुन २५ मा प्रहरीले कपडा, फूल, गाडीसहित १२ लाख बराबरको तस्करीको सामान बरामद गरी भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपेन्द्र पंजियार थारुले बताएका छन् ।

तस्करीको सामान नेपाल प्रहरीले धमाधम समात्न थालेपछि सशस्त्र प्रहरीको संलग्नतामा तस्करी भइरहेको पुष्टि भएको हो।

सर्लाहीमा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका दुईवटा गुल्म राखिएका छन्। जिल्लाको पूर्वीनाका सम्हाल्न सदरमुकाम मलंगवाको टावरमा र पश्चिमी नाकाबाट हुने तस्करी नियन्त्रणका लागि फेनहारामा गुल्महरु राखिएका छन्। गुल्मको कमान्ड सशस्त्र डिएसपीले गरिरहेका छन्।

टावर गुल्मको कमान्ड डिएसपी लक्ष्मण बरालले गरिरहेका छन् भने फेनहारा गुल्मको कमान्ड डिएसपी प्रमोद रायले सम्हालेका छन्। गुल्महरुकै छेउबाट दिनरात तस्करी भइरहेको देखिन्छ।

बेस र बिओपीका इन्चार्जहरुको पदावधि सकिन लागेका कारण जाने बेलामा बेसपति र बिओपी इन्चार्जहरुले कमाउने साधन बनाएको आरोप रहेको छ। होली पर्वनजिक हुँदै गएका कारण नाकाबाट हुने तस्करी नियन्त्रण बाहिर गएको बुझाइ रहेको छ।

हरेक दिन करोडौँको तस्करी भइरहेको भए पनि सशस्त्र प्रहरी तस्करीको सामान नियन्त्रण गर्न खासै सक्रिय भएको देखिएको छैन।

सर्लाहीबाट हुने तस्करी व्यापक बढेसँगै मलंगवा भन्सार कार्यालयको राजस्व निकै कम भएको छ। सर्लाहीका भन्सार कार्यालयका प्रमुख डम्बरबहादुर बस्नेतले भन्सार राजस्व पचास प्रतिशतले घटेको बताएका छन्।

प्रकाशित: २८ फाल्गुन २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App